जो यसरी सदिऔंदेखि थिचिँदै आए

सरकारले शासकीय स्वरूप चुस्त–दुरुस्त बनाउन जनतासामु ‘१००’ कामको सूची प्रस्तुत गरेको छ । यी काम गर्नका लागि उसले विद्यमान कानुनमा समेत संशोधन गर्नुपर्ने योजना बनाइरहेको छ ।

‘१००बुँदा’मध्य अहिलेसम्म राज्यबाट दलित समुदायमाथि हुँदै आएको थिचोमोचो, अत्याचार, तथा अमानवीय विभेद भएकोमा यो समुदायसँग माफी माग्ने उल्लेख छ । जसको समग्र दलित समुदायले स्वागतसमेत गरेका छन भने हालैमात्र सदनको पहिलो सभालाइ सम्बोधन गर्दै रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दलित समुदायमाथि भएको व्यवहारप्रति शिर झुकाएर माफी माग्दै आगामी दिन विभेदको हर्जनास्वरूप न्याय दिलाइ दलित समुदायको आत्मसम्मान बढाउने प्रतिबद्धता जनाए । जसको चौतर्फी ‘वाहवाही’ भयो ।

नेपालमा राज्य सञ्चालन, उपभोग, जाति, भाषा विकासक्रममा कथित ‘दलित’ जातिको लामै इतिहास रहेको पाइन्छ । फेला परेसम्मको दस्तावेज हेर्ने हो भने नेपालमा जातियताको प्रादुर्भाव मल्लकालदेखि नै प्रारम्भ भएको देखिन्छ ।

दलित जातीको इतिहास

जयस्थिति मल्लले ‘कसरी राज्य सञ्चालन गर्ने ?’भन्ने’bout भाइभारदारबीच राजपरिवारमा छलफल भयो । त्यसपछि उनले यसो बिचार गरेर ‘अब सीप पहिचान गरी काम विभाजन गर्नुपर्छ । अनिमात्र यो राज्य सञ्चालन गर्न सकिन्छ, अन्यथा गाह्रो हुन्छ’ भन्ने निष्कर्षमा पुगे र दरबारमा बैठक आह्वान गरे । त्यसैक्रममा राजा जयस्थिति मल्ल राजगद्दीमा सवार हुने बेलामा उनलाई लगाउने जुत्ता आवश्यक प¥यो । ‘त्यो कसले बनाउन सक्छ ?’ भने बहस सुरु भयो । एकजनाले भनेछ, ‘महाराज त्यो काम म गर्न सक्छु ।’ राजा खुसी भई हुकुम भयो, ‘गरेर ल्याऊ !’ त्यो व्यक्तिले खुसी भएर केही दिनको मेहनत लगाएर जुत्ता बनाएर ल्यायो । उसले राजालाई देखाउँदै भन्यो, ‘महाराज, मैले हजुरको मर्जी र आदेशअनुसार जुत्ता बनाएर ल्याएँ ।’ अनि राजाले हेरर लगाए, एकदम ठीक भयो । स्याबासी पनि पायो ।

तर, दुर्भाग्य ! राजा राजगद्दीमा आसीन भएको बेला त्यहाँनजिकै जुत्ता राख्ने ठाउँ थियो । दरबारमा पालेको एउटा कुकुरले त्यो जुत्ता च्यातिदियो । कारण थियो, जुत्ता छालाको, कुकुरलाई छाला मन पर्ने, त्यो कुरा दरबारका भारदारले राजालाई सुनाए । त्यसपछि राजाले जुत्ता बनाउनेलाई बोलाएर हप्काउँदै भने, ‘तैंले के यस्तो जुत्ता बनाएको ? यो त कुकुरभन्दा पनि घटिया बनाइस् ?’ त्यसपछि राजाले उनलाई कहिल्यै पनि भेट्न चाहेनन् । एकदिन राजसमारोहमा त्यो जुत्ता बनाउनेलाई देखेपछि हुकुम दिए, ‘यसलाई यहाँ आउन नदेऊ, टाढा राख !’ पछि गएर त्यसले एक जातको रूप लियो । जो पछि गएर ‘सार्की’ जात भनेर चिनिन पुग्यो । यसरी सार्की जात रहन गएको इतिहास पाइन्छ ।
त्यहीक्रममा मल्लकालमै राजा प्रताप मल्लले थोरै परिवर्तन गर्न चाहेका थिए । जब उनी राजाका रूपमा राजगद्दीमा आसीन भए, दरबारमा पूजा लगाउने चलन थियो, हरेक आइतबार । बिहानी समय बोकाको बलि चढाउने बेला खुकुरी आवश्यक प¥यो । ‘त्यो कहाँबाट ल्याउने हो ?’ भन्ने’bout छलफल भयो । त्यसैबेला फलामसम्बन्धी ज्ञान भएकाको भेला गराइयो । राजाबाट हुकुम भयो, ‘कसले यो काम गर्न सक्छ ?’ एकजनाले फेरि ‘म बनाउन सक्छु’ भनिहाल्यो । त्यसपछि ऊ त्यो काममा लागेर खुकुरी बनाएर ल्याएपछि राजालाई देखाएछन्, उनले पनि ‘स्याबासी’ पाएछन् ।

