काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा जारी छ । नयाँ नेतृत्व चयनका लागि भइरहेको महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूह सहभागी छैन । देउवा समूहले समानान्तर महाधिवेशनको तयारी गरिरहेका बेला कांग्रेसको वर्तमान विवादले पार्टीको झण्डै आठ दशक लामो ‘फुट्दै–जुट्दै’ आएको इतिहासलाई फेरि चर्चामा ल्याएको छ ।
कांग्रेसको इतिहास हेर्दा पार्टी स्थापनादेखि नै नेतृत्व, सरकार सञ्चालन, राजनीतिक कार्यदिशा र संगठन सञ्चालनका विषयमा विवाद हुँदै आएका छन् । यी विवादमध्ये केही सामान्य गुटगत संघर्षमा सीमित भए भने केहीले पार्टीलाई औपचारिक विभाजनसम्म पु¥याए ।
हालसम्म कांग्रेसले ठूला राजनीतिक प्रभाव पार्ने तीनवटा विभाजन बेहोरेको देखिन्छ । पहिलो बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीचको टकरावपछि, दोस्रो गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीचको संघर्षपछि र तेस्रो पछिल्लो गगन थापा–शेरबहादुर देउवा नेतृत्व विवाद चर्चामा छ ।
कांग्रेसको मूल आधार भने दुई फरक राजनीतिक संगठनको एकताबाट बनेको हो । २००३ सालमा बीपी कोइरालालगायत नेताहरूको पहलमा नेपाली राष्ट्रिय कांग्रेस गठन भयो । त्यसपछि सुवर्णशमशेर राणालगायतको पहलमा २००५ सालमा नेपाल प्रजातन्त्र कांग्रेस गठन भयो ।
राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापना गर्ने साझा उद्देश्य बोकेका यी दुई संगठनबीच एकीकरणको प्रक्रिया अघि बढ्यो । अन्ततः २७ चैत, २००६ मा कलकत्ताको टाइगर सिनेमा हलमा भएको सम्मेलनबाट नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भयो र ‘नेपाली कांग्रेस’ नामको नयाँ पार्टी अस्तित्वमा आयो ।
यसरी कांग्रेसको इतिहासको सुरुवात नै एकताबाट भएको थियो । तर एकीकरण भएको केही वर्षमै पार्टीभित्र नेतृत्व र सरकार सञ्चालनको विषयमा गम्भीर मतभेद देखिन थाल्यो ।
पहिलो विभाजन : बीपी–मातृका संघर्ष
२००७ सालमा राणा शासनको अन्त्य भएपछि कांग्रेस सत्तामा पुग्यो । त्यसपछि पार्टी सभापति मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बने । तर पार्टीको नेतृत्व र सरकारको नेतृत्व एउटै व्यक्तिले गर्ने कि नगर्ने भन्ने प्रश्नमा मातृका र उनका भाइ बीपी कोइरालाबीच मतभेद बढ्दै गयो ।
२००९ सालमा बीपी कोइराला कांग्रेस सभापति निर्वाचित भएपछि पनि सरकार सञ्चालनको विषयमा विवाद कायमै रह्यो । कांग्रेसले मातृकासहित सरकारमा रहेका केही मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो । निर्देशन नमानेपछि मातृका पक्षमाथि कारबाही भयो र अन्ततः उनी कांग्रेसबाट अलग भए ।
२१ भदौ, २००९ मा मातृकाको नेतृत्वमा छुट्टै कांग्रेस तदर्थ समिति गठन भयो । त्यसपछि २०१० सालमा उनले ‘राष्ट्रिय प्रजा पार्टी’ गठन गरे । यसलाई कांग्रेस इतिहासको पहिलो ठूलो औपचारिक विभाजनका रूपमा लिइन्छ ।
त्यसपछि पनि कांग्रेसभित्र साना–ठूला चोइटाहरू देखिए । भद्रकाली मिश्रलगायत नेताहरूले अलग संगठन निर्माण गरे भने अन्य नेताहरूले पनि छुट्टाछुट्टै राजनीतिक धार अघि बढाए । तर यीमध्ये धेरै विभाजन दीर्घकालीन रूपमा प्रभावशाली रहन सकेनन् ।
१ पुस, २०१७ मा राजा महेन्द्र शाहले निर्वाचित बीपी कोइराला सरकार अपदस्थ गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाएपछि कांग्रेसको औपचारिक संगठनात्मक गतिविधि लामो समय प्रभावित भयो ।
त्यसपछि कांग्रेसको मुख्य संघर्ष नै पञ्चायती व्यवस्थाविरुद्ध केन्द्रित भयो । २०१८ सालमा सशस्त्र संघर्षदेखि २०३६ सालको जनमतसंग्रह र अन्ततः २०४६ सालको जनआन्दोलनसम्म कांग्रेसले विभिन्न चरणमा राजनीतिक संघर्ष अघि बढायो । २०४६ सालको आन्दोलनपछि बहुदलीय व्यवस्था पुनःस्थापित भयो ।
