नियमित रूपमा २०८४ सालमा हुनुपर्ने आमनिर्वाचन २१ फगुन २०८२ बिहीबार सम्पन्न भयो, यसहिसाबले यसलाई ‘मध्यावधि निर्वाचन’ भन्दाखेरि फरक नपर्ला ! नेपाली जनताले एक्तर्फी रूपमा लगभग ४ वर्षअघि गठन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई अत्यधिक बहुमत अर्थात् प्रत्यक्षको १६५ सिटमा १२५ र समानुतातिकको ११० सिटमा ५७ सिट गरी कुल (दुई सिट कम दुईतिहाई) १८२ सिट दिएर जिताएका छन् ।
नेपाली कांग्रेसलाई प्रत्यक्षलाई प्रत्यक्षमा १८ सिट र समानुपातिकमा २० गरेर ३८ सिट प्राप्त भएको छ । यो सिट संख्यालाई ठीकठीकै मान्नुपर्छ । निर्वाचनअघि सके बहुमत, नभए सबैभन्दा धेरै सिट जितेर पहिलो राजनीतिक पार्टी हुने भनेर दावी गरेको नेकपा (एमाले)ले यस निर्वाचनमा प्रत्यक्षमा ९ सिट अनि समानुपातिकमा १६ सिट गरेर कुल २५ सिट जितेको छ ।
त्यस्तै, निर्वाचनअघि तत्कालीन नेकपा (माके), नेकपा (एस) आदिलाई विघठन÷विलय गरेर एवंप्रकारले अन्य २७ पार्टी ‘मर्ज’ गरेर गठित नेपाली कम्युनिस्ट पार्टी नेकपा)लेप्रत्यक्ष्यमा ८ सिट र समानुपातिकमा ९ सिट गरी कुल १७ सिटमात्रै पाएको छ । साथै, ठूलो उत्साह लिएर ‘सर्व धर्म (हिन्दु, किरात र बौद्ध धर्म)’ र ‘संवैधानिकराजतन्त्र’को पुरानै नारा लिएर निर्वाचनमा भाग लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रत्यक्षमा १ सिट र समानुपातिकमा ४ सिटमात्रै जितेको छ ।
बरु, ‘श्रम संस्कृति’को आकर्षक नारा दिएर निर्वाचन हुनुभन्दा लगभग तीन महिनाअघि मात्रै गठन गरिएको श्रम संस्कृति पार्टीलाई प्रत्यक्षमा ३ सिट र समानुपातिकमा ४ सिट कब्जा गरेको छ । तर यो निर्वाचनमा मधेशको प्रमुख राजनीतिक पार्टी दावी गर्ने र पछिल्लोपटक नाम फेरेर एकीकरणसहित निर्वातचनमा होमिएको जनता समाजवादी (जसपा)लाई जनताले न प्रत्यक्षमा १ सिट जिताए, न त समानुपातिकमा नै एक सिट दिलाए ।
मधेशका राजनीतिक पार्टी यसपालि नेपाली जनताको स्वतःस्फूर्त बहिस्कारमा परेको भान हुन्छ ! दुई पार्टी मिलेर एक बनेको जसपाले समानुपातिकमा १ लाख ८२ हजार २८५ मत ल्याउन सक्यो । यो भनेको १.०७ प्रतिशत लोकप्रिय मतमात्रै हो ।
यसैगरी, जनमत पार्टीले पनि ७९ हजार ४ सय ३५ मतमात्रै ल्याउन सक्यो । उता, त्यसो त अन्य पार्टीसँग समेत मिलेर ‘जाँतो’ निर्वाचन चिह्न लिएर समानुपातिकमा उठ्दा पनि ६२ हजार ६९ मतमात्र ल्याउन सक्यो । हुन पनि यसपटक मधेशका ‘मसिहा’ ठानिएका वा आफूलाई मधेशको ‘मसिहा’ ठान्ने मधेशी राजनीतिक दलहरू जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल सद्भावना पार्टी, सार्वभौम नागरिक पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय मुक्ति पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, प्रजातान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, जनअधिकार पार्टी, आम जनता पार्टी, स्वाभिमान पार्टी, नेपाल जनता पार्टी आदि नाममा मधेशमा प्रत्यक्ष र समानुपातिकमा निर्वाचन लडेकालाई जनताले प्रत्यक्ष र समानुपातिकमा जिताएनन् ।