त्यहीबेला त्यहाँ आइपुगेकी रानीले भनिन्, ‘यो कसले बनाएर ल्याएको हो ?’ तरबार बनाउनेले भन्यो, ‘मैले हजुर !’ अनि रानीले पड्केर भनिछन्, ‘तिमीले कसैको ज्यान लिने हतियार बनाएर ल्याएको ? त्यसैले अब तिमीले यो हतियार राजाबाट पूजा भएपछि छुनु हुँदैन ।’

अनि त्यो व्यक्तिले कहिल्यै पनि राजाका अगाडि गएर आफूले बनाएको समान राजा–महाराजाबाट पूजा सकेपछि बनाउने मान्छेले छुन नपाउने भयो । यसपछि त्यो तरबार लोहा (फलाम)बाट बनेको हुनाले पछि त्यो बनाउने मान्छेलाई ‘लोहार’ जात राखियो भन्ने विभिन्न प्रमाणबाट सिद्ध भएका छन् । राजाले रानीको आज्ञा मान्दै लोहारलाई नजिकै नल्याएपछि हाल त्यो ‘दलित’ भनेर चिनियो । त्यो नै अभिशाप बन्न गयो ।

यसैलाई कामका आधारमा जात विभाजन गरी आफूले मात्र ‘मोजमस्ती गरेको’ भन्ने पनि शिलालेखमा विभिन्न पाइन्छन् । पहिला–पहिला त ‘जात के हो ?’ भन्ने’bout पनि कसैलाई थाहा नहुने र पछि सीपको आधारमा काम विभाजन गरियो । नाच्नेलाई नाच्ने काम दिइयो, जुत्ता सिलाउनेलाई छालाको काम दिइयो, सुन बनाउनेलाई सुनको काम दिइयो र फलाम बनाउनेलाई फलामको काम दिइयो । तर पछि त्यसैमा राजाहरूले छालाको काम गर्नेलाई ‘सार्की’, सुनको काम गर्नेलाई ‘सुनार’, फलामको काम गर्नेलाई ‘लोहार’, नाचगान गर्नेलाई ‘गाइने बादी’ जाति बनाइए । यसैको विकसित रूप नै पछि गएर टाठाबाठाले जातमा विभाजन गरे । त्यो नै कालान्तरमा गएर जातमा परिणत भयो, ती जातलाई ‘तल्लोस्तरको भन्ने चलन बसेको इतिहासमा उल्लेख छ । आजका दलितले पनि त्यही दुर्गति भोग्दै आएका छन् । ‘मानवमा यो कतिको कुठाराघात हो ?’ भन्ने पनि यसैबाट प्रस्ट देखिन्छ ।

मौजुदा कानुन
राज्यले मुलुकी ऐन निर्माण गरी नेपालबाट जातीय छुवाछुत अन्त्य भएको घोषण ग¥यो, तर कार्यान्वयन भने हुन सकिरहेको छैन । हालसम्म पनि विभिन्न दलित वर्गका मानिस यही नियति भोग्दै आएका छन् । नेपालमा झन्डै २० प्रतिशत दलित रहेको तथ्यांक छ । तीमध्येबाट उनीहरूमा भएको सीप, कला र संस्कृतिमात्र जगेर्ना गर्न सकेमा उनीहरू आफैंमा भरिपूर्ण हुने छन् । नेपालमा भएको दलित जात’bout पनि थुप्रै अनुसन्धान नभएको होइन, ती कागजमै सीमित छन् । दलित वर्गको उत्थानमा धेरै खोज अनुसन्धान अनि राज्य र दाताबाट सहयोग पनि नभएको होइन, त्यो पनि औपचारिकतामै सीमित छ । दलित वर्गको नाममा आएको निश्चित ‘आरक्षण कोटा’ सिमान्तकृतसम्म पुग्नै पाएको छैन । जसले अगुवाइ गरे, उनै टाठाबाठाले बिचमै ‘झ्वाम’ पारिरहेको तितो यथार्थ हामीमाझ ताजा नै छ ।