बहुदलपछि पनि रोकिएन आन्तरिक संघर्ष
२०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले बहुमत पाएपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भयो । तर पार्टीभित्रको विवाद र संसदीय दलभित्रको मतभेदका कारण सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्न सकेन । २०५१ सालमा मध्यावधि निर्वाचन भयो ।
२०५६ सालको निर्वाचनमा कांग्रेस पुनः बहुमतमा फर्कियो । तर त्यसपछि माओवादी सशस्त्र द्वन्द्व, दरबार हत्याकाण्ड, राजसंस्थाको सक्रियता र सरकार सञ्चालनका विषयले कांग्रेसभित्र नयाँ किसिमको शक्ति संघर्ष जन्मायो ।
दोस्रो ठूलो विभाजन : गिरिजा–देउवा टकराव
कांग्रेसको इतिहासमा दोस्रो ठूलो औपचारिक विभाजन २०५९ सालमा भयो । त्यसबेला गिरिजाप्रसाद कोइराला पार्टी सभापति थिए भने शेरबहादुर देउवा प्रधानमन्त्री भए ।
माओवादी सशस्त्र द्वन्द्वका बीच संकटकाल लम्ब्याउने, प्रतिनिधिसभा विघटन गर्ने र मध्यावधि निर्वाचनमा जाने विषयमा देउवा र पार्टी सभापति कोइरालाबीच विवाद चर्कियो । देउवाले ८ जेठ, २०५९ मा प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रको संघर्ष थप गहिरियो । कांग्रेसले देउवालाई पार्टीबाट निष्कासन गरेपछि २०५९ असारमा देउवाले ‘नेपाली कांग्रेस (प्रजातान्त्रिक)’ गठन गरे ।
त्यसपछि केही वर्ष कांग्रेस दुई छुट्टाछुट्टै संगठनका रूपमा अघि बढ्यो । मूल कांग्रेसको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरे भने नेपाली कांग्रेस (प्रजातान्त्रिक)को नेतृत्व शेरबहादुर देउवाले गरे ।
२०६४ मा फेरि एकीकरण
दुई कांग्रेसबीचको विभाजन लामो समय टिकेन । राजनीतिक परिस्थिति परिवर्तन हुँदै गएपछि दुवै पक्ष पुनः एक ठाउँमा आउने वातावरण बन्यो । अन्ततः ८ असोज, २०६४ मा नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक)बीच एकीकरण भयो । एकीकृत कांग्रेसमा शेरबहादुर देउवा पुनः मूल पार्टीमा फर्किए । त्यसपछि उनी १३औँ र १४औँ महाधिवेशनबाट लगातार दुईपटक पार्टी सभापति निर्वाचित भए ।
तेस्रो विभाजन : देउवा–थापा विवाद
कांग्रेसको पछिल्लो संकट भने २०८२ सालमा विकसित भयो । जेनजी आन्दोलनपछि पार्टीको नेतृत्व र संगठन सुधारको विषयमा विवाद चर्कियो । गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितको पक्षले विशेष महाधिवेशनको माग अघि बढायो ।
२७ देखि २९ पुस २०८२ मा भएको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भए । त्यसपछि निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको थियो । सर्वोच्च अदालतले पनि त्यससम्बन्धी निर्णय सदर गरेको भए पनि हाल सर्वोचच अदालतमै मुद्दा पुनरावलोकनको अवस्थामा विचाराधीन छ ।
देउवा पक्षले भने विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै त्यसलाई स्वीकार गरेको छैन । यही विवादका कारण अहिले कांग्रेसभित्र दुई अलग महाधिवेशन प्रक्रियासमेत देखिएको छ । थापा नेतृत्वको पक्षले १५औँ महाधिवेशन काठमाडौंमा आयोजना गरिरहेको छ भने देउवा समूहले छुट्टै समानान्तर महाधिवेशनको तयारी अघि बढाएको छ । देउवा समूहको केन्द्रीय महाधिवेशन २१ देसख २३ मंसिर २०८३सम्म हुँदैछ ।
कांग्रेसको ‘फुट–जुट’ यात्रा
कांग्रेसको इतिहासलाई हेर्दा पार्टीमा भएका ठूला विभाजनको कारण फरक–फरक भए पनि एउटा समान पक्ष देखिन्छ—विभाजन स्थायी बनेनन् ।