मधेशमा मधेशीले नै यतरी ‘शर्मनाक’ हार व्यहोर्नुमा मधेशकेन्द्रीत राजनीतिक पार्टी खोलेका मधेशी नेताका साथै मधेशवादी राजनीतिक पार्टी नै मुख्य दोषी रहेको थियो र मुख्य दोषी रहेका छन् । किन त ? किनकि यसअघि धेरथोर प्रत्यक्ष र समानुपातिकमा सिट जितेका मधेशवादी पार्टी अनि तिनका नेताले मधेशको खास मुद्दालाई ‘भाग शान्ति जय नेपाल !’ गर्ने अर्थात् सत्तामा जानलाई ‘बार्गेनिङ चिप्स’का रूपमा मात्रै प्रयोग गरे । होला, उनीहरूले सबै मुद्दा नभए पनि थेरधोर मधेशको मुद्दा समाधान पनि गरे । तर पछिल्लोपटक मधेशमा जबर्जस्त रूपमा आएको ‘बालेन्द्र साह (बालेन शाह) लहर’ले ती सबै मधेशका मुद्दा बाढीपहिरोले बगाएजस्तै भयो ।
मधेशमा मधेशीले नै यतरी ‘शर्मनाक’ हार व्यहोर्नुमा मधेशकेन्द्रीत राजनीतिक पार्टी खोलेका मधेशी नेताका साथै मधेशवादी राजनीतिक पार्टी नै मुख्य दोषी रहेको थियो र मुख्य दोषी रहेका छन् । किन त ? किनकि यसअघि धेरथोर प्रत्यक्ष र समानुपातिकमा सिट जितेका मधेशवादी पार्टी अनि तिनका नेताले मधेशको खास मुद्दालाई ‘भाग शान्ति जय नेपाल !’ गर्ने अर्थात् सत्तामा जानलाई ‘बार्गेनिङ चिप्स’का रूपमा मात्रै प्रयोग गरे । होला, उनीहरूले सबै मुद्दा नभए पनि थेरधोर मधेशको मुद्दा समाधान पनि गरे । तर पछिल्लोपटक मधेशमा जबर्जस्त रूपमा आएको ‘बालेन्द्र साह (बालेन शाह) लहर’ले ती सबै मधेशका मुद्दा बाढीपहिरोले बगाएजस्तै भयो ।
स्मरणीय के छ भने २०६२÷०६३ सालको राजनीतिक परिवर्तनपछि मधेशमा गठन गरिएको र २०६४ सालमा भएको पहिलो संविधानसाभा निर्वाचनमा राम्रै सिट ल्याएको राजनीतिक पार्टी तत्कालीन मधेशी जनअधिकार फोरम (मजफो) र तराई मधेश लोक्तान्त्रिक पार्टी (तमलोपा)को नाममा पछिल्लोपटक राजनीति गरिरहेको उपेन्द्र यादव एवं महन्त ठाकुरको राजनीतिक पार्टीलाई निर्वाचनअघि हत्त न पत्त मधेशी मूलका नेताले एक बनाएर गठन गरेको जनता समाजवादी पार्टीले समेत न प्रत्यक्षमा १ सिट जित्न सक्यो, न त समानुपातिकमा ३ प्रतिशत कटाउन सक्यो । राष्ट्रिय मुक्ति, पार्टी, जनमत पार्टी, नेपाली जनता दल, नेपाली जनता पार्टी, राष्ट्रिय जनता पार्टी, नेपाल सद्भावना पार्टी, आम जनता पार्टी, सार्वभौम नागरिक पार्टी, नेपाल लोक्तान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, बहुजन शक्ति पार्टीलगायत मधेशी राजजनीतिक दलको के कुरो गराई भयो र ? जबकि कि निर्वाचनअघि ती मधेशकेन्द्रीत राजनीतिक पार्टीका मुखियाले ‘मधेशमा राम्रै सिट ल्याएर प्रत्यक्षमा जित्ने’ दावी गरेका थिए । त्यस्तै, समानुपातिकमा पनि राम्रै मत ल्याउने बताए ।
खास कुरो के हो भने निर्वाचनअघि मधेशी मोर्चा गठन गरेका जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनमत पार्टी, आम जनता पार्टी अनि नागरिक उन्मुक्ति पार्टीका नेताले गत २९ फागुनमा जनता समाजजवादी पार्टीका संरक्षक महन्त ठाकुरको अध्यक्षतामा बसेको औपचारिक बैठकले ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा क्षेत्र नम्बर–५ बाट बालेन्द्र शाह उम्मेदवार भएर निर्वाचन जितेकोमा एवं उनी नेपालका प्रधानमन्त्री हुन लागेकोमा लामो समयदेखि संघर्षरत मधेशी, थारु, आदिवासी जनजातिलगायत उत्पीडित समुदायका लागि हर्षको विषय भएको’ निष्कर्ष निकाल्यो । तर, मधेशमा खासगरी अहिलेका मधेशवादी पार्टीभन्दा पहिले अर्थात् २००८ सालमै मधेश–तराईको जनताका लागि राजनीतिक संघर्ष सुरु गरेका वेदानन्द झाले आफूसँगै श्यामलाल मिश्र, रामजनम तिवारी, कुलानन्द झालगायत मिलेर ‘तराई कांग्रेस’ गठन गरेका थिए । स्मरणीय छ कि सो पार्टीले २०१५ सालमा भएको आमनिर्वाचनमा २१ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको थियो ।
