काठमाडौं । हास्य अभिनेता सीताराम कट्टेल (धुमुर्स) र कुन्जना घिमिरे (सुन्तली) पछिल्लो केही महिनादेखि चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यस्त छन् । यी दम्पत्तिको नयाँ चलचित्र ‘सेन्टी भाइरस’ यही ९ फागुनबाट सिनेमा हलमा रिलिज हुँदै छ । फिल्म रिलिजको अवस्थामा आफूहरूले रंगशाला निर्माण कार्य छाड्न नमिल्ने भएपछि सीताराम र कुन्जनाले चलचित्र सेन्टी भाइरसको एउटा गीतको छायांकन रंगशालामै गरेका छन् ।
‘यो हाम्रो चलचित्रको प्रोमोस्नल गीत हो । अहिले रंगशालाको निर्माण छाडेर बाहिर जान नमिल्ने भएपछि हामीले एउटा गीतको छायांकन नै रंगशाला क्षेत्रमा गरेका हौं ।’ यो चलचित्रका निर्मातासमेत रहेका अभिनेता सीतारामले भने ।
पार्टीलाई जिताई लदे…बोलको यो गीतमा सीताराम, कुन्जनासँगै सन्दीप क्षत्री, विल्सन बिक्रम राईलगायतले अभिनय गरेका छन् । दुईवटा पार्टीका नेता बीचको चुनावी प्रतिस्पर्धालाई यो गीतमार्फत देखाइने पनि अभिनेता सीतारामले जानकारी गराएका छन् । यो चलचित्रका लेखक दीपक आचार्यले यस गीतको भिडियो निर्देशन गरेका हुन् ।
यो चलचित्रमा रामबाबु गुरुङको निर्देशन, कालिप्रसाद बासकोटा, राजनराज सिवाकोटी, शंकर थापा स्माइलको संगीत, दीपक आचार्य र कुमार कट्टेलको लेखन रहेको छ । २ करोडको लागतमा बनेको भनिएको यो चलचित्रलाई सुबिहानी फिल्मस्, डिन्डु लामा ह्योल्मोले निर्माण, पूर्वा लामाले सहनिर्माण गरेका हुन् । यो चलचित्रको आम्दानीको ५० प्रतिशत गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खर्च गरिनेछ ।