२००६ सालमा दुई संगठनको एकताबाट बनेको कांग्रेस २००९ सालमा पहिलोपटक विभाजित भयो । त्यसपछि विभिन्न समूह र धारमा आन्तरिक चोइटाहरू देखिए । २०५९ सालमा देउवाको नेतृत्वमा दोस्रो ठूलो विभाजन भयो र पाँच वर्षपछि २०६४ सालमा पुनः एकता भयो । अहिले २०८२–८३ सालमा देउवा र थापा नेतृत्वको विवादले कांग्रेसलाई तेस्रो ठूलो विभाजनको अवस्थामा पु¥याएको छ ।
यसबीच कांग्रेसले बीपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा हुँदै अहिले गगनकुमार थापाको नेतृत्वसम्मको यात्रा तय गरेको छ ।
तर अहिलेको अवस्था विगतभन्दा फरक छ । विगतका दुई ठूला विभाजनपछि कांग्रेस पुनः एकीकृत भएको थियो । तेस्रो विभाजनका रूपमा देखिएको वर्तमान विवाद भने अझै अन्तिम निष्कर्षमा पुगेको छैन । एकातर्फ १५औँ महाधिवेशन चलिरहेको छ, अर्कोतर्फ देउवा समूह समानान्तर महाधिवेशनको तयारीमा छ र नेतृत्वको वैधानिकतासम्बन्धी विवाद पनि अदालतमा विचाराधीन छ ।
त्यसैले कांग्रेसको आठ दशक लामो इतिहासमा अहिलेको सबैभन्दा ठूलो प्रश्न केवल नयाँ नेतृत्व को बन्छ भन्ने होइन, विभाजित दुई धार फेरि एउटै कांग्रेसभित्र कसरी समेटिन्छन् भन्ने पनि हो । विगतले विभाजनपछि एकताको बाटो देखाएको छ; तर वर्तमान विवादको अन्तिम राजनीतिक र कानुनी निकास के हुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।
आज मतदान जारी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम लम्बिएसँगै आज (शुक्रवार) मतदान हुँदैछ । सभापतिमा गगन थापालाई सर्वसम्मत गराउने प्रयासका कारण बिहीबार गर्ने भनिएको चुनाव एक दिन धकेलिएको हो ।
तर कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार जारी गरेको सूचनामा भने मतपत्र छपाइमा केही ढिलाइ भएपछि निर्धारित समयमा निर्वाचन प्रक्रिया सुरु गर्न नसकिएको हो ।
निर्वाचन समितिका अनुसार अहिले आवश्यक सबै मतपत्र छपाइ भइसकेका छन् । मतदान प्रक्रियामा खटिने सम्पूर्ण जनशक्ति तथा मतदान केन्द्रमा आवश्यक व्यवस्थापनसमेत तयार पारिएको समितिले जनाएको छ । आवश्यकताअनुसार थप सुरक्षा प्रबन्धसमेत पूर्ण रूपमा मिलाइएको विज्ञप्तिमा उल्लेख छ ।
समितिले पार्टी नेतृत्वले निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरे पनि रातिको समयमा रातभर लगाएर निर्वाचन गराउनु उपयुक्त नहुने निष्कर्ष निकालेको जनाएको छ । विभिन्न क्षेत्रबाट प्राप्त सकारात्मक सुझाव तथा सम्भावित प्रतिकूल मौसमलाई समेत ध्यानमा राख्दै निर्वाचन कार्यक्रम संशोधन गरिएको हो ।
नयाँ कार्यतालिकाअनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ भने अपराह्न ३ बजेसम्म मतदान जारी रहनेछ । निर्धारित मतदान केन्द्रमा सम्बन्धित प्रदेश तथा भ्रातृ एवं शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका निर्वाचनका लागि मतदान गराइने समितिले जनाएको छ ।
समितिका सदस्यसचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा मतदातालाई बिहानैदेखि मतदानका लागि प्रतीक्षारत रहन आग्रह गरिएको छ ।
सम्बन्धित समाचार
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै
सत्ताको ‘तारो’मा अब व्यवस्थापिका पूर्वप्रमुख !
दीपक मनांगे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
प्रधानमन्त्री शाहको सचिवालयमा २५ जना : हेर्नुहोस् सल्लाहकार र स्वकीयको टोली
कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास
कांग्रेस महाधिवेशनमा कुल ७,११४ मतदाता (नामावलीसहित)
राठौरले उम्मेदवारी फिर्ता लिएँ, सभापतिमा गगनलाई समर्थन
कांग्रेस नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान





