काठमाडौं । गत २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पहिलो बैठक बिहीबार (आज) बस्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज २ बजेबाट संघीय संसद्को अधिवेशन सुरु हुन लागेको हो ।
प्रतिनिधिसभाको पहिलो बैठकका ८ वटा कार्यसूची तय भएका छन् । बिहीबारको बैठकबाटै सभामुख चयन प्रक्रिया सुरु हुने संसद् सचिवालयले जनाएको छ । सभामुख चयन भएपछि बल्ल उपसभामुख चयनको प्रक्रिया सुरु हुने सचिवालयको भनाइ छ ।
बुधबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच संसद्को पहिलो बैठकमै सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सहमति जुटेको छ । सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा सिंहदरबारमा बसेको दलका प्रतिनिधिको बैठकले सभामुख चयन प्रक्रिया तत्काल थाल्ने सहमति गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा सांसद कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
]सहमतिअनुसार २० गते मनोनयन र २२ गते निर्वाचनको कार्यतालिका छ । एकजनाको मात्र उम्मेदवारी दर्ता भए शुक्रबार नै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने छ । रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई सभामुखका रूपमा अघि सार्दैछ । संसदमा रास्वपाको दुईतिहाइ पुग्न २ सिट कम अर्थात् १८२ सांसद छन् ।
‘सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव पहिलो बैठकमा प्रस्तुत गर्ने, २० गते मनोनयन दर्ता गर्ने २२ गते निर्वाचन गर्ने सहमति भएको छ,’ सांसद बुर्लाकोटीले भने ।
पहिलो बैठकमा जेनजीसहित सबै आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्ने र संसदमा प्रतिनिधित्व गरेका ६ वटै दलका शीर्ष नेताले शुभकामना सम्बोधन गर्ने सहमति भएको छ । दलको बैठकपछि महासचिवको हस्ताक्षरमा तय भएको सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयले पठाएको सरकार गठन र संसद् आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यसूची छ ।
बैठकमा दलीय प्रतिनिधित्वका आधारमा शुभकामना मन्तव्यपछि गृहमन्त्री सुधन गुरुङले ३ वटा अध्यादेश पेस गर्ने कार्यसूची छ । सचिवालयका अनुसार गृहमन्त्रीले मतदाता नामावली अध्यादेश, प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश र नेपाल विशेष सेवा अध्यादेश पेस गर्नेछन् ।
प्रतिनिधिसभा भंग भएयता निधन भएका विभिन्न ५ जना सांसदप्रति शोक प्रस्ताव पारित गरेर बैठक समापन गर्ने कार्यसूची छ ।
पुरानै नियमावलीअनुसार बैठक
बैठकले मौजुदा प्रतिनिधिसभा नियमावली प्रतिस्थापन नहुँदासम्मका लागि पुरानै नियमावलीबाट प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति गरेको छ ।
यो सहमतिअनुसार पुरानै नियमावलीअनुसार बैठकको तयारी थालेको संसद् सचिवालयको भनाइ छ । दलहरूबीच छिट्टै नयाँ नियमावली मस्यौदा गरेर जाने सहमति छ ।
संसद्को कार्यव्यवस्था समिति र अध्यक्षता गर्ने सदस्यको चयन गर्ने’boutमा छलफल भए पनि ठोस निर्णय भएको छैन । बैठकमा श्रम संस्कृति पार्टीबाहेकका संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत सहभागी थिए ।