तराई कांग्रेसका नेता वेदानन्द झाले चाहिँ निर्वाचन क्षेत्र नम्बर–३९ अर्थात् सिराहा जिल्लाबाट उम्मेदवारी दिएका थिए । तर, उनले त्यो निर्वाचनमा केवल चौथो स्थान ल्याउन सके । त्यसो भए पनि तराई कांग्रेस पार्टीले त्यसबेला ३६ हजार १ सय ७ मत प्राप्त गरेको थियो । हुन पनि त्यसेला समग्र नेपालभरि नै अशिक्षा, गरिबी र चेतना धेरै नै कमी रहेको समय थियो । आजको जस्तो सूचना, प्रविधि र सञ्चारले उखरमाउलै ढंगले क्रान्ति गरेको भनिएको समयमा त कतिपय मतदाता पार्टी र उम्मेदवार हेरेर अनि आफ्नो स्वविवेक प्रयोग गरेरभन्दा पनि पैसो, चामलको बोरा, दाल, मासुभात र जाँडरक्सीमा आफ्नो मत बेच्छन्, खसाल्छन् भन्ने भाष्य स्थापित भएको देखिन्छ भने ऊबेलाको जमानामा के हुन्थ्यो, कसो हुन्थ्यो, खै के भनौं र ? यसमा सहजै आकलन गर्न सकिन्छ ।
त्यस्तै, मधेशमा अहिलेका मधेशवादी पार्टीभन्दा पहिले दोस्रोपटक २०४२ सालतिरै ‘नेपाल सदभावना पार्टी’ नामक दोस्रो राजनीतिक पार्टी खुलेको थियो । जुन राजनीतिक पार्टी सुरुमै राजनीतिक पार्टीका रूपमा नभएर ‘नेपाल सद्भावना परिषद्’ भनेर सामाजिक संस्थाजस्तो देखिनेगरी नाम दिइएको थियो, पञ्चायती शासकको कुदृष्टि वा भनौं गिद्दे नजरबाट बच्न ।
जे होस्, नेपाल सद्भावना पार्टी सुरुका संस्थापक गजेन्द्र नारायण सिंह, अध्यक्ष रामकुमार महतो र महासचिव पवनकुमार साह रहेका थिए । सो राजनीकि पार्टीले २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ सालमा भएको आमनिर्वाचनमा ६ सिट जितेको थियो भने २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा भने आधा सिट घटेर ३ सिटमै चित्त बुझाउनुपरेको थियो ।
त्यसैले २१ फागुन २०८२ मा अपेक्षा गरिएभन्दा शान्तिपूर्ण रूपमा सम्पन्न मध्यावधि निर्वाचनमा मधेशकेन्द्रित राजनीतिक पार्टीको जुन मोर्चा ‘संघीय लोक्तान्त्रिक मोर्चा’ थियो, त्यस मोर्चाका नेताले नराम्रो हार व्यहोरिसकेपछि आफ्नो ‘लाज’ ढाक्न बालेन्द्र शाह ‘नेपालको इतिहासमा पहिलोपटक मधेशी प्रधानमन्त्री हुन लागेकोमा आफूहरू खुसी भएको’ जनाउ दिँदै शाहलाई बधाइदिए ।
हुन पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुईतिहाईनजिक विजय हासिल गरेको छ । अबको केही दिनमै बालेन्द्र शाह नेपालको इतिहासमा पहिलोपटक मधेशी मूलका प्रधानमन्त्री हुँदै छन् ।
निश्चय नै एक व्यक्ति मन्त्री, राज्यमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, न्यायाधीशलगायत पदमा पुगेरमात्रै केही हुँदैन भन्ने त हालसम्म नेपालमा नियुक्त भएका महिला प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सभामुख, उपसभामुख, प्रधानन्यायाधीश, न्यायाधीशलगायतले नेपाली महिलामा ‘के–कति फेरबदल ल्यायो ?, महिलामा के–कति उन्नतति र प्रगति भयो त ? भन्ने सम्बन्धमा हामीले कसैसँग ‘अतिशय अनुराग र द्वेष नराखिकन’ समीक्षा गर्नुपर्ने हुन्छ ।
अहिलेसम्म केही मधेशी मूलका नेता राष्ट्रपति, उपराष्ट्रपति, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री प्रदेश प्रमुख आदि भइसकेका छन् । तापनि समग्र नेपालको तुलनामा मधेशी जनता नै अलि बढी गरिबी र अशिक्षामा बाँचिरहेका रहेछन् ? त्यस्तो किन भयो ? यस सम्बन्धमा चाहिँ मधेशी मूलका राजनीतिक पार्टी र तिनका नेताले कहिल्यै सोचे त ? प्रश्न गर्ने छुट छ भने यति प्रश्नचाहिँ गर्नैपर्ने हुन्छ ।
(लेखकको यो निजी विचार हो)






