खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले खोटाङमा रुद्र गिरीलाई प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको टिकट दिएको छ । नेपाली काँग्रेस खोटाङको महाधिवेशन प्रतिनिधिको पद परित्याग गरेर रास्वपा प्रवेश गरेका गिरीलाई पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फको टिकटका लागि जिल्लाबाट तीन जना नेताको नाम सिफारिस गरिएकामा केन्द्रीय समितिले गिरीलाई टिकट दिएको रास्वपा खोटाङका जिल्ला सभापति मुकुन्दकृष्ण थापाले जानकारी दिए । रास्वपा खोटाङले प्रतिनिधिसभा सदस्यका लागि गिरीसहित जीवन कान्छा किराती र रविन्द्र ओझाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको थियो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० पाथेका निवासी रास्वपाका उम्मेदवार गिरी गत पुस १५ गते पार्टी केन्द्रीय कार्यालय गएर रास्वपा प्रवेश गरेका थिए । आफ्नो पुरानो पार्टी काँग्रेसले देश र जनताको पक्षमा काम गर्न नसक्ने भएकाले आफूसँगै कार्यकर्ता लिएर रास्वपा प्रवेश गरेको गिरीले बताए । उद्योग वाणिज्य संघ खोटाङका पूर्वअध्यक्षसमेत रहनुभएका रास्वपाका उम्मेदवार गिरी केही वर्षअघि एमाले परित्याग गरेर काँग्रेस प्रवेश गरेका थिए ।
विसं २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखका लागि टिकट दाबी गरेका गिरी काँग्रेस पार्टीले टिकट नदिएपछि निष्क्रिय रहदै आएका थिए । पार्टी प्रवेश गरेको १९ दिन नबित्दै रास्वपा केन्द्रीय समितिले गिरीलाई टिकट दिएपछि आलोचना सुरु भएको छ । प्रतिनिधिसभा सदस्यको टिकट लिएका गिरीसँगै सिफारिसमा परेका ओझाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पैसाले जित्यो, योगदानले हार्यो भन्दै टिप्पणी गरेका छन् ।






