काठमाडौं । इरानी क्षेप्यास्त्र निस्तेज पार्ने क्रममा खसेको टुक्राले यूएईमा ७ नेपाली घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अबुधाबी मिडिया गल्फ न्युजले जनाएको छ । घाइतेहरुको नामावली भने सार्वजनिक भएको छैन ।
आबुधाबीको अजबान क्षेत्रमा भएको यो घटना यूएईको वायुसेनाको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र र ड्रोन निस्तेज पार्नेक्रममा त्यसका टुक्राहरु उनीहरु भएको ठाउँमा खस्दा हुनपुगेको गल्फ न्युजले जनाएको छ । यो घटनामा ५ भारतीय पनि घाइते छन्् ।
अज्बान क्षेत्र अबुधाबीको अल ऐनको उत्तरतर्फ र दुबई–अल ऐन सिमाना नजिक अवस्थित छ ।
घटनापछि आपतकालीन उद्धार टोली तत्काल परिचालन भई प्रभावित क्षेत्रमा सुरक्षात्मक व्यवस्था कडा पार्नुका साथै घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको अधिकारीहरूले बताएका छन् ।
यसैबीच, आबुधाबीस्थित हब्सन ग्यास उद्योग क्षेत्रमा पनि अवशेष खस्दा आगलागी भएको र केही समयका लागि सञ्चालन रोकिएको जनाइएको छ । सो घटनामा भने मानवीय क्षति भएको छैन ।
यसअघि गत फागुनमा इरानको ड्रोन हमलामा परी यूएईमा सेक्युरिटी गार्डको रुपमा कार्यरत गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको थियो ।






