एक महिनामा आमाको नामबाट ३३ जनाले लिए नागरिकता

वीरगन्ज । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशन भएलगत्तै पर्सामा आमाको नामको आधारमा पनि नागरिकता वितरण सुरु भएको छ । ०८२ फागुन ५ गतेदेखि चैत ६ गतेसम्म आमाको नामका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले ३३ वटा नागरिकता जारी गरेको पाइएको हो ।

नेपाल नागरिकता ऐन चौथो संशोधन नियमावली २०८२ आएसँगै बुबाको पहिचान नखुलेका सन्तानको हकमा आमाको नामको आधारमा पनि उमेर पुगेका सन्तानले नागरिकता पाउन थालेको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । पर्सामा यो कानूनी प्रकृया आधिकारिक भएपछि एक महिनाको अन्तरालमा ३३ वटा नागरिकता जारी भइसकेको उनको भनाइ छ ।

तोकिएको कागजात र मापदण्ड पुगेका नागरिकलाई गएको फागुन ५ गतेदेखि आमाको नामबाट पनि नागरिकता दिन थालिएको जिल्ला प्रशासन कार्यालय, पर्साले पुष्टि गरेको हो । नेपाल नागरिकता नियमावली, २०८२ ले तोकेको मापदण्ड अनुसार उमेर पुगेका नागरिकलाई नागरिकता दिन थालेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले पनि बताए । नागरिकता विहीन हुँदा आफ्नो अधिकारबाट वञ्चित भएको महसुस गर्ने र कतिपय युवा, युवतीहरुले व्यापार व्यवसाय र उच्च शिक्षा हासिल गर्नमा पनि समस्या भइरहेको गुनासोलाई कानूनी व्यवधान सहज भएपछि यस्ता नागरिकलाई राहत मिलेको उनको भनाइ छ ।

पर्सामा आमाको नागरिकता लिने मध्ये वीरगन्ज महानगरपालिका वडा नं.–११ का विजयकुमार साहले लामो प्रतिक्षा पछि नागरिकता पाउँदा वैधानिक रुपमा धेरै कामकाज गर्न राहत मिलेको बताए । त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नं.–१३ का जुबैर अन्सारीले पनि अहिले आमाको नामबाट नागरिकता पाएपछि हर्षित भएको बताए । उनीहरु दुबैजना जिल्ला प्रशासन कार्यालय पर्साबाट आमाको नामको आधारमा नागरिकता प्राप्त गरिसकेका ३३ जना भित्रका युवाहरु हुन् । नागरिकता बनाउनका लागि निकै कठिन यात्रा पार गरेको उनीहरुको विगत सम्झिए । बल्ल आमाको नामको आधारबाट नागरिकता पाएपछि पीडाबाट मुक्ति पाइएको उनीहरुले तर्क गरे ।

आमाकै नामका आधारमा नागरिकता पाएपछि अहिले राहत मिलेको महसुस भयो साह र अन्सारीले भने । पर्सामा आमाको नामको आधारमा नागरिकता प्राप्त गर्ने साह र अन्सारी गरी कुल ३३ जनाले त एक महिनामा नै नागरिकता बनाइसकेको जिल्ला प्रशासन कार्यालय पर्साको तथ्याँकले पुष्टि गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

epaper

ताजा समाचार

करार कर्मचारी हटाउने तयारीको विरोधमा मन्त्रालयको गेटमा धर्ना