गुल्मी । गुल्मीमा बाबुछोरी ६ दिनदेखि सम्पर्कविहीन भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका–४ जैसीथोक निवासी अन्दाजी ३५ वर्षीय झम्मन गिरी आफ्नी तीन वर्षीया छोरीसहित गत शुक्रबारदेखि सम्पर्कविहीन भएका हुन् । गिरीकी श्रीमतीको एक वर्षअगाडि मृत्यु भएको थियो ।
त्यसपछि गिरीले वडा कार्यालयबाट गाउँमा आर्थिक संकलन गर्ने उद्देश्यसहित गरिबीको पत्र बनाएका थिए । सोही पत्रको आधारमा चन्दा उठाएर मादक पदार्थ सेवन गरी छोरीसहित झम्मन सम्पर्कविहीन भएको स्थानीय मानबहादुर कुँवरले जानकारी दिए ।
धुर्कोटकै हुलाकेमा खिचेको उनीहरूको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो भाइरल भएसँगै बाल अधिकारकर्मी, महिला अधिकारकर्मीलगायतले बालिकाको खोजी गरिरहेका छन् । गिरीको घरमा एक वर्षयता बाबुछोरी मात्रै बस्दै आएका थिए । सन्तानमा उनकी एक्ली छोरी थिइन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायण अधिकारीले बाबुछोरीको खोजतलासी गर्ने कार्य जारी रहेको बताए । मातहतका सबै निकायमा जानकारी गराएको र उनीहरूको लोकेसन ट्र्याक गर्ने काम भएको अधिकारीले जानकारी दिए ।













