काठमाडौं । ‘सातौँ नेपाल कल्चरल इन्टरनेशनल चलचित्र महोत्सव (एनसिफ)–२०२६’ काठमाडौँमा विभिन्न ३० विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ । १६ माघदेखि आइतबारसम्म तीन दिन सञ्चालन भएको महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन गरिएको थियो । जसबाट उत्कृष्टलाई पुरस्कृत गरिएको हो । महोत्सवलाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र नेपाल पुलिर क्वलमा आयोजना गरिएको थियो ।
यस्तै नेपाल पुलिस क्लबमा तामझामका साथ आइतबार बेलुका आयोजित अवार्ड समारोहमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै विधामा अवार्ड प्रदान गरियो । अन्तर्राष्ट्रिय चलचित्रतर्फ भारतका निर्देशक जयन चेरियन को ‘रिदम अफ दमाम’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्रको अवार्ड प्राप्त गरेको थियो । सोही चलचित्रबाट चिनमाया सिद्धीले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेताको अवार्ड जिते भने अस्ट्रेलियाली निर्देशक मौलिनाथ गंगुलीको ‘कुप्पा’ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छोटो चलचित्र तथा लिथुआनियाकी निर्देशक गिएड्रे जेनेभिसियुटेको ‘द हेड’ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर वृत्तचित्रको अवार्ड प्राप्त ग¥यो ।
यस्तै इजरायली निर्देशक हावर्ड रिप को ‘गिम्पेलः द फूल रिटन्र्स टु पोल्याण्ड’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छोटो वृत्तचित्रको अवार्ड प्राप्त गरेको सो समारोहमा बेलायतकी निर्देशक स्वीकृति राईले ‘द पिपल क्लोजेस्ट टु हेभन’बाट सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय महिला चलचित्रको अवार्ड हासिल गरिन् ।
समारोहमा, काजाकस्तानको ‘स्पार्क’ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय बाल चलचित्र, क्यानडाकी निर्देशक फरीबा फरजामको ‘रिड्याक्टेड ड्रिम्स’ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्रको अवार्ड जित्यो । थाइल्यान्डको ‘रे द रग’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय एनिमेसन चलचित्र तथा बंगलादेशको ‘द टेस्ट अफ हनी’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वातावरणीय चलचित्रको अवार्ड प्राप्त ग¥यो ।

समारोहमा भारतको चलचित्र ‘सी इट!’ का लागि शान्ति मोहन र मुकुन्द मूर्तिलाई सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय निर्देशक अवार्ड प्रदान गरियो । यस्तै जर्मनीका ओली ड्युर ले ‘जेपेलिन राइट अबभ’ बाट सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लेखक अवार्ड प्राप्त गरे भने ब्राजिलकी क्यारोलिन रोहरिगले ‘ट्राइ योर लक’ बाट सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेत्रीको अवार्ड थापिन् । यस्तै भारतका बेनिश मुजसाबाले ‘नेचर्स ब्यान्डेज’बाट सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छायांकन अवार्ड प्राप्त गरे भने बंगलादेशी निर्देशक जमिल्लाह भान डर हल्स्टले ‘ह्वेयर द किड्स ह्याभ नो नेम’बाट अन्तर्राष्ट्रिय जुरी अवार्ड पाए ।
यस्तै स्पेसल मेन सन अवार्डबाट हङकङका निर्देशक क्रिस्टिन युङ को ‘महाकुम्भः एन ओसन अफ डिभोशन’, चीनका निर्देशक बिङ लुओ को ‘न्यु डन’ तथा फ्रान्सकी निर्देशक पाउलिन बर्नार्ड–भर्नायको ‘कासा सुसाना’ सम्मानित गरियो । अन्तर्राष्ट्रिय श्रेणीमा बेलायतकी एड्रिना कुलिग, अर्जेन्टिनाका डा. जर्ज जोर्गे क्यारोभोत्ता, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सूर्य थपलिया तथा डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङ निर्णायक थिए ।
सो समारोहमा राष्ट्रिय फिचर चलचित्रतर्फ सुवर्ण थापाको निर्देशनमा बनेको चलचित्र ‘द सेक्रेट अफ राधा’ले सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रको अवार्ड प्राप्त गरेको थियो । राष्ट्रिय चलचित्र अभिनयतर्फ चलचित्र ‘ज्वाइँ साब’ बाट जितु नेपालले सर्वोत्कृष्ट राष्ट्रिय अभिनेता तथा चलचित्र ‘कोसेढुंगा’ बाट सुरक्षा पन्तले सर्वोत्कृष्ट राष्ट्रिय अभिनेत्रीको अवार्ड प्राप्त गरे । चलचित्र ‘कोसेढुंगा’ का निर्देशक सरोज पौडेल सर्वोत्कृष्ट राष्ट्रिय निर्देशकको अवार्ड प्राप्त गर्दा ‘द सेक्रेट अफ राधा’ का लागि नरेन्द्र मैनालीले सर्वोत्कृष्ट राष्ट्रिय छायांकनको अवार्ड हासिल गरे ।
यस्तै ‘इन्टु द मिस्ट’बाट सचिन घिमिरेले सर्वोत्कृष्ट राष्ट्रिय लेखक अवार्ड प्राप्त गरेको समापन समारोहमा निर्देशक पत्रिका घिमिरेको लघु ‘ह्वाट ग्रोज इन थारी मैलाको भेगिटेबल गार्डेन ?’लाई जुरी अवार्ड दिइयो । यस्तै निर्देशक डब्बु क्षेत्रीको ‘द चेन्ज’ लाई स्पेसल मेनसन अवार्ड प्रदान गरियो ।
अन्य राष्ट्रिय विधातर्फ निर्देशक ड्यानियल गदालको ‘इनार’ सर्वोत्कृष्ट राष्ट्रिय लघु चलचित्र, निर्देशक लावा प्याकुरेलको वृत्तचित्र ‘गल्र्स रिराइटिङ डेस्टिनी’ सर्वोत्कृष्ट राष्ट्रिय वृत्तचित्र, निर्देशक गोविन्द प्रसाद ढकालको ‘साइलेन्ट स्कार्स’ले सर्वोत्कृष्ट राष्ट्रिय बाल चलचित्र अवार्ड प्राप्त ग¥यो ।
यसै गरी निर्देशक आस्था श्रेष्ठ को ‘रङ सबै गुलाबी’ले सर्वोत्कृष्ट राष्ट्रिय महिला चलचित्र, निर्देशक सुनिल बाबु पन्त को ‘अजिमा एन्ड सिक्स जेन्डर्स’ ले सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक चलचित्रको अवार्ड प्राप्त गरेको थियो । राष्ट्रिय विधाको अवार्ड निर्णायकमा चलचित्र निर्देशक रमेश बुढाथोकी, अभिनेत्री दिपाश्री निरौला, अभिनेताहरू आर्यन सिग्देल, धिरेन शाक्य र छायांकार रविन आचार्य थिए ।






