काठमाडौं । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले निर्वाचनमा पराजयपछि नैतिकताका आधारमा दिएको राजीनामा अस्वीकृत हुने भएको छ । शुक्रबार (आज) बस्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उनको राजीनामा अस्वीकृत गर्ने भएको हो । ललितपुर सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा शुक्रबार बैठक बोलाइएको छ ।
दिन्छु भन्दा सदस्यले रोके, दिएपछि उपसभापतिले रोक
थापाले दिएको राजीनामालाई उपसभापति विश्वप्रकाश शर्माले बिहीबार रोकेर केन्द्रीय समिति बैठकबाट निर्णय गराएर अस्वीकृत गर्ने रणनीति बनाएका छन् । थापाको राजीनामापछि बिहीबार नै कांग्रेस उपसभापति शर्माले ‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत नहुने’ टिप्पणी गरेका छन् । थापाको राजीनामाको विपक्षमा उभिएका उपसभापति शर्माले ‘नैतिक जिम्मा लिन्छु’ भन्नु सकारात्मक भए पनि अहिलेको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने भएको जनाएका छन् ।
बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने उनले जानकारी दिए । उपसभापति पुष्पा भुसालले सभापति थापाको राजीनामाको पक्षमा देश नै नभएको जनाइन् । आफूहरूमात्रै नभई देशैले सभापतिको राजीनामा नचाहेको उनको कथन छ । चुनावपछि नैतिकता आधार दिए पनि पार्टीलाई पार लगाउन सभापति थापाको विकल्प नभएको उनले जनाइन् ।
‘यस्तो अवस्थामा राजीनामा दिनु ठिक नभएको’ भन्दै उनले ‘अहिले पार्टीको नेतृत्व सम्हाल्दै पार्टीलाई अगाडी बढाउनुपर्ने’ आवश्यकता औंल्याइन् । यता, कांग्रेस पूर्वसभापति शेरबहादुर देउवानिकटका नेताले भने थापाको राजीनामाको औचित्य नरहेको टिप्पणी गरेका छन् । देउवानिकट नेता प्रकाशशरण महतले विशेष महाधिवेशनमा सबै पक्षको सहभागिता नै नभएकाले एकजनाले राजीनामा दिने अनि अर्कोले जिम्मेवारी लिएरमात्रै पार्टीको समस्या समाधान नहुने बताए ।
उनले नियमित महाधिवेशनका लागि सबैलाई मान्य हुने साझा सूत्र खोजी गर्नुपर्नेमा जोड दिए । कांग्रेसको अहिलेको विवाद समाधान गर्ने एकमात्र विकल्प पार्टीको नियमित महाधिवेशन भएको उनको जिकिर छ । थापा आफैं सर्लाही क्षेत्र नम्बर–४ मा पराजित भएका छन् भने कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिटमात्रै जितेको छ । कांग्रेसले यसअघि नै सबै क्षेत्रमा परिपत्र गरेर निर्वाचन पराजय भएको कारण खुलाएर पत्र पठाउन भनेको छ । पराजय भएको र निर्वाचित भएको दुवैतर्फबाट कारण खुलाएर पत्र पठाउन भनिएको हो ।
टसमस छैनन् कम्युनिस्ट नेतृत्व
पराजयको जिम्मेवारी लिँदै नैतिकताका आधारमा कांग्रेस सभापति थापाले राजीनामा दिए पनि कम्युनिस्ट पार्टीभित्र यो बहस नै सेलाएको छ । निर्वाचनमा कांग्रेसको मात्रै नभई कम्युनिस्ट पार्टीका नेताहरूले समेत लज्जास्पद हार व्यहोरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व राजीनामा नदिने अडानबाट टसमस नभएपछि बहस सेलाउँदै जान थालेको छ ।
अध्यक्ष ओलीलाई पितृशोकमा रहेकाले कांग्रेसजस्तो चर्को बहस एमालेमा छैन । यद्यपि, नेतृत्वले विकल्प दिनुपर्ने आवाज भने उठिरहेको छ । एमालेमा नेताहरू योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रचना खड्का, उषाकिरण तिमिल्सिनालगायतकाले नेतृत्वमाथि प्रश्न उठाउँदै राजीनामा दिनुपर्नेमा जोड दिए पनि उनीहरू बिस्तारै चुप लाग्न थालका छन् ।
कांग्रेस र एमालेभित्र पराजयको जिम्मेवारी लिँदै राजीनामा विषयमा बहस हु ँदै गर्दा नेकपामा त बहससमेत भएको छैन । नेकपाको २५ सय सदस्यीय केन्द्रीय समिति छ । तर, सबै केन्द्रीय सदस्य ‘मौन’ छन् ।
मधेशवादी पनि मौन
यता, मधेशवादी दलमा नेतृत्वले राजीनामा दिनुपर्ने विषय नै प्रवेश भएको छैन । २०४८ सालदेखि संसद् मा सहभागी हुँदै आएका मधेशवादी दल यसपटकको निर्वाचनमा शून्य भएका छन् । मधेशवादी दलका सबै नेताले निर्वाचनमा लज्जास्पद हार व्यहोरेका छन् । तर उनीहरू नैतिकताका आधारमा नेतृत्वबाट राजीनामा दिन तयार छैनन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)का संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहितका नेता राजीनामा दिन तयार छैनन् ।






