रास्वपामा बालेन्द्र पक्षलाई महत्वपूर्ण जिम्मेवारी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग ७ बुँदे सहमति गरेर पार्टीको वरिष्ठ नेतासहित प्रधानमन्त्री भएका बालेन्द्र्र शाह समूहले पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाएको छ । काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय समिति बैठकले बालेन्द्र समूहका भूपदेव शाहलाई पार्टी महामन्त्री पदमा मनोनीत गरेको छ ।

१३ पुस २०८२ मा प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच ७ बुँदे सहमति भएको थियो । सोही सहमतिअनुसार बालेन्द्र संसदीय दलको नेता र प्रधानमन्त्री भइसकेका छन् । महामन्त्रीमा नियुक्त शाह प्रधानमन्त्री बालेन्द्र काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनको सचिवालयमा थिए । गत निर्वाचनमा अछाम क्षेत्र नम्बर–२ बाट पराजित शाहले बालेन्द्रनिकट भएकै कारण पार्टीभित्र महत्वपूर्ण जिम्मेवारी पाएका हुन् ।

देशैभर रास्वपा उम्मेदवार विजयी हुँदै गर्दा शाह ४ हजार ५६२ मत ल्याएर चौथो स्थानमा सीमित भएका थिए । सो क्षेत्रबाट नेकपा (एमाले)का यज्ञबहादुर बोगटी ९ हजार ५१८ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका पुष्पबहादुर शाहले ९ हजार ४६ मत पाए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बलबहादुर कुँवरले ६ हजार ४९३ मत ल्याएका थिए ।

रास्वपा प्रवक्ता मनीष झाका अनुसार शाहलाई महामन्त्रीसहित सचिवालयमा सागर ढकाल र सरिताश्री ज्ञवालीलाई मनोनीत गर्ने निर्णय बैठकले गरेको छ । शाहसहित ढकाल र ज्ञवाली पनि बालेन्द्र समूहबाटै मनोनीत भएका हुन् । रास्वपा सचिवालय अब १६ सदस्यीय भएको छ । रास्वपा विधानअनुसार पार्टी सभापतिले पदाधिकारी अनिवार्यसहित केन्द्रीय सदस्यबाट २५ सदस्यीय सचिवालय गठन गर्ने अधिकार छ । तर, प्रधानमन्त्रीसमेत रहेका पार्टीका वरिष्ठ नेता बालेन्द्र सचिवालयमा अटाएका छैनन् ।

सचिवालय र सोमबार केन्द्रीय समितिको बैठक आइतबार बसेको थियो । तर, दुवै बैठकमा वरिष्ठ नेता बालेन्द्र सहभागी भएनन् । सरकारको काममा व्यस्त हुने भएकाले उनी बैठकमा सहभागी नभएको रास्वपाले जनाएको छ । तर, बालेन्द्र मन्त्रिपरिषद्का अन्य मन्त्री भने बैठकमा सहभागी भए । यसैगरी, बैठकले पार्टीको संघीय नेतृत्व मञ्चसमेत दोस्रोपटक विस्तार गरेको छ ।

बैठकले मञ्च विस्तार गर्दै तुलसीप्रसाद चौधरी (सप्तरी), रामसिंह थारु (बर्दिया), जीवन धामी (मोरङ), प्रेमा चौधरी (कैलाली), नवराज राना (कन्चनपुर) र एकराज चौधरी (दाङ) लाई मनोनीत गरेको छ । यसअघि, ४ पुस २०८२ मा विवेकशील साझाबाट आएका १७ सदस्यलाई संघीय नेतृत्व मञ्चमा मनोनीत गरिएको थियो । मञ्चमा रहने सदस्य संख्या अब २३ पुगेको छ ।

सांसददेखि स्वकीयसम्मलाई लेबी
बैठकले विद्यमान लेबी व्यवस्था परिमार्जन गर्दै सांसदको १५ हजार रुपैयाँ, मन्त्रीको १८ हजार रुपैयाँ र स्वकीयको दुई हजार रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । बैठकले लेबी परिमार्जन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको प्रवक्ता झाले बताए । यसअघि सांसदको १६ हजार रहेकोमा त्यसमा एक हजार घटाइएको छ ।

सचिवालयमा को को परे ?
सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, सहमहामन्त्री बिपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष वसुमाया तामाङ, प्रवक्ता मनिष झा छन् । त्यस्तै, गणेश पराजुली, दिपक बोहरा, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोभिता गौतम, हरि ढकाल, सागर ढकाल, सरिताश्री ज्ञवाली सचिवालय सदस्य रहेका छन् ।

रास्वपा विधानमा पार्टीको सचिवालय गठन पार्टी सभापतिले आफू सहित निर्वाचित पदाधिकारीहरू, कोषाध्यक्ष, प्रवक्ता र बाँकी सदस्यहरू केन्द्रीय समितिबाट सभापतिले मनोनीत गरी २५ जनासम्मको सचिवालय गठन गरी केन्द्रीय समितिलाई जानकारी दिनुपर्ने उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

भारतबाट रु १०० भन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार कर, नाकामा कडाइपछि किनमेल घट्यो