डीपी अर्याल सभामुख निर्वाचित

काठमाडौं । रास्वपाका सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका छन् ।


आजको प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सर्वसम्मत रूपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् ।

केसीले बैठक सुरु हुनासाथ सभामुखमा अर्यालको एकमात्र उम्मेदवारी परेको भन्दै प्रस्तावक रवि लामिछानेलाई बोल्न समय दिएका थिए । त्यसपछि लामिछानेले अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । त्यसपछि अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतमसहितले लामिछानेको प्रस्तावको समर्थन गरेका थिए ।

लामिछानेले अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गर्ने सबै दलहरूलाई धन्यवाद दिँदै भने, ‘यो मद्दत र राजनीतिक सम्मानका लागि सबैलाई धन्यवाद ।’

त्यसक्रममा वाग्लेले डीपी अर्याल सभामुखको लागि उपयुक्त पात्र भएको बताए । उनले सभामुखमा निर्विरोध निर्वाचित हुन सहयोग गरेको भन्दै अन्य दललाई बधाई दिए ।

अर्यालले यसअघिको संसदमा पनि सांसद र मन्त्रीसमेत बनेर आफ्नो क्षमता देखाइसकेको भन्दै अर्याल अनुभवी भएको बताए । ‘उहाँले संसद्को अभिभाव भएर जिम्मेवारीपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्दछु,’ उनले भने ।

‘तटस्थतामा खरो साबित हुने विश्वास मैले लिएको छ,’ वाग्लेले भने, ‘कुनै दलीय आबद्धता नराखी त्याग गरेर जिम्मेवारी लिनुपर्ने पद हो यो । त्यसमा डीपी अर्याल खरो साबित हुने विश्वास हामीलाई छ ।’

कानुनमन्त्री गौतमले अबको संसद् समस्या उन्मुख हुनुपर्ने बताइन् । ‘अब बहस र भाषणले मात्र नहुने भन्दै बहसहरू जनउत्तरदायी भएर गरिनुपर्छ,’ उनले भनिन् ।

अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रिय कौराहा सम्मेलन सुरु