इलाम । गत असोजमा आएको बाढीले मेची राजमार्गको राजदुवाली खण्ड चुँडिएपछि इलामले झन्डै दुई महिना सडक सम्पर्कको सङ्कट भोग्यो । साना–ठुला सवारीसाधन मात्र होइन, कतिपय अवस्थामा मानिससमेत पैदल हिँड्न नसक्ने अवस्था आयो । दसैँको मुखमा पूर्वी पहाडको ‘लाइफलाइन’ मानिएको मेची राजमार्ग अवरुद्ध भएपछि इलाम, पाँचथर र ताप्लेजुङका हजारौँ नागरिकले सास्ती खेपे ।
विपद्को एक वर्षपछि बल्ल सुरु भएको विकल्प पनि अन्योलमा,
त्यति बेला राजमार्गको विकल्प खोजियो । आधा दर्जनभन्दा बढी सडक चहारिए । कतिपय ठाउँमा एक्स्काभेटर लगाएर ट्र्याक खोलियो । जसोतसो सवारी गुड्ने बनाइयो । तर, ती सबै सडक कच्ची, साँघुरा र वर्षा याममा भर पर्न नसक्ने थिए । केही सडकमा बिचमै खोला पथ्र्यो, पुल थिएन । राजदुवालीमा दिनरात मर्मत गरेर ट्र्याक खोलियो र राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइयो ।
आकाशको पानी नपर्दा सञ्चालन हुने राजदुवालीमा गत असारमा आएको पानीले ५१ दिन सडक सञ्चालन हुन सकेन । राजमार्ग सञ्चालन नहुँदा जोगमाई खोला र पुवा खोलामा डाइभर्सन बनाएर कच्ची सडक मार्फत सवारी सञ्चालन गरियो । पानी परिसक्दा डाइभर्सन भत्किन्थ्यो । ठुला सवारी साधन इलाम छिर्न सक्दैनन् । गत वर्ष असोज १८ र १९ गतेको बाढीले तहस नहस बनेको इलामलाई तीन महिना सङ्कट ग्रस्त जिल्ला घोषणा गरियो तर सिन्को भाँचिएन ।
मन्त्रीको अनुगमन भयो काम भएन । एक वर्ष हुनै लाग्दा आएको बेलिबृज पनि रसुवा जाने भएपछि अब इलाम टापु बन्ने चिन्ता स्थानीयको छ । पुवाखोलामा बेलिबृज जडान भइसकेपनि सञ्चालन भएको छैन । जोगमाई खोलामा चार गाडी सामान आइसकेको र थप सामान आउन नपाउँदै रसुवा लैजाने भएपछि इलामबासीले विरोध जनाइरहेका छन् ।
राजदुवालीको जमिनमा दर्जनौँ धाँजा छन् । पहिरोले क्षतविक्षत बनेको करिब दुई सय मिटर क्षेत्र हरेक वर्ष दबिँदै जाने गरेको छ । जमिनभित्रबाट पानी बग्ने भएकाले समस्या आएको भौगर्भिक अध्ययनले देखाइसकेको छ । वर्षौँमा करोडौँ रुपैयाँ मर्मतमा खर्चिए पनि समस्या स्थायी रूपमा समाधान भएको छैन ।
यस्तो अवस्थामा मेची राजमार्गको वैकल्पिक मार्गका रूपमा हेरिएको सिमल गोलाई–माइबेनी–तिल्केनी सडकअन्तर्गत जोगमाई खोलामा बेलीबृज राख्ने योजना अघि बढ्यो । बेलीबृज राख्ने ठाउँ तयार गरियो । बेस बनाइयो । भारत सरकारको सहयोगमा निर्माण हुने बेलीबृजका केही सामग्री इलाम आइपुगे ।

सामग्री आउन थालेपछी अब पुल जोडिने र वैकल्पिक मार्ग सञ्चालनमा आउने भयो भन्ने आशा बोकेका इलामबासी निराश बनेका छन । सडक डिभिजन इलामका प्रमुख पवन भट्टराई आधिकारिक रूपमा आफूलाई थाहा नभएको भन्दै आफूले पनि हल्ला चाहिँ सुनेको बताउँछन् ।
रास्वपा इलामका सभापति दिनेश महतका अनुसार बेलीबृज निर्माणका लागि आवश्यकमध्ये करिब २५ प्रतिशत सामग्री इलाम आइपुगेको अवस्थामा जोगमाई खोलामा बेलीबृज निर्माण सम्पन्न नभएसम्म निर्माण सामग्री र लन्चिङ सेट कुनै पनि हालतमा अन्यत्र फिर्ता गर्न नदिने बताएका छन् ।
