काठमाडौं । आगामी ८ फेबु्रअरीमा भारत मुम्बईको वानखेडे स्टेडियममा ‘टी–२० विश्वकप’अन्तर्गत नेपालको पहिलो खेलअनुरुप इंग्ल्यान्डविरुद्ध भिड्दै छ । नेपाल समयअनुसार आइतबार दिउँसो ३ः३० बजे हुने खेलको प्रतीक्षामा नेपाली समर्थक उत्सुक छन् ।
भारत र श्रीलंकाको संयुक्त आयोजनामा आगामी ६ फेब्रुअरीदेखि सुरु हुने ‘टी–२० विश्वकप’ नेपाली क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्यालेन्डरको अर्को प्रतियोगितामात्रै होइन, नेपालले आफूलाई विश्व क्रिकेटको ‘कुन तहमा राख्न चाहन्छ ?’ भन्ने उत्तर खोज्ने मञ्च हो । जितहारको अंकगणितभन्दा पनि तयारी, मानसिकता र दृष्टिकोणको परीक्षा यही विश्वकपले लिने देखिन्छ ।
पछिल्ला वर्ष उल्लेखनीय उचाइ लिइरहेको अवस्थामा अन्तर्राष्ट्रिय मञ्चमा नेपाल अब पूर्ण रूपमा अपरिचित टोली भने रहेन । अब यो पहिचान ‘सम्मानमा बदल्न सक्ने कि सक्दैन ?’ भन्ने निर्णायक मोडमा नेपाल पुगेको छ । विश्वकपजस्तो प्रतिस्पर्धामा सहभागिता आफैंमा गौरव हो । अब मानसिकता रूपमा पनि नेपाली क्रिकेटलाई अगाडि बढाउन जरुरी छ ।
त्यसो त, इंग्ल्यान्डको दा“जोमा नेपाल कमजोर टोली हो । अनुभव, घरेलु लिगस्तर, खेलाडीको व्यावसायिकता र पूर्वाधारमा भारत, श्रीलंका, अस्ट्रेलिया वा इंग्ल्यान्डसँग नेपालको तुलना गर्न मिल्दैन । यही यथार्थ स्वीकार नगरी आशावादी राजनीतिका कारण नेपाली क्रिकेटले बारम्बार निराशा झेल्दै आएको इतिहास छ ।
यद्यपि, ‘टी–२० फम्र्याट’ अनिश्चितताले भरिएको खेल हो । यही अनिश्चितताले कमजोर भनिएका टोलीलाई पनि अवसर दिन्छ । यही अवसर उपयोग गर्नसक्ने मानसिकता, अनुशासन र रणनीति आवश्यक हुन्छ । अब ‘टी–२० मा जे पनि हुन सक्छ’ भन्ने नेपालका लागि पर्याप्त हुँदैन ।
नेपालको पहिलो प्रतिस्पर्धा एउटा खेलमात्र नभएर टोलीको मानसिक अवस्था मापन गर्ने पहिलो सूचक हुनेछ । यदि पहिलो खेलमै नेपाल डर, दबाब र नामको भारीले दबियो भने त्यसको असर बाँकी प्रतियोगिताभर देखिने निश्चित छ । यद्यपि, परिणाम जे आए पनि आत्मविश्वासपूर्ण क्रिकेट खेल्न सक्यो भने त्यो नै ठूलो जित हुनेछ । अर्को कुरा विश्वकपमा नेपालले अब ‘सम्मानजनक हार’ भन्ने शब्दावली त्याग्नुपर्छ । प्रतिस्पर्धात्मक क्रिकेट खेल्नु, विपक्षीलाई दबाबमा राख्नु र खेल अन्तिम ओभरसम्म लैजान सक्नु नै अनिवार्य मापदण्ड बनाइनुपर्छ ।
नेपाली टोलीको कमजोर कडी अझै ब्याटिङ नै हो । सुरुवाती ओभरमा विकेट गुमाउने, ‘मिडल अर्डर’मा जिम्मेवारी नलिने र ‘डेथ ओभर’मा ‘स्ट्राइक रोटेसन’ गर्न नसक्ने वर्षौंदेखि दोहोरिँदै आएको समस्या हुन् । विश्वकपअघि पनि यी कमजोरी पूर्णरूपमा सुधारिएको संकेत देखिँदैन । यदि नेपाली ब्याटरले बलिया बलरको नाम सुन्नासाथ रक्षात्मक मानसिकता अपनाए भने नेपाल प्रतिस्पर्धामै आउन सक्दैन । ‘टी–२० क्रिकेट’मा गल्ती भए पनि आक्रामक सोच आवश्यक पर्छ । सुरक्षित खेल्ने प्रयास नै नेपालका लागि सबैभन्दा जोखिमपूर्ण रणनीति बन्न सक्छ ।
