काठमाडौं । काठमाडौं प्रशासनले विमानस्थल आसपास निषेधाज्ञा जारी गर्दै सुरक्षा व्यवस्था कडा बनाएको भए पनि राजावादी समूहका समर्थकहरू ठूलो संख्यामा त्यहाँ पुगेका हुन् । बिहानैदेखि विमानस्थल क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । पूर्वराजा शाह आज झापाबाट काठमाडौं आउँदै छन् । उनको स्वागतका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसमेत विमानस्थल पुगेका छन् ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईं पनि स्वागतका लागि विमानस्थल पुगेका छन्। उनले समर्थकहरूलाई बाहिरै राखेर आफू भने भित्र प्रवेश गरेको जनाइएको छ। पूर्वराजालाई लिएर बाहिर आउने बताउँदै उनी भित्र छिरेका हुन्।

पूर्वराजालाई विमानस्थलबाट निर्मल निवास सम्म लैजाने तयारीसँगै सुरक्षा सतर्कता उच्च बनाइएको छ। विमानस्थलदेखि गन्तव्य स्थलसम्मको मार्गमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने काठमाडौँका विभिन्न चोक-चोकमा पनि सुरक्षा उपस्थिति बाक्लो बनाइएको छ।
राजावादी धारका समूहहरू तथा राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूले पूर्वराजाको स्वागतका लागि कार्यक्रम तय गरेका छन्। प्रशासनले भीड व्यवस्थापन र शान्ति-सुरक्षा कायम राख्न आवश्यक तयारी गरेको जनाएको छ।






