सबै मन्त्रीको सम्पत्ति सार्वजनिक, कस्को कति ?

प्रधानमन्त्रीले देखाए सोसल मिडियाबाट मात्रै १ करोड ४६ लाख आम्दानी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सरकारले इतिहासमै पहिलो पटक मन्त्रिपरिषदबाट निर्णय गरेर सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सत्तारुढ दलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारेको बाचापत्रको बुँदा १६ मा सार्वजनिक पद धारण गर्नु अघि र पदबाट हटेपछि सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको थियो ।

यो प्रतिबद्धता र भ्रष्टाचार निवारण ऐनको प्रावधान अनुसार प्रधानमन्त्री र मन्त्रीका सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालबाट आफूले हालसम्म १ करोड ४६ लाख रुपैयाँ सम्पत्ति आर्जन गरेको विवरण सार्वजनिक गरेका छन् ।

श्रीमती सविना काफ्लेका नाममा १९० तोला सुन, चाँदी र हिरा रहेको विवरण सार्वजनिक गरेका प्रधानमन्त्रीले यो मध्ये सुन, चाँदी र हिरा कति कति हो भनेर छुट्याएका छैनन् । उनले काठमाडौं, धनुषा र महोत्तरीमा गरी १० बिगाहा २ कट्ठा र ५ आना जग्गा भएको विवरण देखाएका छन् । उनले आफ्नो सम्पत्तिका रूपमा फेसबुक, टिकटक, युट्युबसहितका डिजिटल माध्यमलाई देखाएका छन् । जहाँ उनले फलोअरको संख्यासमेत उल्लेख गरेका छन् ।

गृहमन्त्रीको २६० रोपनी जग्गा, ४ करोडको सेयर, ८९ तोला सुन

गृहमन्त्री सुधन गुरुङको नाममा २६० रोपनी जग्गा ८९ तोला सुन र ६ किलो चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । प्रधानमन्त्री कार्यालयमा पेस गरेको सम्पत्ति विवरणमा धनकुटा, चितवन र गोरखामा रहेको जग्गा उल्लेख गरिएको छ । प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार चितवनको भरतपुर–१८ मा १९ रोपनी ८ आना (३० कट्ठा), गोरखाको चुमनुब्री–३ मा २२१ रोपनी र धनकुटाको कार्की छापमा १९ रोपनी जग्गा रहेको छ । गुरुङसंग नगद करिब ६० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

उनले देखाएको विवरणअनुसार नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपैयाँ, लक्ष्मी सनराईज बैंकमा ५ लाख ३५ हजार ४ सय र सानिमा बैंकमा १ हजार ५७४ रुपैयाँ रहेको छ । गुरुङले सुन पैतृक सम्पत्ति खुलाएका छन् भने नगद तथा जग्गा खरिदको आयस्रोत खुलाएका छैनन् ।

मन्त्री गुरुङसँग ४ करोड ३१ लाखको शेयर रहेको विवरणमा उल्लेख छ । उनले गरेको लगानीअनुसार होप होल्डिङमा उनको ३० हजार कित्ता अर्थात् ३० लाख रुपैयाँ बराबरको शेयर रहेको छ । गुरुङले लगुम प्रिमियममा ५७ हजार कित्ता सेयर ५७ लाख रुपैयाँको शेयर रहेको उल्लेख गरेका छन् । उनले धितोपत्रमा कारोबार हुने रकम सेयर भनेर २ करोड ७४ लाख ५६ हजार रुपैयाँ रहेको पनि उल्लेख गरेका छन् । सम्पत्ति विवरणअनुसार गुरुङसँग ४७ लाख ९९ हजार रुपैयाँमा किनेको एमजी गाडी पनि रहेको छ । यो गाडी भने लगुम प्रिमियम अपार्टमेन्टको नाम छ ।

स्वास्थ्यमन्त्रीको ३० तोला सुन र ५० तोला चाँदी

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले काठमाडौंको सौखेलमा ५६ लाखमा किनेको ७ आना जग्गा र परिवारका सदस्यको नाममा ८ बिघा जग्गा रहेको खुलाएकी छिन् । मेहतासँग ३० तोला सुन र ५० तोला चाँदी रहेको छ । यो उनले दाइजो र उपहारबाट प्राप्त गरेकी हुन् । मेहताले विभिन्न चारवटा कम्पनीको शेयर खरिदमा पनि तलब खर्चिएको उल्लेख गरेकी छिन् ।