यदि नेपालले यो विश्वकपमा केही सकारात्मक परिणाम निकाल्न सक्छ भने त्यसको मुख्य आधार बलिङ हुनेछ । ‘स्पिन’ र अनुशासित ‘मिडियम पेस’ नेपालको शक्ति हो । राम्रो बलिङ मात्रै पनि पर्याप्त हुँदैन । बलिङलाई सहयोग पुग्ने फिल्डिङ र रणनीति अनिवार्य हुन्छ । ‘पावरप्ले’मा विकेट निकाल्नसके नेपाल खेलमा टिकिरहन सक्छ । तर, यदि विपक्षीले सुरुवातमै रनको पहाड खडा गरिदियो भने नेपालको सीमित ब्याटिङ ‘लाइनअप’ दबाबमा पर्न सक्छ ।
नेपाली क्रिकेटले अब एउटा कुरा स्पष्ट बुझ्नुपर्छ, ‘विश्वकप जित्ने सपना अहिले नै यथार्थ होइन । तर, विश्वकपबाट सिक्ने, अनुभव बटुल्ने र भविष्यको खाका कोर्ने समय भने यही हो ।’ प्रत्येक खेल, ओभर र गल्तीले नेपाललाई आगामी वर्षका लागि तयार बनाउनेमा शंका छैन । युवा खेलाडीलाई ठूला मञ्चमा खडा गराउने यही अवसर पनि हो । गल्ती हुन्छ, हार पनि हुन्छ । तर, त्यसबाट भाग्नु होइन, सामना गर्न सक्ने साहस विकास गर्नु नै दीर्घकालीन सफलता मानिन्छ ।
त्यसो त, नेपाली क्रिकेट सधैं भावनामा बग्ने गरेको छ । एउटा जितपछि अतिरञ्जित प्रशंसा र एउटा हारपछि कठोर आलोचना दुवैले खेलाडीलाई न्याय गर्दैनन् । विश्वकपजस्तो मञ्चमा समर्थक, सञ्चारमाध्यम र व्यवस्थापन सबै संयमित हुन आवश्यक छ ।
‘टी–२० विश्वकप’ नेपालका लागि पदकभन्दा पनि परिपक्वताको यात्रा हो ।
यहाँ नेपालले के जित्छभन्दा पनि ‘कस्तो टोली बन्छ ?’ भन्ने महŒवपूर्ण छ । डरले खेल्ने नेपाल होइन, हार स्वीकार गरेर पनि सुधार खोज्ने नेपाल आजको आवश्यकता हो । यदि नेपालले यस विश्वकपमा आत्मविश्वास, अनुशासन र साहस देखाउनसक्यो भने अंकतालिकामा स्थान जेसुकै भए पनि त्यो नेपाली क्रिकेटको जित हुनेछ ।
छिमेकी राष्ट्र भारत–श्रीलंकाको संयुक्त आयोजनामा सुरु हुन लागेको ‘टी–२० विश्वकप २०२६’ नेपाली क्रिकेटका लागि प्रतियोगिताभन्दा पनि स्वपहिचान र भविष्यको दिशा निर्देश गर्ने परीक्षा हो ।
यस विश्वकपमा नेपालले विश्व क्रिकेटको बलिया टोलीसँग प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता प्रमाणित गर्ने अवसरसमेत पाउने छ ।
‘समूह चरण’मा बलिया र अनुभवी राष्ट्रसँग भिड्नेक्रममा नेपालको जित त्यति सहज भने छैन, तर असम्भव पनि देखि“दैन । ‘टी–२० क्रिकेट’को अनिश्चितताले कमजोर टोलीलाई पनि ‘अपसेट’को मौका दिन्छ । यही आशाले नेपाली क्रिकेटले आफ्नो यात्रा अझ उत्साहजनक बनाउन सक्नेमा नेपाली टोली आशावादी छ ।
विशेषतः नेपालले आफ्नो पहिलो खेल इंग्ल्यान्डसँग ८ फेब्रुअरीमा वानखेडे स्टेडियममा खेल्ने खेल अंकका लागि होइन, मानसिकता र आत्मविश्वासको परीक्षा पनि हुनेछ । नेपाली टोलीले आफ्नो प्रदर्शनमा अनुशासन, साहस र टीमवर्क देखाउन सकेमात्र खेलको परिणामभन्दा ठूलो उपलब्धि हासिल हुने देखिन्छ ।
नेपालको मुख्य चुनौती ब्याटिङमा निरन्तरता कायम गर्नु हो । सुरुवाती ओभरमा विकेट गुम्नु र मिडल अर्डरमा दबाब झेल्नु विगतमा नेपाली टोलीको कमजोरी रहिआएको छ । बलिङ र फिल्डिङमा भने नेपाली टोलीले देखाएको अनुशासन र क्षमता विश्वास जगाउनेखाले छ । ‘पावरप्ले’मा विकेट निकाल्ने र ‘मिडल ओभर’मा रन नियन्त्रण गर्ने रणनीति सफल भयो भने खेलको दिशा नेपालतर्फ मोडिन पनि सक्छ ।








