नवीकरणमै सिमित बन्दै ‘जीवन बिमा’

काठमाडौं । नेपालको जीवन बिमा क्षेत्रले चालू आर्थिक वर्ष २०८२–८३ को माघ मसान्तसम्म संख्यात्मक रूपमा उल्लेख्य विस्तार गरेको छ । यद्यपि, जीवन बिमाको क्षेत्र अझै पनि असन्तुलित र नवीकरणमा अत्यधिक निर्भर देखिएको छ ।

१ खर्ब ११ अर्बको व्यापारमा नयाँ बिमितबाट २५ अर्ब

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जीवन बिमा कम्पनीले ७ महिनाको अवधिमा २५ अर्ब ११ करोड रुपैयाँबराबरको प्रथम बिमाशुल्क (नयाँ व्यवसाय) संकलन गरेका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ७५ प्रतिशतले बढी हो । तर यही अवधिमा कुल बिमाशुल्क भने १ खर्ब ११ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

यसले नयाँ व्यवसायको तुलनामा नवीकरण बिमाशुल्कको हिस्सा अत्यधिक रहेको स्पष्ट हुन्छ । जीवन बिमा क्षेत्रको यो वृद्धि पहिलो नजरमा उत्साहजनक देखिए पनि संरचनात्मक विश्लेषण गर्दा बजार विस्तारभन्दा पुराना बीमितको निरन्तरतामा आधारित रहेको देखिएको छ । कम्पनीहरूले नयाँ ग्राहक थप्नेभन्दा पहिलेका बिमालेखलाई कायम राख्ने रणनीतिमा बढी निर्भरता देखाएका छन् ।

गत साउनदेखि माघसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अझै पनि अग्रस्थानमा नै देखिएको छ । सो कम्पनीले माघ मसान्तसम्म करिब २९ अर्ब ५९ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने नयाँ व्यवसायतर्फ पनि ६ अर्ब ७५ करोड रुपैयाँ संकलन गर्दै पहिलो स्थान कायम राखेको छ । कम्पनीको प्रथम बिमाशुल्कमा ४१ दशमलव १३ प्रतिशतको वृद्धि भएको छ ।

यसपछि नेसनल लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) क्रमशः दोस्रो र तेस्रो स्थानमा देखिएका छ । नेसनल लाइफले १३ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी बिमाशुल्क संकलन गरेको छ भने एलआईसी नेपालले १२ अर्बभन्दा बढी व्यवसाय गरेको छ । यी कम्पनीहरूले स्थिर वृद्धि देखाए पनि नेपाल लाइफसँगको अन्तर अझै ठूलो देखिन्छ ।

आईएमई लाइफ इन्स्योरेन्सले भने वृद्धिदरको हिसाबले सबैलाई पछि पारेको छ । कम्पनीको प्रथम बिमाशुल्क ५९ दशमलव ४४ प्रतिशतले वृद्धि भएर करिब १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । बिमा प्राधिकरणको तथ्यांकअनुसार जीवन बिमा कम्पनीहरूको प्रदर्शनमा समानता भने देखिएको छैन । हिमालयन लाइफ इन्स्योरेन्सको प्रथम बिमाशुल्क ५ दशमलव ७१ प्रतिशतले घटेको छ भने सन नेपाल लाइफ इन्स्योरेन्सको नयाँ व्यवसाय २१ दशमलव ५१ प्रतिशतले घटेको छ ।

यस्तो गिरावटले बजारमा प्रतिस्पर्धा बढ्दै गएको भए पनि सबै कम्पनीले त्यसको लाभ लिन नसकेको देखाउँछ । यसले व्यवस्थापन क्षमता, वितरण सञ्जाल र उत्पादन रणनीतिमा कम्पनीहरूबीच ठूलो अन्तर रहेको संकेत गर्छ । सिटिजन लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सले भने मध्यम स्तरको स्थिर वृद्धि देखाएका छन् ।

यी कम्पनीहरूको वृद्धिदर २० देखि ३० प्रतिशतको हाराहारीमा रहेको छ, जसले उनीहरू बजारमा स्थायित्वतर्फ उन्मुख रहेको देखाउँछ । तर, बजार हिस्साको दृष्टिले हेर्दा यी कम्पनीहरू अझै पनि शीर्ष कम्पनीहरूको तुलनामा निकै पछाडि छन् । प्राधिकरणको तथ्यांकअनुसार एलआईसी नेपालले १२ अर्ब ३ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसैगरी हिमालयन लाइफले १० अर्ब ४३ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांक रहेको छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बिमा कम्पनीले ७ अर्ब ६१ करोड १६ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ ।

तथ्यांकअनुसार सूर्यज्योति लाइफले ६ अर्ब ६६ करोड १७ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । एसियन लाइफले ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ बिमाशुल्क संकलन गर्दा सिटिजन लाइफले ४ अर्ब ७३ करोड ९९ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । यस्ततै, सानिमा रिलायन्स लाइफले ४ अर्ब २७ करोड ८० लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । आईएमई लाइफले ३ अर्ब ८६ करोड ७८ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ ।

मेट लाइफले ३ अर्ब ७१ करोड ९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ४८ करोड ८८ लाख, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब २५ करोड ५२ लाख, नेपाल लाइफले २ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । जीवन बिमा क्षेत्रको अर्को महत्वपूर्ण पक्ष भनेको यसको भौगोलिक वितरण हो । कुल सक्रिय बिमालेखमध्ये ठूलो हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको छ ।

बागमती प्रदेशमा मात्रै ६० प्रतिशतभन्दा बढी बिमालेख सक्रिय रहेका छन्, जसले बिमा पहुँच अझै पनि शहरी र आर्थिक रूपमा विकसित क्षेत्रमा सीमित रहेको देखाउँछ । कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा बिमाको पहुँच कमजोर र हनुले वित्तीय समावेशीकरणको लक्ष्य अझै टाढा रहेको संकेत गर्छ । प्राधिकरणको तथ्यांकअनुसार सावधिक जीवन बिमा र म्यादी जीवन बिमा जस्ता उत्पादनहरूमा आकर्षण देखिएको छ ।

यसले नेपाली उपभोक्ताको प्राथमिकता ‘सुरक्षा र बचत’ दुवैलाई समेट्ने उत्पादनतर्फ झुकेको देखाउँछ । विशेषगरी वैदेशिक रोजगारसँग सम्बन्धित म्यादी जीवन बिमाले ठूलो संख्यामा कामदारलाई बिमा दायरामा ल्याएको छ, जसले सामाजिक सुरक्षामा सकारात्मक योगदान पु¥याएको छ । लघु जीवन बिमाले पनि पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

लाखौं बिमालेखमार्फत ग्रामीण र न्यून आय भएका वर्गसम्म बिमा सेवा पुगेको छ, तर यसको प्रिमियम संकलन भने निकै कम छ । यसले ‘कम प्रिमियम, धेरै संख्या’ मोडललाई पुष्टि गर्छ, जसले समावेशीकरण त बढाएको छ तर कम्पनीहरूको आम्दानीमा सीमित योगदान दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

epaper

ताजा समाचार

बहुमतका महासचिव बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश