काठमाडौं । १३औँ नेपाल उल्लु महोत्सवका अवसरमा प्रकृति संरक्षण क्षेत्रमा योगदान पुर्याएका चार विशिष्ट व्यक्तित्वलाई ‘नेचर कन्जर्भेसन अवार्ड’ प्रदान गरिने भएको छ । अजम्बरी सामुदायिक वन उपभोक्ता समूहको आयोजना तथा फ्रेन्ड्स अफ नेचरको सहकार्यमा सञ्चालन हुने यो महोत्सव यही वैशाख १८ र १९ गते दाङको लमहीमा आयोजना हुने भएको हो ।
सन् २०१२ देखि निरन्तर सञ्चालन हुँदै आएको नेपाल उल्लु महोत्सव संस्कृति, संरक्षण र मनोरञ्जनलाई जोड्ने सार्वजनिक अभियानका रूपमा परिचित छ । यस वर्ष महोत्सवले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा योगदान पुर्याएका चार संरक्षणकर्मीहरूलाई सम्मान गर्न लागेको बताइएको छ ।
पुरस्कारबाट सम्मानित हुनेहरूमा नर्वेका प्रख्यात उल्लु अनुसन्धानकर्ता डा. रोअर सोल्हाइम, नेपालका अग्रणी र्याप्टर वैज्ञानिक तथा ‘हिमालयन र्याप्टर्स’का प्रमुख डा. तुलसीराम सुवेदी, वन्यजन्तु र संरक्षण विषयलाई जनस्तरसम्म पुर्याउने लेखक तथा पत्रकार ददी सापकोटा तथा कास्कीको सिक्लेसका वरिष्ठ संरक्षणकर्मी तथा बर्डलाइफ इन्टरनेशनलका वरिष्ठ एसिया साझेदारी प्रबन्धक डा. हमबहादुर गुरुङ रहेका छन् ।
डा. सोल्हाइमले उल्लु सम्बन्धी अनुसन्धान, लेखन र जनचेतनामार्फत विश्वव्यापी योगदान पुर्याएका छन् भने उनी सन् २०२४ मा ‘च्याम्पियन अफ आउल्स अवार्ड’बाट समेत सम्मानित भइसकेका छन् । डा. सुवेदीले नेपालमा गिद्ध र अन्य शिकारी चराहरू (र्याप्टर्स) सम्बन्धी अनुसन्धान, तालिम तथा संरक्षण कार्यमा महत्वपूर्ण योगदान दिएका छन् । पत्रकार सापकोटाले लेखन र सञ्चारमार्फत वन्यजन्तु तथा वातावरणीय मुद्दालाई सर्वसाधारणसम्म पुर्याउँदै आएका छन्। त्यस्तै, डा. गुरुङले समुदायमा आधारित संरक्षण, चराप्रेमी अभियान तथा अन्तर्राष्ट्रिय सहकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
अजम्बरी सामुदायिक वन उपभोक्ता समूहको आयोजना तथा फ्रेन्ड्स अफ नेचरको सहकार्यमा सञ्चालन हुने यो महोत्सव सम्मान कार्यक्रम मात्र नभई संरक्षण सचेतनाको सशक्त मञ्चका रूपमा स्थापित भएको छ । यसले अनुसन्धानकर्ता, स्थानीय समुदाय, विद्यार्थी तथा प्रकृतिप्रेमीलाई एकै ठाउँमा ल्याउँदै संरक्षण सन्देश फैलाउँदै आएको छ।

के के छन् मुख्य आकर्षणहरू ?
त्यस्तै उत्सवका दुई दिन विविध गतिविधिमार्फत प्रकृति, संस्कृति र मनोरञ्जनको संगम प्रस्तुत गरिने आयोजकले जनाएको छ । यस अवधिमा चरा तथा प्रकृति अवलोकन, स्थानीय लोपोन्मुख खेलहरूको प्रदर्शन, सांस्कृतिक गीत तथा नृत्य, विद्यार्थीहरूको नाच–नाटक, स्वागत गीत, भजन तथा विभिन्न जनजातिका सांस्कृतिक प्रस्तुति गरिनेछन् । साथै, नगरपालिकास्तरीय विद्यालयहरूबीच चित्रकला, निबन्ध र कविता प्रतियोगिता समेत आयोजना गरिने फ्रेन्ड्स अफ नेचरका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिए ।
उत्सवभर लाटोकोसेरो तथा हुचिलको अस्थायी संग्रहालय निर्माण गरी प्रदर्शनी गरिनेछ, जहाँ लाटोकोसेरोसम्बन्धी जानकारी, फोटो, भिडियो, आवाज, आहाराका नमुना तथा गहुँको छ्वाली, चुरा, ढुंगा, स्टीलका पाता, लप्सीका दाना, काठ र माटोबाट बनाइएका विभिन्न आकृतिहरू प्रदर्शनमा राखिनेछन् । आठ प्रजातिका लाटोकोसेरोको आवाज सुन्ने र भिडियो हेर्ने व्यवस्था पनि मिलाइनेछ। यसका साथै अनुहारमा निःशुल्क लाटोकोसेरो तथा हुचिलको चित्र बनाइने, एक फिट अग्लो लाटोकोसेरो रोबोट प्रदर्शन गरिने तथा वन्यजन्तु अनुसन्धानकर्ताहरूले आफ्ना अनुसन्धान पोस्टर प्रस्तुत गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।
सम्बन्धित समाचार
बुङालुङ पार्कमा बहुसांस्कृतिक संग्राहलय
विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या
सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
विषादीरहित तरकारी उत्पादनमा किसान
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो
महिला सामूहिक बेमौसमी तरकारीखेतीमा आकर्षित
सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प






