काठमाडौं । ‘बाल्यकालमा म साह्रै नक्कली थिएँ, आमाले बेच्न ल्याएको कस्मेटिक सामानहरू मुहारमा दलेर हिरोइन बन्दै नाच्नु पर्ने मेरो शौक थियो । यसरी राम्री हुँदै नक्कल पार्ने क्रममा बिक्री गर्न आमाले अर्काको लागि ल्याइदिनु भएको धेरै कस्मेटिक सामानहरू बाल्यकालमा मैले खोलखाल पारेर आमालाई खुबै घाटा पार्ने गरेको थिएँ,’ मोडल तथा अभिनेत्री आकृति राजभण्डारीले चलचित्र ‘कुमारी’को बुधवार काठमाडौँमा आयोजित पत्रकार भेटघाटमा आफ्नो बाल्यकाल’bout यसरी स्मरण गरिन् ।
नयाँ नेपाली चलचित्र ‘कुमारी’ मार्फत नायिकाको रूपमा डेब्यू गरेकी आकृति राजभण्डारी पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा चर्चा बटुलिरहेकी नयाँ अनुहार हुन् । पेसागत यात्रामा फरक–फरक मोड पार गर्दै उनी चलचित्रमा प्रवेश गरेकी हुन् । आकृतिको यात्रा मेहनत, धैर्य र डिजिटल प्लेटफर्मको सही प्रयोगको उदाहरण बनेको छ ।

यसरी बाल्यकालदेखि सृंगार पटारमा निकै रुचि राख्ने आकृति राजभण्डारीले आफ्नो करिअर सुरुआत चलचित्र वा मोडलिङबाट होइन, मेकअप आर्टिष्टको रूपमा गरेकी थिइन् । आकृतिको भनाइमा एसइईपछिबाटै उनले सौन्दर्य क्षेत्रमा हात हालेकी थिइन् । सो क्रममा उनले फेस मेकअप, ब्राइडल मेकअप र फोटो सुटका लागि मेकअप आर्टिष्टको रूपमा अनुभव सँगाल्दै अघि बढिन् । यही पेसाले उनलाई क्यामेरा र लाइटसँग मितेरी गाँसिदियो । अनि उनले सौन्दर्य कलामै कन्टेन क्रियटरको रूपमा काम गर्न थालिन् ।
पछि आकृतिले डिजिटल माध्यमलाई करिअरको अर्को बाटो बनाइन्। उनी युट्युबमा कन्टेन क्रियटरको रूपमा सक्रिय भइन् र लाइफ स्टाइल, फेसन, मेकअप तथा व्यक्तिगत अनुभवमा आधारित भिडियोहरू बनाउँदै उनी अभिनयमा लागिन् । सरल प्रस्तुति, आत्मविश्वासी व्यक्तित्व र दर्शकसँगको सहज सम्बन्धका कारण उनी छोटो समयमै लोकप्रिय कन्टेन क्रियटरको रूपमा चिनिन सफल भइन्।
अकृतिको भनाइमा करिब डेढ वर्षअघि उनको जीवनमा महत्त्वपूर्ण मोड आयो । उनले बाल्यकालमै नायिका बन्छु भनेर देखेको सपनालाई यो मोडले अघि बढायो । त्यति बेला उनले चर्चित गायक सुशान्त केसीको गीत ‘बार्दली…’मा मोडलिङ गर्ने अवसर पाइन्। गीत सार्वजनिक भए लगत्तै अत्यधिक लोकप्रिय बन्यो र दर्शक–श्रोतामाझ सर्वाधिक हेरिने गीतमध्ये पर्न सफल भयो। गीतको सफलतासँगै उनको चर्चा पनि चुलियो ।
यो गीत पछि भारतीय लोकप्रिय म्युजिक च्यानल टी–सिरिजबाट पनि रिलिज भयो, जसले आकृतिलाई अन्तर्राष्ट्रिय दर्शकमाझ समेत चिनायो। यही गीतलाई उनको मोडलिङ करिअरको टर्निङ मानिन्छ ।
बार्दलीपछि आकृतिले नेपाली चलचित्रमा प्रवेश गर्ने अवसर पाइन् । लभ स्टोरी जनराका निर्देशक दिनेश राउतको निर्देशनमा बनेको लभ स्टोरी जनराको चलचित्र ‘कुमारी’मा उनले मुख्य नायिकाको भूमिका निर्वाह गरेकी छन्। यो चलचित्र यही शुक्रवार, २३ माघदेखि नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउँदै छ ।
आकृतिको भनाइमा चलचित्र ‘कुमारी’को लागि उनी अडिसनबाट चयन भएकी हुन् । निर्देशक दिनेश राउतले चलचित्रको लागि अडिसन लिएर चयन गरिसक्दा पनि सुशान्तको चर्चित गीत बार्दलीको मोडल तिनै आकृति हुन भन्ने राउतलाई जानकारी थिएन । त्यसैले आफू विशुद्ध अडिसनबाट यो चलचित्रमा छानिएको यी अभिनेत्रीको कथन छ ।
चलचित्र ‘कुमारी’मा आकृतिसँग अभिनेता अभिषेक खड्काको जोडी देखिएको छ। सार्वजनिक ट्रेलर र गीतहरूमा उनीहरूको केमेस्ट्री दर्शकले मन पराएका छन्। पहिलो चलचित्रमै मुख्य भूमिका निभाएकी आकृतिले यो कथाको भावनात्मक पक्षलाई सहज ढंगले प्रस्तुत गरेको छु भनिन् ।
विगत एक महिनादेखि उनी चलचित्र ‘कुमारी’को प्रचारका लागि देशका विभिन्न भागमा पुगिन् । आफू नयाँ नायिका भए पनि दर्शकले चलचित्र नआउँदै विभिन्न ठाउँमा भएको भेटमा देखाउनु भएको आत्मीयताले उनी नतमस्तक छिन् । अभिषेक र आफ्नो जोडीलाई दर्शकले चलचित्र रिलिज नहुँदै मन पराएको पनि यी अभिनेत्रीको कथन छ ।
चलचित्रमा काम गर्ने क्रममा आफू र अभिषेक अत्यन्त नजिक भएको उनले बताइन् । ‘के तपाई अभिषेकको प्रेममा परेको हो ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा यी अभिनेत्रीले भनिन्,‘हामी दुबै जना करिअरको सुरुवात चरणमा भएकाले आफ्नो काममा गम्भीर छौँ र अझै चलचित्र उद्योगमा धेरै कामहरू गर्नु पर्ने छ । त्यसैले प्रेमी, प्रेमिकाको रूपमा नभएर सँगै काम गरेका कारण साथीको रूपमा नजिक भएका हौँ ।’
आकृति राजभण्डारीले आफूलाई केवल नायिका मात्र नभई बहु आयामिक कलाकारको रूपमा स्थापित गर्ने लक्ष्यमा रहेको बताइन् । अभिनयसँगै उनी कन्टेन क्रियसन, फेसन र सौन्दर्य क्षेत्रमा पनि निरन्तर सक्रिय छिन्। डिजिटल प्लेटफर्मबाट सुरु भएको उनको यात्रा अब ठुलो पर्दासम्म आइपुगेको छ, र चलचित्र कुमारी उनको करिअरको नयाँ अध्यायको सुरुआत बनेको छ । नयाँ पुस्ताकी प्रतिनिधि कलाकारका रूपमा उदाएकी आकृति ‘कुमारी’ हेरेर दर्शकबाट पाउने समीक्षाको तीव्र प्रतीक्षामा छिन् ।












