दैलेख । भैरवी गाउँपालिका –३ को देउती आधारभुत क्वारेन्टाईनमा राखिएका चार जनामा आरडीटी पोजेटिभ देखिएपछि क्वारेन्टाईनबाट भैसी बाँध्ने गोठमा सारिएको छ । -यापिड डायग्नोस्टिक टेस्ट पोजेटिभ देखिएपछि देउती आधारभुत क्वारेन्टाईनमा रहेका चार जनालाई शनिवारनै भैसी गोठमा सारिएको हो । १० दिनअघि चारैजना भारतबाट गाउँ फर्किएका थिए ।
आरडीटी परीक्षणका क्रममा क्वारेन्टिनमा राखिएका मध्ये चार जनाको रिपोर्ट पोजेटिभ देखिएपछि प्रहरी ल्याएर उनीहरुलाई स्कुल नजिकैको व्यक्तिको भैंसी गोठमा लगेर राखिएको स्थानीयबासी बताउँछन् । भैंसी गोठमा राखिएकाहरुलाई गाउँपालिकाले ओछ्याउनका लागि पि–फर्म मात्रै दिएको छ । गाउँपालिका अध्यक्ष प्रेम बुढाले आरडीटी पोजेटिभ देखिएपछि उनीहरुलाई क्वारेन्टिनबाट निकालेर गोठमा राखिएको बताए । ‘क्वारेन्टिनमा रहेका अरुलाई पनि कोरोना सर्न सक्ने भएकाले स्कुल नजिकैको व्यक्तिको भैंसी गोठमा राखेका हौं,’ अध्यक्ष बुढाले भने, ।
गाउँपालिकाले आरडीटी पोजेटिभ आएका नागरिकहरुलाई भैंसी बाँध्ने गोठमा राखेको भन्दै सामाजिक सञ्जालमा बिरोध भइरहेको छ । गोठमा राखिएदेखि उनीहरुको स्वास्थ्य अवस्था बुझ्न पनि कोही नगएको एक स्थानीयले बताए ।