मेहतासंग जीएचएलको ६९ कित्ता अर्थात् १४ हजार ६५९ रुपैयाँ, एचडीएचएको ८८ कित्ता अर्थात् १९ हजार ८८८ रुपैयाँ, जीबीएलभीको २८ कित्ता अर्थात् ३६ हजार ५९६ र निफ्राको ६४ कित्ता अर्थात् १७ हजार २०२ रुपैयाँ बराबरको सेयर खरिद गरेकी छन् ।

मेहतासँग माछापुच्छ्रे बैंकमा ७ लाख २३ हजार ५३६ र सानिमा बैंकमा १ लाख रुपैयाँ नगद रहेको छ । उनले २५ लाखमा ग्राण्ड आई १० गाडी पनि तलबबाट खरिद गरेको उल्लेख गरेकी छन् ।

अर्थमन्त्रीको १० करोडको अपार्टमेन्ट, करोड बढी क्यास

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार अर्थमन्त्री वाग्लेको करोडौँको शेयर र अपार्टमेन्ट रहेको पाइएको छ । ललितपुर र काभ्रेमा अपार्टमेन्टसहित तनहुँमा पैतृक सम्पत्ति, सुन, र सेयरमा लगानी भएको उल्लेख गरेका छन् ।

वाग्लेको नाममा ललितपुर र काभ्रेमा गरी करिब १० करोड ७५ लाख रुपैयाँ बराबरको दुई वटा अपार्टमेन्ट रहेको छ भने तनहुँको बन्दिपुरमा २ करोड रुपैयाँ बराबरको ३ रोपनी ३ आना जग्गा रहेको छ । यसै गरी तनहुँको भानु नगरपालिकामा वाग्लेको नाममा ८ लाख ५० हजार रुपैयाँ बराबरको ६ रोपनी जग्गा रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
अर्थमन्त्री वाग्लेले आफ्नो र श्रीमतीको गरी कुल ४५ तोला सुन रहेको विवरणमा उल्लेख गरेका छन्, भने हिमालयन बैंक, सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर बैंकमा गरी १ करोड ९० लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका छन् ।

अर्थमन्त्री वाग्ले विभिन्न कम्पनीहरूको शेयर खरिद बापत ४ करोड १० लाख रुपैयाँ लगानी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सानिमा मिडल तमोर हाइड्रो र सांग्रिला विकास बैंकको क्रमशः ७१ हजार ९३ कित्ता र २५ हजार ७६२ कित्ता शेयर रहेको जनाएका वाग्लेले नेशनल फन्ड म्यानेजमेन्ट लिमिटेडमा ९० लाख रुपैयाँ बराबरको, ठुलो खोलामा ६० लाख रुपैयाँ बराबरको र अपर मादी खोला हाइड्रोपावरमा ३ करोड रुपैयाँ बराबरको सेयर लगानी रहेको उल्लेख गरेका छन् ।

शिक्षामन्त्रीको सम्पत्ति २३ करोड ४१ लाख

सरकारका शिक्षामन्त्री सस्मित पोखरेलले २३ करोड ४१ लाख २७ हजार खुद सम्पत्ति रहेको विवरण बुझाएका छन् । मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा पोखरेलले पुख्यौंलीसहितको सम्पत्ति रहेको विवरणमा उल्लेख गरेका हुन् । कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रहेकोमा ७५ लाख ऋण र सापटी लिएको उल्लेख छ ।

मन्त्री पोखरेलले बुबा रमेश कुमार पोखरेल र आमा मिनाक्षी ओझा पोखरेलको नाममा काठमाडौंमा ४ र पाँच करोडको घर जग्गा रहेको उल्लेख गरिएको छ । बाबु राष्ट्र बैंकमा कार्यरत हुँदाको कमाइ र पैतृक सम्पत्तिबाट आर्जन गरिएको उल्लेख छ ।

काठमाडौं, विराटनगर, ललितपुरको गोदावरी, गोकर्णेश्वरमा बाबुआमा र पैतृक रूपमा संयुक्त साढे ११ करोड हाराहारी रुपैयाँको जग्गा रहेको उल्लेख छ । २५ तोला सुन र एक सय तोला चाँदी रहेको पनि उल्लेख छ । सानिमा र एनएआसी बैंकमा साढे चार लाख नगद रहेको उल्लेख छ । विभिन्न कम्पनीका सेयर र दुई वटा गाडी रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

१० तोला सुन भएकी कानुनमन्त्रीसँग ७४ लाख नगद

कानुनमन्त्री सोविता गौतमले १० तोला सुन, ९ तोला चाँदी र काठमाडौं तथा चितवनमा श्रीमान् र सासूसहितको जग्गा भएको उल्लेख गरेकी छन् । गौतमले विवाहमा १० तोला र पैतृक ५ तोला सुन रहेको देखाएकी छन् । पैतृक ९ तोला चाँदी रहेको उल्लेख गरेकी उनले विवाहमा एक तोला हिरा प्राप्त भएको उनको विवरणमा उल्लेख छ ।
बैंकतर्फ एनआइसी एसियामा तीन लाख ६८ हजार ८६७ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा ४६ हजार ८७४ रुपैयाँ, नबिल बैंकमा ४ लाख ८१ हजार, ७६७ रुपैयाँ, माछापुच्छ्रे बैंकमा १ लाख ४४ हजार ५५३ रुपैयाँ देखाइएको छ । ग्लोबल बैंकमा ८ हजार २७४ रुपैयाँ रहेको देखाइएको छ ।

व्यवसायबाट, लगानी र तलब भनेर नगद विवरण देखाइएको छ । ग्लोब ट्रट हिमालय टूर्स एन्ड ट्रेक्समा ५० प्रतिशत सेयर, सोपा मल्टिपल कम्पनीमा प्रतिकित्ता एक सय दरको ६ हजार ५ सय कित्ता प्रमोटर सेयर भएको उल्लेख गरिएको छ ।

गाडी खरिदको लागि राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख र एभरेस्ट बैंकबाट २५ लाख लिएको उल्लेख छ । श्रीमान् गृहेन्द्र घिमिरेले ९५ लाखको गाडी खरिद गरेको उल्लेख छ ।
राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएर गाडी खरिद गरेको जनाइएको छ । २ लाख ७५ हजार रुपैयाँको स्कुटर खरिद गरिएको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

भौतिक पूर्वाधारमन्त्रीको करोडौँको सम्पत्ति

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको नाममा करोडौँको सम्पत्ति रहेको उल्लेख गरेका छन् । लम्सालसँग कावासोती, बिरुवा र तिलोत्तमा नगरपालिकामा जग्गा रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा जमुना लम्सालको नाममा तिलोत्तमा नगरपालिकामा १ कट्ठा १० धुर, कावासोतीमा १० कट्ठा १५ धुर जग्गा छ ।

बिरुवा नगरपालिकामा बोधराज लम्सालको नाममा ७ रोपनी खेत, १४ रोपनी बारी र अर्को ८ रोपनी बारी रहेको उल्लेख छ । लम्सालसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको छ । यी विवरणमा उनले सम्पत्तिको स्रोत भने उल्लेख गरेका छैनन् । लम्सालले ९० लाख नगद रहेको उल्लेख गरेका छन् ।

संघीय मामिलामन्त्रीको १ लाख कित्ता आइपिओ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले काठमाडौं र बारा गरी दुई ठाउँमा जग्गा भएको उल्लेख गरेकी छन् । उनले काठमाडौंको बुढानीलकण्ठमा ५ आना जग्गा र बाराको कोलाबीमा रहेको १७ धुर जग्गा दुवै आफ्नो नाममा रहेको तर श्रीमान्को कमाइबाट खरिद गरेको उल्लेख गरेकी हुन् ।

आफूसँग २५ तोला सुन रहेको उल्लेख गरेकी रावलले यसको स्रोत भने स्वआर्जन र परिवारको उपहारबाट प्राप्त गरेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । नबिल बैंक, ग्लोबल आईएमई बैंक र एभरेस्ट बैंकमा गरी कुल २४ लाख ७८ हजार ७६० रुपैयाँ नगद रहेको उल्लेख गरेकी रावलले सो श्रीमान्को आयबाट जम्मा भएको उल्लेख गरेकी छिन् । रावलले एभरेस्ट बैंकमा २० लाख रुपैयाँको ऋण रहेको बताएकी छिन् । मन्त्री रावलले विभिन्न कम्पनीको आइपिओ खरिदबाट एक लाख कित्ता बराबरको सेयर रहेको समेत उल्लेख गरेकी छिन् ।

२० कुखुरा पालेकी बादीको सबैभन्दा कम सम्पत्ति

आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार सम्भवतः सबैभन्दा कम सम्पत्ति महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसंग रहेको देखिएको छ ।
सिता बादीले १८ तोला सुन भएको सम्पत्ति विवरण बुझाएकी छन् । मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विवरणअनुसार बादीले विवाहमा प्राप्त भएको १८ तोला सुन छ । चाँदी १५ तोला र ५० हजार नगद रहेको उल्लेख गरेकी छन् ।

उनले एनआईसी एसिया र प्रभु बैंकमा १५ लाख नगद मौज्दात रहेको विवरण बुझाएकी छन् । आफ्नो र श्रीमानको नाममा स्कुटर र मोटरसाइकल एक–एक थान रहेको विवरण पनि उनले बुझाएकी छन् । २० वटा कुखुरा र एउटा कुकुर रहेको विवरण पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

५० हजारको घडी लगाउने कृषि मन्त्रीसँग बाख्रा र कुखुरा

कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीले ५० हजारको घडी लाउने गरेको विवरण पेस सगरेकी छिन् । आइतबार सार्वजनिक सम्पत्ति विवरणमा स्वआर्जनबाट ५० हजार रुपैयाँ पर्ने घडी रहेको उनले उल्लेख गरेकी छन् । त्यस्तै मोबाइल ९० हजार रुपैयाँ र ल्यापटप ७५ हजार रुपैयाँ रहेको जनाइएको छ ।

उनको नाममा ५ तोला सुन र १०० तोला चाँदी छ । उक्त सुन र चाँदीको आयस्रोत पैतृक र स्वआर्जन रहेको जनाइएको छ । ५ वटा बैंकमा गरी मन्त्री चौधरीको नाममा १ लाख २६ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

मन्त्री चौधरीले ऋणमा एउटा स्कुटर खरिद गरेको उल्लेख छ । स्कुटर खरिद गर्दा लिएको १ लाख ५० हजार मध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरिसकेको उल्लेख छ । स्वआर्जनबाट ३ लाख ३० हजार मूल्यको अर्को पनि स्कुटर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सम्पत्तिको नाममा माइतीले दिएको २ वटा बाख्रा र १० कुखुरा रहेको जनाइएको छ ।

संस्कृति मन्त्रीको करोडको लगानी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज (गनेश) पौडेलले भाउजूको नाममा रहेको पोखरा– १४ मा रहेको २ करोड ६० लाखमा बैंकको ऋण तथा पैतृक सम्पत्तिबाट खरिद गरेको घर र आमा खीमाकुमारी पौडेलको नाममा कास्कीमा तीन ठाउँमा जग्गा रहेको विवरण पेस गरेका छन् । मन्त्री पौडेलसँग ११ तोला सुन र ५ तोला चाँदी पुस्तान्तरण भएर आएको उल्लेख गरेका छन् ।

मन्त्री पौडेलले माछापुच्छ्रे बैंकमा ८ लाख रुपैयाँ र एनएमबी बैंकमा ५१ हजार रुपैयाँ नगद जम्मा रहेको पनि उल्लेख गरेका छन् । र मझेरी सहकारीमा १ लाख ३५ हजार रुपैयाँ रहेको पनि सम्पत्ति विवरणमा लेखेका छन् । एसएसआईएस र बीजीडब्लुटी कम्पनीमा पनि लगानी रहेको उल्लेख गरेका छन् । मन्त्री पौडेलले आफ्ना दाजु पशुपति पौडेलसँग एउटा गाडी रहेको र आफूसँग दुई वटा स्कुटर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । पौडेलले बुक लिफ्ट प्रालिमा २५ लाख र मझेरी मञ्जिलमा पारिवारिक लगानीको रूपमा २ करोड लगानी गरेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
मन्त्री पौडेलले मझेरी सहकारीबाट १० लाख रुपैयाँ ऋण लिएको विवरण पनि उल्लेख गरेका छन् । घर किन्न शर्माले माछापुच्छ्रे बैंकबाट १ करोड ३० ऋण लिएको विवरण पनि पेस गरेका छन् ।

परराष्ट्रमन्त्रीको ४ ठाउँमा जग्गा

परराष्ट्रमन्त्री शिशिर खनालको टोखामा रहेको ६ आना जग्गामा रहेको घर, तनहुँमा रहेको १५ रोपनी, नवलपुर देउचुलीमा रहेको १३ रोपनी र नेपालगन्जको २ कट्ठा जग्गा सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । तनहुँको जग्गा पैतृक भएको र अन्य दुई ठाउँको खरिद भनी उल्लेख गरेका छन् ।

खनालले २२ तोला सुन २५ तोला चाँदी र १० लाख नगद रहेको उल्लेख गरेका छन् । खनालले नविल बैंकको ५० कित्ता, ग्लोबल आइएमइ को १०९ कित्ता, ओम मेगाश्री फर्मास्युटिकल्सको ५ हजार कित्ता, विपिडब्लु माइक्रोफाइनान्सको २५०० कित्ता शेयर रहेको जनाएका छन् । यस्तै उनले पिक एन्ड ड्रप नेपालको ३३ प्रतिशत, रिगपाल इन्टरनेसनल प्रालिको १०० प्रतिशत शेयर रहेको जनाएका छन् । उनले ताजा एग्रो फार्मको १६ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् । उनले विभिन्न मितिमा लिएको १ करोड ऋण उल्लेख गरेका छन् भने अच्युता अधिकारीको नाममा विभिन्न कम्पनीमा शेयर रहेको उल्लेख गरेका छन् ।

ऊर्जामन्त्री र संचारमन्त्रीको सम्पत्ति कति ?

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठको नाममा काठमाडौंको वडा नं १३ र २४ मा ६ आना जग्गा तथा १५ तोला सुन तथा ५० तोला चाँदी रहेको उल्लेख गरेका छन् । श्रेष्ठसंग २० हजार ९ सय ७८ कित्ता शेयर स्टक एन्सचेञ्जमा सूचीकृत विभिन्न कम्पनीको भएको उल्लेख गरेका छन् । विभिन्न बैंक तथा सहकारीमा गरी ८० लाख ४० हजार ११७ रुपैयाँ नगद रहेको जनाएका छन् । श्रेष्ठले ५३ लाख ५० हजार ऋण रहेको पनि जनाएका छन् । श्रेष्ठसंग एउटा ल्याण्डक्रुजर गाडी, एउटा एमजी इभी र एउटा स्कुटर भएको उल्लेख गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले काठमाडौं नागार्जुनमा श्रीमती मञ्जु गैरेको नाममा रहेको १४२.७० वर्ग मिटर क्षेत्रफलमा रहेको एउटा घर र १७४.८५ वर्ग मिटर क्षेत्रफलको एउटा जग्गा रहेको उल्लेख गरेका छन् । उनको श्रीमतीसंग ७ तोला सुन र १० तोला चाँदी रहेको उल्लेख गरेका छन् ।

उनले आफ्नो नाममा रहेको १० लाख २४ हजार ३६५ रुपैयाँ र श्रीमतीको नाममा रहेको १० हजार २१ रुपैयाँ नगद उल्लेख गरेका छन् भने ४८ लाख रुपैयाँ सापटी लिएको विवरण देखाएका छन् । उनीसँग २३ लाखमा खरिद गरिएको गाडी पनि सम्पत्ति विवरणमा समेटेका छन् ।

उद्योग र श्रममन्त्रीका प्रशस्त पैतृक सम्पत्ति

उद्योगमन्त्री गौरीकुमारी यादवको सम्पत्ति विवरणमा १७ आना २ पैसामा बनेको घर र काठमाडौंमा ३० आना जग्गा रहेको उल्लेख गरेकी छन् । उनले महोत्तरी बर्दिबासमा ३० कट्ठा र ५.५ बिगाहा जग्गा रहेको जनाएकी छन् । उनीसँग १८० तोला सुन, २ किलो चाँदी र २ सेट हिराको रिङ रहेको जनाएकी छन् । उनीसँग १० लाख नगद र ३ लाख ३९ हजारको शेयर रहेको जनाएकी छन् । उनले १ करोड ६१ लाख ८७ हजार ऋण भएको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् ।

उनले ५७ लाखको हुण्डाइ कोनाको गाडी रहेको र मासिक ९० हजार भाडा आउने जग्गा रहेको जनाएकी छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले राजविराज ९ को ११ रोपनी १३ आना पैतृक सम्पत्ति घर र थुप्रै जग्गा तथा ८० तोला सुन र १५० तोला चाँदी रहेको उल्लेख गरेका छन् । ७० लाख नगद विभिन्न बैंकमा रहेको उल्लेख गरेका यादवको एउटा मोटरसाइकल सवारी साधन भएको जनाएका छन् । यादवसँग २ लाख २६ हजार ९ सयको आइफोन र ५० हजारको रेडमी मोबाइल रहेको जनाएका छन् भने २ लाख ५० हजारको एप्पल म्याकबुक रहेको उल्लेख गरेका छन् ।

https://drive.google.com/file/d/1AiDO12P212HahJjaMUvm5XZX5dfUs0vs/view

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

epaper

ताजा समाचार

आगामी दशकमा ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य