ललितपुर । महिलाहरूको स्वास्थ्य, ‘फिटनेस’ तथा आत्मसचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित यही फागुन ३० गते ‘काठमाडौं पिंक केयरएथन’ आयोजना हुने भएको छ ।
महिलालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने लक्ष्यसहित सञ्चालन हुने उक्त दौड प्रतियोगितामा जुनसुकै उमेर समूहका महिलाले सहभागिता जनाउन सक्ने आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले जानकारी दिए ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले प्रतियोगिताले घरायसी काम र दैनिक जिम्मेवारीमा व्यस्त रहने महिलालाई आफ्नै स्वास्थ्यका लागि समय निकाल्न प्रेरित गर्ने विश्वास गरिएको बताए ।
“महिलाहरू परिवार र समाजका लागि निरन्तर खटिरहन्छन्, तर आफ्नो स्वास्थ्यप्रति सचेत हुन समय निकाल्न सकिरहेका हुँदैनन् । पिंक केयरएथनले उहाँहरूलाई आफ्नै लागि पनि समय दिन उत्प्रेरित गर्ने विश्वास लिएका छौँ”, उनले भने ।
दौड प्रतियोगितासँगै जुम्बा, सङ्गीत कार्यक्रम तथा विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधि समावेश गरिने आयोजक संस्थाले जनाएको छ । यस अभियानका सद्भावना दूत एवं कलाकार उषा रजकले महिला स्वास्थ्यका लागि परिवारका प्रत्येक सदस्यले हौसला र प्रेरणा दिनुपर्ने बताए । उनले भने, “स्वस्थ रहनु नै सशक्तीकरण हो, आउनुहोस् यस अभियानमा सहभागी भई क्यान्सरविरुद्धको सचेतना फैलाऔँ ।”
राष्ट्रिय खेलाडी सन्तोषी श्रेष्ठले प्रतियोगिता व्यावसायिक खेलाडीका लागि मात्र नभई हरेक महिलाका लागि अभियानका रूपमा सञ्चालन भइरहेको बताइन् । “यो दौड प्रतिस्पर्धा मात्र होइन, महिला स्वास्थ्य र आत्मविश्वासको अभियान हो”, उनले भनिन् ।
वरिष्ठ मेडिकल अन्कोलोजिस्ट डा सुदीप श्रेष्ठले स्तन क्यान्सरको समयमै परीक्षण र उपचारको महत्त्व’bout प्रकाश पार्दै प्रतियोगिताले सचेतना फैलाउन सहयोग पुग्ने धारणा राखे । उनले भने, “आजको दिनमा स्तन क्यान्सर प्रारम्भिक अवस्थामा पत्ता लागे उपचारपछि पूर्ण रूपमा निको हुनसक्छ, तर व्यस्तता र डरका कारण धेरै महिलाहरू ढिलो गरी अस्पतालसम्म आइपुग्छन् । यसले समस्या हुन्छ ।”
सन् २०१७ देखि २०१९ सम्म निरन्तर आयोजना गरिएको कार्यक्रम कोभिड–१९ महामारीपछि रोकिएको थियो । सन् २०२४ बाट पुनः सञ्चालन हुँदै आएको हो । जाउलाखेलस्थित खेलमैदानमा बिहान ६ः०० बजेदेखि सुरु हुने कार्यक्रममा पाँचदेखि २१ किलोमिटरसम्मका दूरीका दौड प्रतियोगिता सञ्चालन गरिने जनाइएको छ ।






