लस एन्जलस । यो वर्षको ९८औँ एकेडेमी अवार्ड, अर्थात् ओस्कार अवार्ड २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ । अवार्ड हुन अब एक महिना बाँकी छ । आगामी १५ मार्च २०२६ बेलुका यो अवार्ड लस एन्जलसमा आयोजना हुने भएको छ । जहाँ विश्वभरका उत्कृष्ट चलचित्र र कलाकारहरूलाई पुरस्कार प्रदान गरिनेछ ।
ओस्कारमा बिदेशी चलचित्रको विधामा निकै ठुलो प्रतिस्पर्धा हुने गरेको छ । यो एउटा विधाको अवार्डका लागि विश्वभरका चलचित्रहरूले भाग लिने गरेका छन् । जसको लागि फाइनल प्रतिस्पर्धामा पाँच देशका चलचित्र चयन भएका छन् । चयनसँगै यो विधामा उत्कृष्ट अवार्डको लागि मतदानको समय समेत तय भइसकेको छ ।
त्यसो त अन्तर्राष्ट्रिय चलचित्र विधाको अवार्डको लागि यस पटक ९२ देशका चलचित्रहरू प्राप्त भएका थिए । जसबाट पहिलो चरणमा नेपाल सहित ८६ देशका चलचित्र चयन भएका थिए । यो प्रारम्भिक दर्ताले विगतको तुलनामा विश्वका चलचित्र उद्योगहरू ओस्कार प्रतिस्पर्धामा अझ सशक्त रूपमा सहभागी भएको देखियो । धेरै देशहरूले आफ्ना सर्वश्रेष्ठ सांस्कृतिक चलचित्रहरू अवार्डको लागि यस पटक प्रस्ताव गरेका थिए ।
यो अवार्डको लागि विदेशी चलचित्रको प्रतिस्पर्धामा दोस्रो चरणमा ८६ देशका चलचित्रबाट जम्मा १५ देशका चलचित्र चयन भएका थिए । दोस्रो चरणको निर्णायकहरूबाट भएको सर्ट लिस्टपछि मात्र फाइनलको लागि ५ चलचित्रको मनोनयन सूची सार्वजनिक गरिएको हो ।
फाइनलको सूचीबाट १० देश बाहिरिएका छन् । जसमा यस पटक ब्राजिल, फ्रान्स, नर्वे, स्पेन र ट्युनेशिया जस्ता देशका चलचित्र ओस्कार अन्तर्राष्ट्रिय अवार्डको लागि फाइनलमा पुगेका छन् ।
फाइनलको दौडमा रहेर दोस्रो चरणमा उत्कृष्ट १५ भित्र परेको मध्य अर्जेन्टिनाको चलचित्र ‘बेलेन’, जर्मनीको चलचित्र ‘साउन्ड अफ फलिङ’, भारतको चलचित्र ‘होमबाउन्ड’, इराकको चलचित्र ‘द प्रेसिडेन्ट्स केक’, जापानको चलचित्र ‘कोकुहो’, जोर्डनको चलचित्र ‘अल आट्स लाईफ अफ यु’, स्विट्जरल्याण्डको चलचित्र ‘लेट सिफ्ट’, प्यालेस्टाइनको चलचित्र ‘पालेस्टाइन ३६’, दक्षिण कोरियाको चलचित्र ‘नो अदर च्वाइस’ र ताइवानको चलचित्र ‘लेफ्ट ह्यान्डेड गर्ल’ मनोनयनबाट बाहिरिएका हुन् ।
यस पटक अन्तर्राष्ट्रिय चलचित्र विधाको अवार्डको लागि फाइनलमा पुगेका पाँच चलचित्रहरूमा ब्राजिलको चलचित्र ‘द सेक्रेट एजेन्ट’, फ्रान्सको चलचित्र ‘इट वाज जस्ट एन अक्सिडेन्ट’, नर्वेको चलचित्र ‘ सेन्टिमेन्टल भ्यालु’, स्पेनको ‘सिरात’ र ट्युनेशियाको चलचित्र ‘द भ्वाईस आफ हिन्द राजव’ रहेको छ ।
फाइनल अवार्डको लागि उत्कृष्ट पाँचमा परेका चलचित्रहरूको लागि अर्को साताबाट मतदान खुला हुने छ । आयोजक पक्षका अनुसार यो विधाको अवार्डको फाइनल चरणको मतदान यस पटक २६ फेब्रुअरीबाट सुरु हुने छ । यो मतदान ५ मार्च २०२६ सम्म जारी रहने छ । निर्णायकको निर्णयसँगै मतदानबाट प्राप्त परिणामको आधारमा विजेताको घोषणा गरिने आयोजक पक्षले विज्ञप्ति मार्फत जनाएको छ ।
यसरी ओस्कार २०२६ विदेशी चलचित्र विधामा मनोनयनमा परेका ब्राजिलको चलचित्र ‘द सेक्रेट एजेन्ट’ अन्तर्राष्ट्रिय विधासँगै अन्य हलिउड विधाका मुख्य प्रतिस्पर्धामा पनि मनोनयनमा परेको छ । जसका कारण यसले अन्तर्राष्ट्रिय चलचित्र जगतमा ठुलो चर्चा पाएको छ ।
यस्तै , फ्रान्सको चलचित्र ‘इट वाज जस्ट एन अक्सिडेन्ट’ पनि यस पटक ओस्कारको दाबेदार मानिएको छ । ओस्कारको विदेशी श्रेणीमा उत्कृष्ट स्थान बनाएको यसले मानवीय कथा र चित्रणलाई निकै सकारात्मक रूपमा प्रस्तुत गरेको छ । यसले समीक्षाबाट सम्मान पाएको छ ।
फाइनलमा चयन भएको नर्वेको चलचित्र ‘सेन्टिमेन्टल भ्यालु’ ले यो वर्ष न केवल विदेशी चलचित्र विधामा मनोनयन पायो, जवकी यो चलचित्रलाई अन्य मुख्य श्रेणीहरूमा पनि नामांकन मिलेको छ । जसका कारण विदेशी चलचित्रको विधासँगै यसले अन्य मुख्य विधामा पनि अवार्ड जित्ने सम्भावना रहेको छ ।
स्पेनको ‘सिरात’ले आफ्नो भावनात्मक कथा र सिनेमाटिक अनुभवका कारण ओस्कारमा आफूलाई फाइनलको सूचीमा उभ्याएको छ । यसका पनि अहिले चर्चा चुलिएको छ ।
ट्युनेशियाको ‘द भ्वाईस आफ हिन्द राजव’ अर्को प्रभावशाली चलचित्र हो । लामो समयपछि ट्युेनेशिया यो चलचित्र मार्फत ओस्कारमा विदेशी विधामा चयन भएको छ । यसलाई पनि कमजोर आँक्न नमिल्ने समीक्षकहरूको कथन छ ।






