ऊर्जा र सेवा क्षेत्रले उकास्दै अर्थतन्त्र : जीडीपी ६६ खर्ब, आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ मा नेपालको अर्थतन्त्र मध्यम गतिमा विस्तार हुने संकेत देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार यस वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६६ खर्ब रुपैयाँ पुग्नेछ भने आर्थिक वृद्धिदर ३ दशमलव ८५ प्रतिशत रहने अपेक्षा गरिएको छ । बजेट सार्वजनिक हुनुअघि आएको यो तथ्यांकले अर्थतन्त्रमा सुधारको संकेत देखाए पनि अपेक्षित तीव्र वृद्धि भने अझै टाढै रहेको स्पष्ट पारेको छ ।

आर्थिक वर्ष २०८१÷८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रुपैयाँ रहेको संशोधित अनुमान गरिएको थियो । त्यसअघि आर्थिक वर्ष २०८०÷८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ६० अर्ब रुपैयाँ थियो । यसरी हेर्दा दुई वर्षमै अर्थतन्त्रमा करिब ८ खर्ब रुपैयाँको विस्तार भएको छ । तर वृद्धिदरको हिसाबले अर्थतन्त्र अझै सुस्त पुनरुत्थानकै चरणमा रहेको विश्लेषण गरिएको छ ।
सरकारले चालु वर्षको बजेटमार्फत ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो । तर राष्ट्रिय तथ्यांक कार्यालयको अनुमानले वास्तविक वृद्धिदर लक्ष्यभन्दा निकै कम हुने संकेत गरेको छ । यसको अर्थ आर्थिक गतिविधि सुधारिए पनि सरकारी अपेक्षाअनुसार तीव्रगतिमा चल्न सकेको छैन ।

कृषि कमजोर, गैरकृषि क्षेत्रले धानेको अर्थतन्त्र

यस वर्ष कृषि क्षेत्र कमजोर देखिएको छ । कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १ दशमलव ५८ प्रतिशत मात्रै रहने अनुमान गरिएको छ । धान उत्पादनमा आएको गिरावट यसको मुख्य कारण मानिएको छ । मौसमीय अस्थिरता, सिँचाइ समस्या, उत्पादन लागत वृद्धि र कृषिको परम्परागत संरचनाले कृषि क्षेत्रको विस्तारलाई सीमित बनाएको छ ।

यद्यपि मकै, गहुँ, दलहन, कोदो, पशुपालन तथा मत्स्य उत्पादनमा सामान्य सुधार देखिएको छ । तर धान उत्पादनमा आएको गिरावटले समग्र कृषि वृद्धिलाई कमजोर बनाएको छ ।
अर्कोतर्फ गैरकृषि क्षेत्र भने अपेक्षाकृत सक्रिय देखिएको छ । यस क्षेत्रको वृद्धिदर ४ दशमलव ५४ प्रतिशत रहने अनुमान गरिएको छ । सेवा, उद्योग, व्यापार, वित्तीय सेवा, यातायात तथा ऊर्जा क्षेत्रमा आएको विस्तारले समग्र अर्थतन्त्रलाई टेवा दिएको छ ।

उद्योग र सेवाक्षेत्रमा सुधार

औद्योगिक वर्गीकरणअनुसार प्राथमिक क्षेत्र (कृषि) को वृद्धिदर १ दशमलव ६३ प्रतिशत, द्वितीय क्षेत्र (उद्योग तथा निर्माण) को ५ दशमलव ७७ प्रतिशत र सेवा क्षेत्रको ४ दशमलव २१ प्रतिशत रहने अनुमान गरिएको छ ।

उद्योग क्षेत्रको यस्तो वृद्धिले केही वर्षयता सुस्त रहेको उत्पादनमूलक अर्थतन्त्रमा सुधार आएको देखाएको छ । सिमेन्ट, फलामे डन्डी, वनस्पति घिउ, तार, सुर्तीजन्य पदार्थ, कंक्रिट, कच्चा तेल प्रशोधनजस्ता उत्पादनमा सुधारले उद्योग क्षेत्रलाई गति दिएको हो ।

