योगमाया आयुर्वेद विश्वविद्यालय केन्द्रीय कलेज स्थापना

सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय अन्तर्गत केन्द्रीय कलेज स्थापना तथा स्नातकोत्तर तहका कक्षा सञ्चालनको औपचारिक उद्घाटन गरिएको छ । खाँदबारीमा आयोजित एक विशेष कार्यक्रमका बीच विश्वविद्यालयको केन्द्रीय कलेज स्थापना गर्दै उच्च शिक्षाका कार्यक्रम सुरु गरिएको घोषणा गरिएको हो ।

कार्यक्रमको उद्घाटन समारोहमा विश्वविद्यालयका उपकुलपति डा. रमेश ढुंगेलले सम्बोधन गर्दै आयुर्वेदिक शिक्षा र अनुसन्धानलाई सुदृढ बनाउन विश्वविद्यालयले महत्वपूर्ण पहल थालेको बताए । उपकुलपति ढुंगेलले खाँदबारीमा केन्द्रिय कलेज स्थापना हुनु सङ्खुवासभा जिल्लाका साथै समग्र कोशी प्रदेशकै लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले आयुर्वेद क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न स्नातकोत्तर तहको कक्षा सञ्चालनले नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले संस्थाको स्थापना र स्नातकोत्तर कक्षाको सञ्चालनलाई ऐतिहासिक उपलब्धि मान्दै यसले जिल्लामा उच्च शिक्षा र आयुर्वेद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने आशा व्यक्त गरे । वक्ताहरूका अनुसार हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी तथा प्राकृतिक स्रोतको वैज्ञानिक अध्ययन र उपयोगमार्फत आयुर्वेद चिकित्सा प्रणालीलाई अझ प्रभावकारी बनाउने लक्ष्य विश्वविद्यालयले लिएको छ ।

योगमाया आयुर्वेद विश्वविद्यालय “योगमाया आयुर्वेद विश्वविद्यालय ऐन, २०७९” अनुसार स्थापना गरिएको हो । विश्वविद्यालयले आयुर्वेद चिकित्सा, योग, ध्यान, जडीबुटी अनुसन्धान तथा वैकल्पिक चिकित्सा पद्धतिमा आधारित स्नातक, स्नातकोत्तर तथा अनुसन्धान कार्यक्रम सञ्चालन गरिने बताइएको छ । कार्यक्रममा योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीहरू, शिक्षक÷शिक्षिकाहरू र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका —९ तुम्लिङटार केन्द्रिय कार्यालय रहने गरी विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना भएको थियो । सतिप्रथाको अन्त्यका लागि लड्ने क्रान्तियोद्धा योगमाया न्यौपानेको जन्म १९१७ सालमा भोजपुरको षडानन्द नगरपालिका–१, नेपालेडाँडा मझुवाबेँसीमा भएको थियो । देशमा जगडिएको सतिप्रथा अन्त्यको लागि पटकपटक तत्कालीन राणा सरकारसँंग माग गर्दा पनि कुनै निर्णय नभएपछि योगमायाले अभियान नै सञ्चालन गरेकी थिइन् ।

सतिप्रथा, छुवाछुत प्रथा अन्त्यको लागि नारा लगाउँदै वि.स.१९९८ साल असार २२ गते अरुण नदीमा योगमायासहित ६८ जनाले जलसमाधी लिएका थिए । उनीहरुले समाधी लिएको ठाउँ षडानन्द नगरपालिका–६ मझुवाबेसीमा पर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

epaper

ताजा समाचार

कृषि यान्त्रिकीकरणमा जोड, किसानलाई मिनी टिलरदेखि प्लास्टिक टनेलसम्म