धनगढी । कैलालीमा प्रदेश सरकारको मापदण्डअनुसार दर्ता भएका स्तरीय होटलले अब राति १२ बजेसम्म सञ्चालन गर्न पाउने भएका छन् । यसअघि होटल तथा व्यवसाय राति १० बजेभित्र बन्द गर्नुपर्ने व्यवस्था रहेकामा होटल व्यवसायी संघ कैलाली, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबीच भएको छलफलपछि स्तरीय होटलका लागि सञ्चालन समय दुई घण्टा थप गर्ने सहमति भएको हो ।
नयाँ व्यवस्थाअनुसार प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा स्तरीय होटलका रूपमा दर्ता भएका होटलले राति १२ बजेसम्म ग्राहकलाई सेवा दिन पाउनेछन् । होटल व्यवसायी संघ कैलालीका अनुसार जिल्लामा यस्ता होटलको संख्या करिब एक सय छ ।
सम्झौतापत्रमा कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नरेन्द्र चन्द र होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयले हस्ताक्षर गरेका छन् । राति अबेर धनगढी पुग्ने आन्तरिक तथा बाह्य पर्यटक, हवाई यात्रु र लामो दूरीका यात्रुलाई खाना तथा आवासको सुविधा लिन सहज होस् भन्ने उद्देश्यले सञ्चालन समय थप गरिएको व्यवसायीको भनाइ छ ।
होटल व्यवसायी संघ कैलालीका अध्यक्ष पाण्डेयले राति अबेर धनगढी पुग्ने यात्रु तथा पर्यटकलाई होटलमा सेवा लिन सहज हुने बताए । उनका अनुसार यसले धनगढीमा पर्यटकको बसाइ लम्ब्याउन र होटल तथा पर्यटन व्यवसायलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
सुदूरपश्चिम सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
कैलालीमा १५ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा ९३ वर्षीय वृद्ध पक्राउ
बाढी प्रभावित ३ लाखभन्दा बढी ग्राहकले पाए एनसेलको निःशुल्क सेवा
आजको विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ २३ पैसा हुँदा अरु देशको मुद्राको कति ?
सुदूरपश्चिममा धुमधामसँग गौरा पर्व मनाइँदै
सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ग्यास व्यवसायीको मनपरीमा सरकार निरीह
पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी






