पोखरा । छैटौं टाइगर कप भलिबल प्रतियोगितामा पर्वत जिल्ला भलिबल संघले दोस्रो जित दर्ता गरेको छ । पुरुषतर्फ २ खेल दर्ता गरी सक्नेमा पर्वत पहिलो टिम हो ।
विभागीय आर्मी, एपिएफ, पुलिस तथा गण्डकी प्रदेश भलिबल संघले एकएक जित हात पारेका छन् । पाहुना टोली माल्दिभ्स भलिबल एसोसिएन अंकविहीन छ । ३ दिनदेखि पोखरा रंगशालामा जारी प्रतियोगितामा पुरुषतर्फ ६ टिमले भाग लिएका हुन् ।
आइतबार पुरुषतर्फ दोस्रो खेलमा नेपाल पुलिस क्लबले आर्मी क्लबलाई पराजित गर्दै पहिलो जित निकालेको हो । यसअघि, दोस्रो दिन पर्वत जिल्ला भलिबल संघसँग २–३ सेटले पराजित भएको थियो ।
पुलिसले आर्मीलाई ३–१ सेटमा जित दर्ता गर्न सफल भयो । पहिलो सेट २२–२५ र दोस्रो सेट १६–२५ ले गुमाएको आर्मीेले तेस्रो सेटमा २५–२१ ले जित निकाल्दै खेलमा फर्किने कोसिस गरे पनि सफल हुन सकेन । चौथो सेटमा पुलिसले २५–१५ ले पराजित ग¥यो ।
आइतबार नै पर्वतले विभागीय एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको छ । उसले २५–१८, २१–२५, २५–१९ र २५–१५ सेटमा जित्न सफल भएको हो । सोमबार पुरुषतर्फ एपीएफ र माल्दिभ्स तथा गण्डकी प्रदेश र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी, ५ टिमले भाग लिएको महिलातर्फ आइतबार न्यू डायमण्ड स्पोट्र्स क्लब र थाइल्याण्ड क्विन्स विजयी भए । डायमण्डले एपिएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । डायमण्डको यो दोस्रो जित हो । उद्घाटनमा आर्मीलाई सोझो सेटमै हराएको थियो । हालसम्म डायमण्ड २ जितसहित शीर्षमा रहँदा पुलिस, एपिएफ र थाइल्याण्डको समान एक जित छ ।
आइतबार महिलातर्फ थाइल्याण्ड क्विन्सले पुनरागमन जित निकालेको छ । पुलिससँगको प्रतिस्पर्धामा पहिलो २ सेट गुमाएको थाइल्याण्डले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरागमन गर्दै पहिलो जित दर्ता गर्न सफल भयो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२० ले जित निकालेको थियो । थाइल्याण्डले तेस्रो सेट २५–२३, चौथो सेट २५–१४ र पाँचौं सेट १६–१४ ले जित निकालेको हो । यसअघि, एपीएफसँग पाँचौं सेटमा थाइल्याण्ड पराजित भएको थियो । पुलिसले पहिलो खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गरेको थियो । सोमबार महिलातर्फ एकमात्र खेल एपीएफ र आर्मीबीच हुनेछ ।
सिंगल राउण्ड रोविन आधारमा भएको प्रतियोगितामा शीर्ष टिम फाइनल प्रवेश गर्नेछन् । फाइनल १७ माघमा हुनेछ ।






