काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरुप प्रयोग गर्न नपाउने स्पष्ट पारेको छ ।
आयोगले आज (फागुन १० गते) सूचना प्रकाशित गरी राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचारप्रसार गर्दा भौतिक स्वरुपको निर्वाचन चिह्न साथमै बोकी प्रयोग नपाउने बताएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घण्टी बजाउँदै चुनाव प्रचार गरेको र निर्वाचन आचारसंहिता उल्लंघन गरेको गुनासो आएपछि आयोगले यस्तो निर्णय गरेको हो।
आयोगको यो निर्णयसँगै अब रास्वपाले घण्टी बजाउँदै गरिरहेको चुनाव प्रचारको शैली अब परिवर्तन गर्नुपर्ने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले रास्वपाको चुनाव प्रचार शैलीविरुद्ध विज्ञप्ति नै प्रकाशित गरी आपत्ति जनाएको थियो ।
‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा भाग लिने राजनीतिक दल वा उम्मेदवारले आम जनमानसको सुरक्षामा असर पर्ने किसिमबाट भौतिक स्वरुपका कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामाग्रीबाट बनेका निर्वाचन चिह्न प्रयोग गरी निर्वाचन प्रचारप्रसार नगर्न तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) मा तोकिए बमोजिमको मापदण्ड बमोजिम दलको झण्डा र चुनाव चिन्हको माध्ययबाट मात्र निर्वाचन प्रचारप्रसार गर्न गराउन र सोको विपरीत गरेको देखिएमा आचारसंहिता प्रतिकूल हुने’ आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ।






