सिन्धुपाल्चोक । मौसमी रुघाखोकी र ज्वरोले एकै गाउँमा सयौ बिरामी भएपछि चिकित्सकसहितको विशेषज्ञ टोली गाउँमा नै गएर उपचार सुरु गरेपछि बिरामीहरु क्रमश ठिक हुँदै गएका छन् । जुगल गाउँपालिका ३ गुम्बामा केही दिनदेखि फैलीएको रुघाखोकी र ज्वारोले गुम्बा आसपासका ३ सय बढी स्थानीय बिरामी भएका थिए । चिनमा फैलिएको कोरना भाइरससँग मिल्ने लक्षण देखिएको भन्दै जुगल गाउँपालिकाले मंगलबार सबै ठाउँमा पत्रचार गरेको थियो ।
गाउँपालिकाले कोरनाको लक्षण जस्तै बिरामी भेटिएको पत्र सार्वजनिक गरेपछि सिन्धुपाल्चोकसहित देशका सबै ठाउँका स्थानीय त्रासमा थिए । गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयको चिकित्सकहरुको टोली लिएर गाउँपालिका अध्यक्ष होमनारयण श्रेष्ठसहितको जनप्रतिनिधिको टोली रोग प्रभवित गुम्बामा पुगेको थियो ।

स्थानीय सामुदायिक स्वास्थ्य संस्थामा विरामीहरुको उपचार सुरु भएपछि त्यही लगिएको औषधीले बिरामीहरुलाई केही निको हुँदै गएको जलविरे अस्पतालका डाक्टर पिताम्बर खनालले जानकारी दिए । गाउँमा गएको चिकित्सकको टोलीले बिरामीहरुलाई जाँच पछि औषधी समेत विरतण गरेको थियो । ‘धेरै बिरामीहरु उपचार पछि घर फर्किसकेका छन्, राजधानीबाट समेत थप टोली आउँदै हुनुहुन्छ’ डाक्टर खनालले भने । विरामीहरुलाई तत्कालै अन्यत्र नपठाइने र विरामीहरुको खकारलगायत अन्य टेष्टका लागि राजधानी नै लैजाने तयारी भएको गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए ।

चिकित्सकहरुको टोली तिन दिनसम्म गाउँमा नै बसेर बिरामीहरुको उपचार गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । सिन्धुपाल्चोकको कर्णाली उपमा पाएको गुम्बामा विरामी हुदा सामान्य सिटामोल समेत नपाउँदा विरामीको संख्या बढेको स्थानीयले बताएका छन् । मौसमी रुघाखोकी र ज्वरोबाट साना बालबालिकाहरु र वृद्धा बढी प्रभावित भएका छन् । विद्यालयका विद्यार्थीहरुमा समेत यो समस्या भएपछि विद्यालय समेत बन्द भएको छ । स्वास्थ्य शिवीरमा आउने सबैुसले मुखमा माक्स लगाएका छन् ।
विपद व्यवस्थापन समितिले भन्यो कोरोना होइन
गुम्बामा कोरोना जस्तै लक्षणका कारण सयौ विरामी भएको गाउँपालिकाले पत्रचार गरेपछि जिल्ला विपद व्यवस्थापन समितिको बैठकले गुम्बामा कोरोना नभइ सिजनल फ्लु भएको जानकारी दिएको छ । विपद व्यवस्थापन समितिको बुधबार बैठक बसेर गाउँमा गएको स्वास्थ्यकर्मीको टोलीले समेत सिजनल फ्लु भएको आशंका गरेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट समेत विशेषज्ञ टोली रोगप्रभावित क्षेत्रमा पुगेर उपचार सुरु गरेपछि मात्रै सबै कुरा बाहिर आउने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
