काठमाडौं । मेला महोत्सवमा खोजिने चर्चित नाम हो कृष्ण अँखेली । पछिल्लो समय धौलागिरिका प्रायः कार्यक्रममा उनको खोजी हुनेगर्छ । गत कात्तिकदेखि सुरु भएको विभिन्न मेला तथा महोत्सवमा लोकगायक कृष्ण अखेलीलाई भ्याई नभ्याई छ । कुनै महिना त एक दर्जनभन्दा बढी मेला महोत्सवमा उनले स्टेज कार्यक्रम भ्याउनुपरेको छ ।
पछिल्लो समयमा सरस्वती लामिछाने र गायक अँखेलीको आवाजमा बजारमा आएको गीत भिर्नी झोलामा…ले चर्चा पाएपछि अहिले उनीलाई स्टेजमा यही गीतको माग आउने गरेको छ । युट्युबमा ७० लाखपटक दर्शकले हेरिसकेको यो गीत हिट भएपछि कृष्णलाई विदेशबाट पनि स्टेज कार्यक्रमको प्रस्ताव आएको छ ।
पेसाले रेडियोकर्मी कृष्ण अँखेली बिगत १३ वर्षदेखि लोकदोहोरी गायनमा छन् । विद्यालयमा हुने प्रतियोगितादेखि ठूलाठूला मेला र महोत्सवमा आयोजना हुने दोहोरी गीत प्रतियोगितामा सहभागी भएर नेपाली लोकदोहोरी क्षेत्रमा स्थिापित भएका अँखेलीले ‘बत्तीबिना दियो बल्दैन…’ एल्बम बजारमा ल्याएर संगीतको यात्रा तय गरेका थिए । उनले यही गीतबाट पाउन थालेको स्टेज कार्यक्रममा एकपछि अर्का हिट गीतले अझ लोकप्रिय बनाएको हो ।
कलाकारले देखे…, सेते दाइसँग पार्सल पठा छु…, आउने जाने बसैको भाडा तिरौंला…, मोदीको पानी…, माछा पायँले…, आधिखोला… लगायतका चर्चित गीतमा अँखेलीले स्वर शब्द र लय भरेका छन् । छ दर्जन बढी लोकगीतका एल्बममा आवद्धता जनाएका अँखेलीले शब्दभन्दा स्वर र संगीतमा बढी लगाव रहेको बताए । आफ्नो कमाइ’bout उनले भने,
‘हामी लोक कलाकारको कमाइ भनेकै स्टेज कार्यक्रम हो । केही हिट गीतका कारण स्टेजमा राम्रो अवसर पाएको छु ।’ अँखेलीले पर्वतको पहिलो रेडियो सामुदायिक रेडियो पर्वमा पनि दोहोरी गीति कार्यक्रम चलाउँछन् । सो रेडियोको कार्यक्रम संयोजकसमेत रहेको कृष्ण स्टेज कार्यक्रम सञ्चालन गर्ने भएकाले उनले महोत्सवमा अवसर पाउने गरेका हुन् ।