‘उज्यालो धनगढी’को आठौं चरणः नगरका विभिन्न ठाउँमा स्मार्ट सडक बत्ती जडान

नगर क्षेत्र उज्यालो र सुरक्षित बनाउन आधुनिक ‘स्मार्ट स्ट्रिट लाइट’ सञ्चालनमा

धनगढी । ‘उज्यालो धनगढी’ कार्यक्रमको आठौं चरण अन्तर्गत धनगढी उपमहानगरपालिकाले नगरका विभिन्न स्थानमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरी सञ्चालनमा ल्याएको छ ।

उपमहानगरपालिकाको नीति तथा कार्यक्रमअनुसार ‘एक वडा, एक आर्थिक केन्द्र (बजार क्षेत्र)’ निर्माण गर्ने उद्देश्यसहित स्मार्ट सडक बत्ती जडान कार्यक्रम अघि बढाइएको हो । सोहीअनुसार जडित स्मार्ट सडक बत्ती आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ ।

उपमहानगरपालिकाका अनुसार यस अभियानले नगर क्षेत्रलाई सुरक्षित, व्यवस्थित र उज्यालो बनाउने लक्ष्य लिएको छ । साथै स्थानीय बजारको विकास र आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

आइतबार आयोजित एक कार्यक्रमबीच स्मार्ट सडक बत्तीको उद्घाटन गरिएको छ । जडान गरिएका बत्तीहरू धनगढीको मुख्यसडक कैलाली पुलदेखि क्याम्पस चोकसम्म, हुलाकी सडक खण्ड अन्तर्गत अनामनगर चोकदेखि कालिका चोक तथा बेलीगाउँ हनुमान मन्दिरदेखि बेलीबजार खुटिया पुलसम्म, जुगेडा प्लट ‘ए’ गाउँ सडकमा रहेका छन् ।

त्यसैगरी वडा नं. ११ मा बेलागाउँकोे बेला सडकखण्ड, बोराडाँडी चोकदेखि फाप्ला जाने सडक खण्ड, वडा नं. १७ को वडा कार्यालय जाने धुर्जन्ना सडकखण्ड र छ लेन सडक खण्डको स्वागत गेट क्षेत्रमा समेत स्मार्ट सडक बत्ती जडान गरिएको छ ।

उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत जडित स्मार्ट बत्तीले शान्ति सुरक्षा मजबुत बनाउने र बजार क्षेत्रलाई राति पनि आकर्षक बनाउने विश्वास लिएको छ ।

‘उज्यालो धनगढी’ अभियान अन्तर्गत विभिन्न मुख्य चहलपहल हुने स्थान र बजार क्षेत्रमा अत्याधुनिक लाइट जडान गर्दा यहाँका नागरिक खुसी भएका छन् ।

नागरिकको चहलपहल बढी हुने स्थानमा हुने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै सहरलाई सुन्दर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । आगामी दिनमा अन्य स्थानहरूमा पनि क्रमशः स्मार्ट सडक बत्ती जडान गरिने उपमहानगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

epaper

ताजा समाचार

‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित