गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा गुल्मीका उम्मेदवारहरु घरदैलोमा व्यस्त भएका छन् । निर्वाचनमा मत माग्नको लागि उम्मेदवारहरु घरदैलो, टोलभेला एवं मतदाता भेटघाटमा व्यस्त भएका छन् । जिल्लामा क्षेत्र नम्बर १ मा २१ र २ मा २२ जनाको उम्मेदवारी परेको छ । तर मुख्य प्रतिस्पर्धा भने नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच हुनेछ । अहिलेसम्म सबै दलले पालिकास्तरीय बैठक सम्पन्न गरेका छन् ।
क्षेत्र नम्बर १ मा एमालेबाट प्रदिप ज्ञवाली, काँग्रेसबाट चन्द्र भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट सुदर्शन बराल तथा रास्वपाबाट सागर ढकाल उम्मेदवार छन् । त्यसैगरी क्षेत्र नम्बर २ मा एमालेबाट गोकर्ण विष्ट, काँग्रेसबाट भुवनप्रसाद श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीबाट श्रीराम महत र रास्वपाबाट गोविन्द पन्थी उम्मेदवार छन् ।

जिल्लामा रहेका ९३ मध्ये एमालेले क्षेत्र नम्बर १ मा २९ र २ मा २३ वडा वडामा वडा कमिटीको बैठक सम्पन्न गरेको जिल्ला अध्यक्ष बालसिंह काउछाले जानकारी दिए । एमालेले बुटबल र काठमाडौंमा पनि जनसम्पर्क समितिहरुका कार्यक्रम सम्पन्न गरेको छ । ‘अहिले गुल्मीका दुइवटै निर्वाचन क्षेत्र जित्नेगरी तयारी छ ।’ काउछाले भने, ‘उम्मेदवार तथा नेताहरु अहिले घरदैलो एवं टोल भेटघाट कार्यक्रममा हुनुहुन्छ ।’ बाँकी रहेका वडाहरुमा पनि क्रमश टोल भेटघाट गर्ने काउछाको भनाईछ ।
काँग्रेसले क्षेत्र नम्बर १ का २२ र २ का १३ वटा वडामा वडा एवं टोल भेला सम्पन्न गरेको छ । त्यसका साथै थोरै–थोरै मतदातासँग, घरदैलो एवं खेतबारीमा पुगेर समेत मतदाता भेटघाट गरेको जिल्ला सभापति खिलध्वज पन्थीले बताए । फागुन १० गतेसम्म जिल्लाका सबै वडाहरुको कार्यक्रम सक्ने योजना बनाएको पन्थीको भनाई छ । ‘पार्टीले नेतृत्व परिवर्तन गरेसँगै नयाँ जोशका साथ घरदैलोमा छौं ।’ पन्थीले भने, ‘निर्वाचन जित्ने उदेश्यले निर्वाचनमा होमिएका छौं ।’
नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नम्बर १ मा ३२ एवं क्षेत्र नम्बर २ मा ३५ वटा वडामा टोलभेला एवं घरदैलो सकेको छ । अहिले कुनै आमसभा, जुलुस जस्ता ठुला भेटघाटका कार्यक्रम नराखेको पार्टीले जनाएको छ । ‘गाउँमा बाँदर, पानी, सडक जस्ता समस्या छन्, तिनलाई समाधान गर्ने प्रतिवद्धताका साथ चुनावी अभियानमा छौँ ।’ गुल्मी–१ का उम्मेदवार सुदर्शन बरालले भने, ‘यसपटक गुल्मीका दुवै क्षेत्रमा जित निकाल्छौं ।’ गुल्मीमा साविकका माओवादी कार्यक्रताले १२ बर्षपछि आफ्नै उम्मेदवार पाएका छन् । अहिले पार्टीले ठुला आमसभा नभएर साना–साना टोल भेला र मतदातासँग उम्मेदवारको प्रत्यक्ष भेटघाटमा जोड दिएको नेता बुद्धि जिसीले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्ना चुनावी गतिविधिलाई तिब्रताका साथ अगाडी बढाएको छ । नेता देवराज पाण्डेका अनुसार सबै पालिकामा रास्वपाले कमिटी बनाएको छ । उसले पालिकास्तरमा निर्वाचन परिचालक कमिटी, सम्भव भएसम्मका वडाहरुमा समेत कमिटी गठन गरेको छ । ‘अहिले हामी बैठकभन्दा पनि घरदैलोमा केन्द्रित छौँ ।’ पाण्डेले भने । रास्वपाले फागुन १ गते पार्टी सभापति रवि लामिछानेलाई जिल्ला ल्याउने तयारी समेत गरेको छ ।