मल्ल राजाहरू सन् १३६० देखि लामो समय सत्तामा रहे र यो घिनलाग्दो जातीय अनि वर्गीय इतिहासको साशन समाप्त भएको पनि आज लगभग आठ सय वर्ष पुगिसक्यो तर यसले समाज आफूलाई जरा गाडेर बसिरहेको छ । त्यसैको विकसित स्वरूपमा नेपालमा जाति प्रथाको जग बस्यो र पछि भारतमा महात्मा गान्धीले गरेजस्तै पृथ्वीनारायाण शाहले पनि भुरेटाकुरे राज्य एकीकरण गर्दा दलितलाई लडाइँका बेलामा प्रयोग गरे तर जातीय भेदभाव अन्त्यको पहल त के, झनै वर्ग विभाजन नै गरिदिए । सिंगो नेपाल निर्माणदेखि आजसम्म दलितको पनि कम योगदान छैन ।

मल्लकालीन साशकको निरन्तरता शाह वंशीय राजारजौटाले पनि अझै उग्ररूपमा दिए । ब्राह्मण, क्षेत्री वैश्य र शुद्र गरी चार वर्णमा समुदाय विभाजन गरी शुद्रलाई ‘अछुत’का रूपमा विभाजन गरे । वर्तमान समाजमा देखिएको विभेदी वातवरणको निरन्तरता पनि उही मल्लकालदेखि शाहकाल हुँदै निर्दलीय पञ्चायत्, बहुदल हुँदै लोकतान्त्रिक साशन व्यसस्थासम्मसमेत अमिट रूपमा रहनु यो शताब्दीकै अभिशाप हो । विभिन्न कालखण्डमा धर्मका नाममा आफ्नो दुनो सोझ्याउनेहरूले यसलाई आफूअनुकुल व्याख्या गर्दै आए, अनि यही व्याख्या अक्षरसः पालना गर्दै गए समाजले पनि । अहिले उपल्ला भनाउँदा जातका समुदायका मनमा त्यो भावना खिल बनेर बसेको छ । तर, नेपालमा कुनै खास वर्गलाई तथाकथित ‘उपल्लो जात’का भनाउँदाले वर्षौंदेखि थिचोमिचो गर्दै आएको छ ।

वर्तमानमा दलित जाती
यस लेखकको गाउँको एक विश्वकर्मा दाइको घरमा पुजा लगाएको रहेछ्, जहाँ मजस्ता ‘कथित उपल्ला जात’ भनाउँदा समुदायका निम्तालुलाई भोजन गराउन ‘उपल्ला जातकै भान्छे’ खटाइएको रहेछ । अनि ‘उपल्ला जात’का भनाउँदाले पनि ग्वाम कि ग्वाम ‘प्रसाद’ ग्रहण गरेको पाइयो, जुन सरसमग्री सबै त्यही विश्वकर्मा दाजुले नै जुटाउनुभएको थियो । भान्छेचाहिँ उपल्लो जातको हुँदामात्र आएर खाइदिने भएका कारण त्यस्तो भएको रहेछ । यो सब देखेको हुँदा मैलेचाहिँ सबै जनाले खाएको संयुक्त भान्छामा गएर खान लाग्दा नातेदार–आफन्तले आँखाले ‘त्यो नखान’ इसारा गरेको–ग¥यै थिए । मैले कसैको परवाह नगरेको देखेर विश्वकर्मा दाइले नै ‘बाहुनबाजे तपाईंहरूलाई उता अलग्गै भान्छा तयार छ’ भन्नुभयो । तर, मैले जिद्दी कसेर भनें, ‘यहाँ बसेर खाँदा पक्कै मलाई घाँटीमा अड्किदैन होला !’ अनि टन्न अघाएपश्चात ती दाइलाई भनें, ‘तपाईंले अनि भाउजुले पकाएको खादा मलाई अड्किएन त दाइ ।’ यो सुन्नासाथ उहाँले गहभरी आँसु पारेर गर्बिलो महसुस गर्नुभयो । त्यस दिनबाट उहाँमा ‘सेल्फ कन्फिडेन्ट’ उच्च रहेको मैले पाएको छु ।