‘इलामको तिल्केनी–सिमलगोलाईबीचको जोगमाई खोलामा बेलीबृज निर्माण सम्पन्न नभएसम्म सामान र लन्चिङ सेट कुनै पनि हालतमा अन्यत्र फिर्ता गर्न दिँदैनौँ,’ महतले भने, ‘पुल निर्माण सम्पन्न भएपछि मात्र सम्बन्धित निकायलाई फिर्ता गर्ने गरी हाम्रो सञ्जाल सक्रिय भएको छ ।’ जोगमाई खोलाको पुल इलामका लागि अत्यावश्यक भएको भन्दै महतले यस विषयमा सबैले खबरदारी र समन्वय गर्नुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस इलामका सचिव निरोज खड्गीले इलामको सङ्कटलाई राज्यले गम्भीरतापूर्वक नलिएको बताएका छन् । गत वर्ष मेची राजमार्ग झन्डै दुई महिनासम्म अवरुद्ध भएको घटना थाहा हुँदाहुँदै पनि वैकल्पिक मार्गका लागि आएको बेलीबृजको सामग्री अन्यत्र लैजानु गलत भएको उनको भनाइ छ । ‘हिजो–अस्ति मात्रै मेची राजमार्ग झन्डै दुई महिनासम्म अवरुद्ध भएको अवस्था हामीले भोगेका छौँ ।
राजमार्गको जोखिम अहिले पनि उस्तै छ । यस्तो अवस्था थाहा हुँदाहुँदै वैकल्पिक मार्गका लागि आएको बेलीबृजको सामग्री अन्यत्र लैजानु राज्यको गम्भीर कमजोरी हो,’ खड्गीले भने । उनले बर्खा सुरु हुनुअघि नै जोगमाई खोलामा बेलीबृज निर्माण सम्पन्न गर्नुपर्ने बताए । ‘फेरि राजमार्ग बन्द भएपछि मात्रै राज्य जाग्ने हो भने त्यसको सबैभन्दा ठुलो मार इलामवासीले खेप्नुपर्छ,’ उनले भने, ‘इलामको सङ्कटलाई राज्यले गम्भीरतापूर्वक हेर्नुपर्छ ।’
यो विषयमा नेकपा एमाले इलामले विज्ञप्ति नै निकालेको छ । निर्माणका लागि आवश्यक सामग्रीमध्ये ४ ट्रक सामग्री इलाम आइपुगेको अवस्थामा थप सामग्री अन्यत्र लगिएको भन्ने सूचनाले गम्भीर ध्यानाकर्षण भएको एमाले इलामले जनाएको छ ।
एमाले जिल्ला कमिटी इलामका अध्यक्ष गणेशप्रसाद बराल र सचिव रवीन्द्र सुबेदीद्वारा जारी प्रेस विज्ञप्तिमा तिल्केनी–सिमल गोलाई खण्डअन्तर्गत जोगमाई खोलामा बेलीबृज जडानका लागि आवश्यक तयारी पूरा भइसकेको र अब पुल जोड्ने काम मात्र बाँकी रहेको उल्लेख गरिएको छ । ‘पुल राख्ने ठाउँ तयार छ, सामग्रीसमेत आउन थालिसकेको छ । यस्तो अवस्थामा सामग्री नै अन्यत्र लैजानु इलामप्रतिको गम्भीर बेवास्ता हो,’ एमालेको भनाइ छ ।
बेलीबृज निर्माणमा ढिलाइ भए मेची राजमार्ग अवरुद्ध हुँदा इलाम सडक सञ्जालबाटै वञ्चित हुने अवस्था आउन सक्ने स्थानीयको चिन्ता छ । राजदुवाली खण्डको जोखिम कायमै रहेको र बर्खाकै समय भएकोले जोगमाईको बेलीबृजलाई तत्काल सम्पन्न गर्नुपर्ने इलाम बासीको माग छ ।
सम्बन्धित समाचार
सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक
अझै ३–४ दिन कृष्णभीरको बाटो नखुल्ने
पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध
बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा
बाढी अपडेट: सोमबार साँझसम्म ९३९ जनाको शव फेला, तीन हजार ९२५ सम्पर्कविहीन
कृष्णभीरको सडक भासिएपछि उपत्यकामा एलपी ग्यासको थप समस्या, सिलिण्डरमा भरेर काठमाडौं लगिने
प्रतिनिधिसभाको बैठक आह्वान, महाविपद् सम्बन्धमा सभामुखले विशेष प्रस्ताव पेस गर्ने
चीनबाट पाँच जना डीएनए पहिचान विशेषज्ञ काठमाडौं आइपुगे






