संक्रमण तीव्र भेन्टिलेटर र आईसीयू अत्यन्तै कम

सुर्खेतस्थित कालागाउँमा रहेको कोरोना अस्पताल ।

काठमाडौं । कोरोना भाइरस संक्रमण भई जटिल अवस्थामा पुग्ने बिरामीका लागि अत्यावश्यक मानिएको भेन्टिलेटर र आईसीयू बेडको संख्या निकै न्यून मात्रामा हुँदा थप जोखिम बढेको छ । कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गए पनि भेन्टिलेटर र आईसीयूको संख्या विस्तारमा सरकारी निकायले पर्याप्त ध्यान नदिँदा यो अवस्था आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार ५ सय ९५ आईसीयू बेड (सघन उपचार कक्ष) र ८ सय ४० भेन्टिलेटर छन् । संक्रमितहरू जटिल अवस्थामा पुगे भेन्टिलेटर अत्यावश्यक मानिन्छ । नेपालमा हालसम्म संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ । यस्तै, संक्रमितमध्ये सात जनाको मृत्यु भएको छ । तर, अधिकांश संक्रमितमा लक्षण नदेखिएकाले अहिलेसम्म भेन्टिलेटर र आईसीयू जरुरत परेको छैन । यद्यपि, संक्रमण दर तीव्र बन्दै गए र जटिल प्रकृतिका संक्रमित अत्यधिक भए हाल रहेका भेन्टिलेटर र आईसीयूले धान्न नसक्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

– जटिल प्रकृतिका संक्रमित थपिँदै गए धान्न नसक्ने अवस्था
– एकै दिन थपिए १ सय ८९ संक्रमित
– अस्थायी अस्पताल खडा गर्ने योजना बोलीमै सीमित
– कोरोना रोकथाम गर्न बनेका समितिहरू निष्क्रिय

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले सरकारले पर्याप्त मात्रामा पूर्वतयारी नगरेको बताए । उनले भने, ‘पर्याप्त मात्रामा भेन्टिलेटर र आईसीयू बेड तयारी अवस्थामा राख्नुपर्ने थियो । धेरै जसो अस्पताल भेन्टिलेटरविहीन छन् । तर, सरकारले भेन्टिलेटर जडानमा कुनै चासो दिएको जस्तो लाग्दैन ।’ स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गए लक्षण नभएका सामान्य प्रकृतिका बिरामीलाई घरमै सेल्फ आइसोलेसनमा बस्न आग्रह गरिने बताए ।

उनले भने, ‘संक्रमितको संख्या बढ्दै गए लक्षण देखिएका र जटिल प्रकृतिका बिरामीलाई मात्रै अस्पतालमा भर्ना गर्ने व्यवस्था मिलाउँदै छौं । लक्षणविहीनलाई घर वा क्वारेन्टिनमा बस्न आग्रह गर्छौं ।’ सय जना संक्रमित भए तीन जनालाई अस्पताल भर्ना गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले आँकलन गरेको छ । १ लाख जना संक्रमित हुँदासम्म धान्न सक्ने अवस्था रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । स्वास्थ्य मन्त्रालयले संक्रमण दर अत्यधिक बढ्दै गए अस्थायी अस्पतालहरू बनाउनुपर्ने भन्दै आए पनि सरकारले यसका लागि स्पष्ट योजना ल्याउन सकेको छैन ।

सामान्य लक्षण भएका संक्रमितहरू घरमै आइसोलेसनमा बसेर निको हुने चिकित्सकको भनाइ छ । भेन्टिलेटर पर्याप्त मात्रामा नहुँदा जटिल प्रकृतिका संक्रमितलाई व्यवस्थापन सन्दर्भमा सरकारले ठोस योजना अघि सारेको छैन । स्वास्थ्य मन्त्रालयले कम्तिमा ५ लाख ४८ हजार क्वारेन्टिनको संस्थागत विकास गर्नुपर्ने बताएको छ । हाल ५३ हजार ८ सय २३ वटा क्वारेन्टिन छन् । अधिकांश क्वारेन्टिन अव्यवस्थित र मापदण्ड नपुगेका छन् ।

यस्तै, सरकारले बनाएका विभिन्न समिति निष्प्रभावी देखिएको छ । कोरोना रोकथामका लागि गठन भएका अधिकांश समिति प्रभावकारी नहुँदा लकडाउन लम्ब्याइए पनि संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । सरकारले बनाएको समिति र स्वास्थ्य मन्त्रालयअन्तर्गत बनेका समितिहरूले प्रभावकारी तवरले काम नगर्दा संक्रमण रोकथाम र नियन्त्रणमा सकस बन्दै गएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत बनेका समितिहरूले निर्देशिका तयार पारे पनि ती निर्देेशिका कार्यान्वयनको अवस्था’bout समितिले कुनै चासो नदेखाएको पाइएको छ । यस्तै, सिमा नाकाहरूमा कोरोना परीक्षण फितलो बन्दै गएको छ ।

यसैबीच, शनिबार थप १ सय ८९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ८९ जनामा कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ५३ जिल्लामा नयाँ संक्रमित थपिएका हुन् ।
संक्रमण देखिएकामध्ये २ सय १९ जना उपचारपछि निको भइसकेका छन् । हालसम्म ६६ हजार ७ सय २९ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । देशभर १ हजार १ सय ७६ जना आइसोलेसनमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग