मुम्बई । बलिउडका केही यस्ता सफल अभिनेत्रीहरू छन्, जसले चलचित्रमा आउनु अघि सौन्दर्य प्रतियोगिता रोजेका थिए । यसरी सौन्दर्य प्रतियोगितामा उत्रिएका उनीहरू मध्य कोही सुरुमा ‘मिस इन्डिया’ भए । कसैले मिस एसिया प्यासिफिकको ताज जिते भने केहीले मिस वल्र्डको क्राउन नै चुमे । केही सुन्दरीहरू मिस युनिभर्स पनि भए ।
यसरी मिस इन्डिया हुँदै मिस वल्र्ड तथा मिस युनिभर्समा पुगेकी यिनै सुन्दरीहरूलाई पछि बलिउड चलचित्रमा नायिकाको रूपमा प्रस्ताव आयो । त्यो प्रस्तावलाई स्विकारेर अघि बढेको केही सुन्दर बलिउडको शिखरमा पुगे । केही सुन्दरी भने नायिकाको रूपमा लामो समयसम्म सफल हुन सकेनन् । यसरी शिरमा सौन्दर्य प्रतियोगिताका ताज लगाएपछि बलिउड उत्रिएकी यी अभिनेत्रीहरूको यहाँ चर्चा गरिएको छ ।

जुही चावला
बलिउडमा अहिलेकी सबैभन्दा धनी अभिनेत्रीको रूपमा परिचित जुही चावला पनि सौन्दर्य प्रतियोगिताको उपाधि जितेर चलचित्र अभिनयमा आएकी हुन् । जुहीले १९८४ मा मिस इन्डिया युनिभर्सको उपाधि जितेकी थिइन् । मिस युनिभर्समा उनले शीर्ष उपाधि नसके पनि सर्वश्रेष्ठ राष्ट्रिय पोसाकको उपाधि जितेकी थिइन् । केवल १७ वर्षमै मिस इन्डिया युनिभर्स बनेपछि उनलाई त्यसको लगत्तै चलचित्रबाट प्रस्ताव आयो । सन १९८६ मा चलचित्र ‘सुल्तान’बाट डेब्यु गरेकी जुहीको दोस्रो चलचित्र ‘कयामत से कयामत तक’ सर्वाधिक सफल भयो । त्यसपछि उनी बलिउडमा लामो समयसम्म पहिलो नम्बरकी अभिनेत्रीको रूपमा रहिन् ।

सुष्मिता सेन
अभिनेत्री सुष्मिता सेनले सन १९९४ मा मिस युनभिर्स इन्डिया हुँदै अन्त्यमा भारतबाट प्रतिनिधित्व गरेर प्रतिष्ठित मिस युनिभर्सको ताज नै जितिन् । उनको सफलता भारतको लागि त्यति बेला निकै ठुलो खुसीको खबर बनेको थियो । उनले सन १९९६मा चलचित्र ‘दस्तक’बाट बलिउडमा डेब्यु गरिन् । पहिलो चलचित्रबाट चर्चा कमाएकी सुष्मिता सेनले कैयौँ हिन्दीसहित बंगाली र तमिल चलचित्रहरूमा काम गरिसकेकी छिन्।

ऐश्वर्या राय बच्चन
एकातर्फ सन १९९४ मा सुष्मिताले मिस युनिभर्सको उपाधि जित्दा अर्की सुन्दरी मिस वल्र्ड १९९४ को उपाधि नै जितिन् । मिस इन्डिया हुँदै मिस वल्र्ड बनेकी ऐश्वर्या राय बच्चनले त्यसको तीन वर्षपछि मनी रत्नमको दक्षिण भारतीय चलचित्र ‘इरुभर’बाट नायिकाको रूपमा डेब्यु गरिन् । सोही वर्ष उनले बलिउड चलचित्र ‘और प्यार हो गया’मा पनि अभिनय गरिन् । त्यसपछि उनी बलिउडमा रातारात स्टार भइन् ।

लारा दत्ता
अर्की सुन्दर लारा दत्ताले १९९७ मा पहिलो पटक मिस इन्टरकन्टिनेन्टलको उपाधि जितेकी थिइन् । त्यसको तीन वर्षपछि मिस इन्डिया युनिभर्सको बनेकी उनले २००० मा मिस युनिभर्सको ताज चुमिन् । सुस्मिता सेनपछि यो उपाधि जित्ने लारा नै थिइन् । लाराले सन २००३ मा चलचित्र ‘अन्दाज’बाट बलिउडमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले थुप्रै बलिउड र दक्षिण भारतीय चलचित्रमा अभिनय गरेकी छिन् ।

प्रियंका चोपडा
भारतीय सुन्दरी प्रियंका चोपडाले मिस इन्डिया हुँदै सन २००० को मिस वल्र्डको उपाधि जितिन् । भारतमा मिस वल्र्डको क्राउन ल्याएपछि उनलाई पनि बलिउड चलचित्रबाट त्यतिकै प्रस्ताव आयो । तर उनले सन २००२ मा तामिल चलचित्र ‘थामिझान’बाट डेब्यु गरिन् । २००३ मा बलिउड चलचित्र ‘द हिरो’ र ‘अन्दाज’मा अभिनय गरेपछि उनी एकपछि अर्को गर्दै व्यस्त अभिनेत्रीको शिखरमा चढिन् । उनले बलिउड हुँदै हलिउडका चलचित्रमा समेत काम गरिसकेकी छिन् ।

दिया मिर्जा
सन् २००० मै अर्की सुन्दरी दिया मिर्जाले मिस इन्डिया एसिया प्यासिफिक हुँदै मिस एसिया प्यासिफिकको उपाधि जितिन् । उनीसँगै सो प्रतिस्पर्धामा उत्रिएकी प्रियंका मिस वल्र्डमा चयन भएर उपाधि जित्न समेत सफल भएकी थिइन् । दियाले लगत्तै सन २००१ मा चलचित्र ‘रहना है तेरे दिलमे’बाट बलिउडमा नायिकाको रूपमा डेब्यु गरिन् । सन २०१० म निकै व्यस्त रहेकी यी अभिनेत्री अहिले पनि नायिकाको रूपमा सक्रिय छिन् ।

नेहा धुपिया
नेहा धुपियाले पनि सन २००२मा मिस इन्डियाको ताज चुमिन् । तर त्यो मिस वल्र्डमा उपाधि हासिल गर्न नसके पनि मिस इन्डियाका ताज जितेको अर्को वर्ष उनी बलिउडमा नायिकाको रूपमा उत्रिइन् । अभिनेता अजय देवगनसँग सन २००३ मा नेहाले चलचित्र ‘कयामतः सिटी अन्डर थ्रेट’ मा डेब्यु नायिकाको रूपमा काम गरिन् । यसपछि उनी पनि बलिउडमा एकपछि अर्को चलचित्र गर्दै चर्चामा आइन् ।

मानुषी छिल्लर
पछिल्लो पटक भारतबाट मिस वल्र्डकी उपाधि जितेकी सुन्दरी मानुषी छिल्लर हुन । उनले मिस इन्डिया हुँदै सन २०१७ मा यो उपाधि जितेकी थिइन् । सन् २००० मा प्रियंका चोपडा जितेको यो उपाधि १७ वर्षपछि पुन मानुषीले भारत भित्राएकी हुन् । सन २०२२ मा अभिनेता अक्षय कुमारसँग चलचित्र ‘पृथ्वीराज’ बाट मानुषीले बलिउडमा डेब्यू गरिन् । उनले हालसम्म आधा दर्जन चलचित्रमा नायिकाको रूपमा काम गरिसकेकी छिन् । मानुषी पछि भने ताज जित्ने सुन्दरीहरू बालिउड चलचित्रमा आउन सकेका छैनन् ।
सम्बन्धित समाचार
‘कथा घेरा’को सडक नाटक विवादको घेरामा
मध्यपूर्व युद्ध : तनाव, वार्ता र अनिश्चितता
बोलपत्र प्रणाली ह्याक काण्ड: अर्बौंका ठेक्का सेटिङमार्फत् कब्जा
विन्ध्यवासिनीद्वारा शम्भुजीतलाई १ लाखसहित लाइफ टाइम एचिभमेन्ट अवार्ड
विष्णु विवेकको पुस्तक ‘घाटगाउँ’ अमेरिकामा पनि विमोचन
‘पहिलो हाँसो’ को नयाँ संस्करण सार्वजनिक
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो’
असन्तुष्ट समूहलाई पार्टी छोडेर जान अध्यक्ष लिङ्देनको सूचना






