राष्ट्रिय दल ६ वटामात्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थापनाको तीन वर्षमै प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ तीनचौथाइ मत हासिल गरेको छ । प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएर समानुपातिकतर्फ एक करोड मतगणना सकिँदा ६ वटा दलमात्र राष्ट्रिय दल बन्ने पक्का देखिएको छ । गणना बाँकी सबै मत कुनै एउटा दलले मात्र ल्याउँदा पनि अब ६ भन्दा बढीले ‘थ्रेसहोल्ड’ कटाउन नसक्ने अवस्था देखिएकाले ६ दलमात्र राष्ट्रिय दल बन्ने भएका हुन् ।

रास्वपालाई प्रत्यक्षमा तीनचौथाइ मत

प्रत्यक्षतर्फ तीनचौथाई मत पाए पनि समानुपातिक अनुपातले रास्वपालाई समग्रमा दुईतिहाइ मत पुग्न भने सकस हुने देखिएको छ । रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपामात्र राष्ट्रिय दल बन्ने भएका छन् । विगतमा मधेशमा राम्रो पकड बनाएका कुनै पनि मधेशवादी दलले ‘थ्रेसहोल्ड’ कटाउन नसक्ने देखिएको छ । जेनजी आन्दोलनपछि संसद् विघटन गर्दै घोषणा गरिएको निर्वाचन तोकिएको मिति २१ फागुनमै सम्पन्न भई परिणाम सार्वजनिक भइरहेको छ ।

प्रत्यक्षतर्फको परिणामअनुसार रास्वपाले तीन चौथाइभन्दा बढी अर्थात् १२५ सिट ल्याएको छ । प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमा १२५ जित्दा ७५.७५ प्रतिशत हुन आउँछ । आयोगका अनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १८ स्थानमा विजय हासिल गरेको छ । अघिल्लो प्रतिनिधिसभामा पहिलो दल नेपाली कांग्रेसको यो कमजोर परिणामसहित दोस्रो भएको हो ।

२०७९ को निर्वाचनमा दोस्रो ठूलो दल रहेको नेकपा एमाले खुम्चिएर प्रत्यक्षतर्फ ९ सिटमा सीमित भएको छ भने नेपाली कम्युनिस्ट पार्टीले ७ सिट हात पारेको छ । निर्वाचनका लागि दल दर्ता गरेको राष्ट्रिय श्रम संस्कृति पार्टीले ३ सिट हात पारेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ ।

पूर्वशिक्षामन्त्री महावीर पुनले स्वतन्त्र रूपले चुनाव जितेका छन् भने धनुषा क्षेत्र नम्बर–१ को निर्वाचन परिणाम निर्वाचन आयोगले ‘होल्ड’ गरेको छ । सोमबार सर्वो च्च अदालतले यो विवादमा सुनुवाई गरी अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचन आयोगले कायम रहेका उम्मेदवारको मत परिणाम घोषणा गर्ने भएको छ । आयोगले रास्वपाका उम्मेदवारको उम्मेदवारी कायम नरहने निर्णय गरेकाले सो क्षेत्रमा नेकपामा उम्मेदवारलाई बढी मत ल्याएको आधारमा मंगलबार (आज) विजय घोषणा गरिँदै छ ।

आचारसंहिता निष्क्रिय
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रियसभा सदस्य निर्वाचनका जारी गरेको निर्वाचन आचारसंहिता २०८२ सोमबार मध्यरातदेखि लागू नहुने निर्णय गरेको छ । आयोगले गत ४ माघ राति १२ बजेदेखि लागू गरेको आचारसंहिता अन्त्य गर्ने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचन आयोगले गत गत ११ माघमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन र २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम आचारसंहिता व्यवस्था गत ४ माघ रातिदेखि अर्को सूचना जारी नभएसम्मका लागि लागू गरेको थियो ।

५ चैतसम्म समानुपातिकलाई प्रमाणपत्र
निर्वाचन आयोगले आगामी ५ चैतसम्ममा समानुपातिक प्रणालीतर्फको निर्वाचित प्रमाणपत्र हस्तान्तरण गरिसक्ने जनाएको छ । आयोग प्रवक्ता भट्टराईले बुधबारसम्ममा समानुपातिकतर्फको सम्पूर्ण मतगणना सम्पन्न हुने बताएका छन् । मतगणनाअनुसार ‘थ्रेसहोल्ड’ पार गरेका दलले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसद संख्या निर्धारण गरिनेछ ।

आयोगले निर्धारण गरेको संख्यामा समानुपातिक ‘क्लस्टर’अनुसारको प्रतिनिधित्व हुनेगरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दललाई पत्राचार गरी आगामी ५ चैतसम्ममा निर्वाचित प्रमाणपत्र दिने जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 881 times, 1 visits today)

epaper

ताजा समाचार

पलेँटीमा गुन्जिए पवन र रमेश