काठमाडौं । लोक दोहोरी गायन सम्बन्धी रियालिटी सो ‘लोक दोहोरी स्टार, सिजन १’ को उपाधि गायिका निशा लामाले जितेकी छन् । काठमाडौँमा सम्पन्न ग्राण्ड फिनालेमा बाँकी प्रतिस्पर्धीलाई जितेर शीर्ष उपाधि सहित निशाले १० लाख रुपैंयाँ हासिल गरेकी छिन् । अन्तिम प्रतिस्पर्धामा मानव रावत क्षेत्री दोस्रो र लीलबहादुर गुरुङ तेस्रो बने । फाइनलमा उत्कृष्ट ८ मा परेका प्रतियोगीहरूले आ आफ्नो प्रस्तुति दिएका थिए ।
माधवराज खरेलको निर्देशनमा एभेन्टोज नेपाल र एभेन्टोज डिजिटलले आयोजना गरेको यो प्रतियोगिता विगत ६ महिनादेखि विभिन्न चरणमा आयोजना हुँदै आएको थियो । आयोजक समितिका प्रमुख तथा निर्माता डेविल सिंह राजपूतले विजेतालाई पुरस्कार प्रदान गर्दै लोक गायन क्षेत्रको प्रवर्धनको लागि यो प्रतियोगिता आयोजना गर्दै आएको बताए ।
कार्यक्रमका अन्य निर्मातामा यादव बहादुर थापा र परमानन्द चौधरी व्यवस्थापकमा शैलेश नेपाली थिए । यो प्रतियोगिताको ग्रान्ड फिनालेमा लोक दोहोरी गायक गायिकाहरू चन्द्र शर्मा, अमृत खाती, रिता थापा मगर, राजु ढकाल निर्णायक थिए ।