विद्यालय, क्याम्पस पढ्दाताका मेरा धेरै साथीभाइ कथित दलित समुदायका थिए । उनीहरू हाम्रो घर आउँदा आफैं अलि सानो भान गर्थे र भित्र जान नै मान्दैनन् थिए । मलाई बडो नरमाइलो लाग्थ्यो । उनीहरूलाई जबर्जस्ती भित्र नै बस्न लगाउँथें । सुरु सुरुताका त घरकाले साँझ परेपछि सबैजना गएपछि थोरै मन दुखाउँथे नै, तर मैले त्योक्रम जारी नै रखिरहेको हुँदा घरका सबैको मनन्स्थिति नै परिवर्तन भएको पाएँ । त्यसपछि हाम्रोमा त्यस्तो विभेद केही नै देखिएन । तर पनि यो त्यतिमा पर्याप्त भने होइन, परिवर्तन गर्न आफैंबाट सुरुवात गर्नैपर्छ ।
सिप चल्ने, व्यवहारमा पैसा भयो भने चल्ने रे ! तर, उनीहरूले छोएको पानीचाहिँ नचल्ने रे ! यस्तो पनि कहीँ हुन्छ । जीवन बचाउनका लागि आवश्यक रगत ल्याउँदा कसैले पनि ‘कुन जातको मान्छेले रक्तदान गरेको हो ?’ भनेर सोधेको त मलाई थाहा छैन । जीवन बचाउनचाहिँ ‘दलित’ भन्ने जातको रगतले हुने अनि बाँचिसकेपछि माथि उल्लेख गरिएका मल्ल राजाहरूले झैं विभेदिकृत व्यवहार गर्ने ? २१औं शताब्दी आइसक्दासमेत मान्छे मान्छेबीच यस्तो खाडल ? यो हाम्रो पतनको बाटो हो । दुनियाँ कहाँदेखी कहाँ पुगिसक्यो तर हामी भने ‘कुन जातभन्दा कुन जात माथिल्लो वा तल्लो ?’ भनेर बहस गर्दै छौं ।

हिन मनोविज्ञान
सायद यही ज्याद्रो समाजको विभेदको डर अनि दृष्टिकोणमै फरकपना महसुस गरेरै होला, धेरैले आफ्नो जातीय पहचान (थर) हटाएर नाम उल्लेख गरेको उदाहरण देख्न सकिन्छ । सामाजिक सञ्जालजस्ता ‘प्लेटफम’मा अधिकांशले आफ्नो पूरा नाम लेख्दैनन्, सायद यो पनि उनीहरूमा भएको हिनताबोध नभएर समाजले हेर्ने फरक चस्माको कारण हो । किनकि हाम्रो सामज त्यस्तो जकडिएको समाज हो कि ‘दलित’ भन्नसाथ कोठाभाडा पाइँदैन्, साथीभाइबीच फरक व्यवहार देखा परिहाल्छ । यही ‘पाखण्डी’ सामाजिक साँघुरो मानसिकताले गर्दा नै आज उपाध्याय ब्राह्मणभन्दा ‘जैसी ब्राह्मण तल्लो जात रे !’ अनि जैसीभन्दा ‘क्षेत्री सानो रे !, क्षेत्रीभन्दा मगर, तामाङलगायत मंगोलियन वर्णका समुदाय तल्लो रे! अनि उनीहरूभन्दा तल्लो तथाकथित ‘दलित समुदाय तल्लो अरे !’ सायद यही सिको गर्दै दलितभित्र पनि उही मानसिकता यदाकदा देख्न सकिन्छ । विश्वकर्माभन्दा परियार सानो जात रे ! अनि परियारभन्दा गन्दर्ब सानो रे ! अनि गन्दर्बभन्दा बादी झन् तल्लो रे ! उनीहरूले माथि उल्लेख गरेकाभन्दा अन्य धेरै जात जाती छन्, जसलाई माथिल्लो र तल्लो भनेर नामाकरण गरिएका छन् । हो, त्यो समुदायसँग ऐंचोपैंचो विवाहबारी, लेनदेन गर्दैनन्, छोइछिटो बार्छन् । समस्याको मुल जरो नै यहीँनेर छ र त हामीमा दशकौंअघि नै छुवाछुतमुक्त घोषणा भइसक्दा पनि यसले किताबभन्दा अन्य ठाउँ लिन सकेन । यी र यस्तै कारण समाजमा यसले जरा गाढेर बसेको छ । वास्तबमा लक्षित समुदायलाई हेप्न, दमित गर्न अनि दल्नलाई राखेको शब्दावली हो ‘दलित’ । जुन आफैंमा विभेदीकृत छ । नेपाली जनजनको मनमनबाट यस्तो विभेद अन्त्य गर्न आफैबाट सुरुवात गर्नैपर्छ र नेपाली शब्दकोशबाट ‘दलित’ शब्द हटाउनैपर्छ । अनिमात्र यसको मिर्मुलीकरण हुन सक्छ ।
(लेखकको यो निजी विचार हो)

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै