काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह पूर्वी पहाडको यात्रामा छन् । चुनावी दौडधुपको बीचमा बालेन बिहीबार साँझ प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनका लागि ताप्लेजुङ पुगेका हुन्।
साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा चुनौती दिँदै गर्दा उनको यो तीर्थ यात्रा हो वा राजनीतिक हाइकिंग स्पष्ट छैन। बिहीबार दिउँसो सदरमुकाम फुङ्लिङ पुगेका उनी धेरै समय नबिताई पाथीभरातर्फ सोझिएका थिए ।

काफ्ले पाटीमा बास फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेनका अनुसार बालेनसहितको टोली आजको रात पाथीभरा मन्दिरको प्रवेशद्वार मानिने ‘काफ्ले पाटी’ मा बस्ने सम्भावना छ ।
गाडी जाने अन्तिम बिन्दुबाट करिब ४ घण्टाको पैदल यात्रापछि मात्रै मन्दिर पुगिन्छ। ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा पछिल्लो समय युवाहरूमाझ ‘हाइकिङ ट्रेल’ का रूपमा पनि लोकप्रिय छ। सोही रुट हुँदै बालेन पनि ‘हाइकिङ’ गरेर मन्दिर पुग्नेछन् ।
शक्तिपीठमा आशीर्वाद र चुनावी रणनीति साहले शुक्रबार बिहानै पाथीभरा देवीको दर्शन गर्ने र त्यसलगत्तै पुनस् झापाको दमक फर्किने कार्यतालिका छ। पहाडी जिल्लाको छोटो भ्रमण र दर्शन सकेर दमक फर्केलगत्तै बालेनले आफ्नो निर्वाचन क्षेत्रमा ‘आक्रामक’ घरदैलो अभियान सुरु गर्ने तयारी गरेका छन् ।






