आयोजक हराउँदै एपिएफ झापा गोल्डकपको फाइनलमा

इलाम । विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । झापाको डोमालाल राजवंशी रंगशालामा जारी सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । एफिएफले आयोजकको टिम झापा–११ फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । मध्यान्तर पछि एक गोलले पछि परेको एपिएफले गोल फर्काउँदै जित हासिल गरेको हो । जितसँगै एपिएफले कम्तिमा ७ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ ।

टाइब्रेकरमा एपिएफका लागि सुमन श्रेष्ठ, दिपेश धिमाल, सन्तोष खत्री र समिराज थोकरले गोल गरेका थिए भने नविन लामाको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बुले रोकेका थिए । झापाका तर्फबाट भने रोमन भुजेल र रोहन कार्कीले मात्र गोल गरेका थिए । नारायण क्षेत्री र गौरव धिमालको बल एपिएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाएका थिए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६१ औँ मिनेटमा झापाले अग्रता लियो । नारायण क्षेत्रीको कर्नर प्रहारमा झापाका विदेशी खेलाडी रिचार्ड विल्सनले गोल गर्दे टीमलाई अग्रता दिलाए । झापाको अग्रता ६ मिनेट पनि टिक्न सकेन । एपिएफका नविन लामाले ६७ औँ मिनेटमा खेललाई बराबरीको बनाए । लामाले डिबक्स बाहिरबाट गरेको प्रहार क्रस बारमा लाग्दै जाली चुम्न पुग्यो ।

३९ औँ मिनेटमा रोहन कार्कीको प्रहार बारमा लागेर फर्किंदा खेलमा अग्रता लिने अवसरबाट बञ्चित भएको थियो । खेलको ५७ औँ मिनेटमा झापाका रिचार्ड विल्सनको लङ रेञ्जर सट बारको केही माथिबाट बाहिरिएको थियो । एपिएफले ३० औँ मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । दिपेश धिमालले पाएको सुन्दर अवसर खेर फालेका थिए । खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफका गोलकिपर एञ्जल श्रेष्ठ भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।

शनिबार अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुबटल क्लबबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

महिला फुटबलः एनआरटीसँग गाईघाट पराजित