सेवा क्षेत्र भने परम्परागत रूपमा नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो आधार हो । चालु वर्ष कुल जीडीपीमा सेवा क्षेत्रको योगदान ६१ दशमलव ८ प्रतिशत रहने अनुमान गरिएको छ । कृषि क्षेत्रको योगदान २४ दशमलव ५ प्रतिशत र उद्योग क्षेत्रको १३ दशमलव ७ प्रतिशत रहनेछ ।

विद्युत् क्षेत्रमा उल्लेखनीय वृद्धि

चालु वर्ष सबैभन्दा तीव्र वृद्धि हुने क्षेत्र विद्युत् तथा ग्यास रहने देखिएको छ । यस क्षेत्रको वृद्धिदर २० दशमलव ९३ प्रतिशत पुग्ने अनुमान गरिएको छ । नयाँ जलविद्युत् आयोजना सञ्चालनमा आउनु, उत्पादन क्षमता बढ्नु, प्रसारण लाइन विस्तार हुनु र आन्तरिक खपतसँगै भारततर्फ विद्युत् निर्यात बढ्नु यसका प्रमुख कारण हुन् ।

ऊर्जा क्षेत्रको यो वृद्धि नेपालको दीर्घकालीन आर्थिक रूपान्तरणको आधार बन्न सक्ने देखिएको छ । उद्योग विस्तार, विद्युतीय सवारी, घरेलु खपत तथा निर्यात सम्भावनाले ऊर्जा क्षेत्रलाई नयाँ आर्थिक इन्जिनका रूपमा स्थापित गरिरहेको छ ।

वित्तीय तथा बिमा क्षेत्र ९ दशमलव १६ प्रतिशत वृद्धिसहित दोस्रो तीव्रगतिमा विस्तार हुने क्षेत्र बनेको छ । बैंकिङ प्रणालीमा निक्षेप र कर्जा प्रवाह बढ्नु, बिमा व्यवसाय विस्तार हुनु तथा पुँजी बजार गतिविधि चलायमान हुनु यसका कारण हुन् ।

व्यापार र यातायात क्षेत्रको ठूलो योगदान

व्यापार क्षेत्रले मात्र कुल जीडीपीमा १४ प्रतिशतभन्दा बढी योगदान दिने अनुमान गरिएको छ । आयातमा वृद्धि, आन्तरिक उपभोग, खुद्रा कारोबार तथा सेवा क्षेत्र विस्तारका कारण व्यापार क्षेत्र अर्थतन्त्रको प्रमुख स्तम्भ बनेको छ ।

यातायात तथा भण्डारण क्षेत्रको योगदान ७ प्रतिशतभन्दा बढी रहने अनुमान छ । पर्यटन, व्यापार र सवारी साधन आयात बढेसँगै यो क्षेत्र पनि विस्तार भएको देखिएको छ ।
सूचना प्रविधि, दूरसञ्चार, इन्टरनेट सेवा तथा कम्प्युटर प्रोग्रामिङ क्षेत्रमा समेत सकारात्मक वृद्धि देखिएको छ ।

निर्माण क्षेत्र अझै सुस्त

निर्माण क्षेत्रको वृद्धि २ दशमलव २१ प्रतिशत मात्रै रहने अनुमान गरिएको छ । निजी निर्माण र निर्माण सामग्रीको माग केही बढे पनि सरकारी पुँजीगत खर्च कमजोर रहँदा अपेक्षित सुधार हुन सकेन ।

नेपालमा निर्माण क्षेत्र रोजगारी सिर्जना, पूर्वाधार विकास र उद्योग विस्तारसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले यसको सुस्त वृद्धि चिन्ताको विषय हो । समयमै बजेट खर्च नहुने, आयोजना कार्यान्वयनमा ढिलाइ र प्रशासनिक जटिलताले यो क्षेत्र निरन्तर प्रभावित हुँदै आएको छ ।

सार्वजनिक प्रशासन र शिक्षा क्षेत्र कमजोर

सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा वृद्धिदर शून्य दशमलव २३ प्रतिशत मात्रै रहने अनुमान गरिएको छ । तीन तहका सरकारको खर्च उल्लेखनीय रूपमा नबढेकाले यो क्षेत्र स्थिरजस्तै देखिएको हो ।
शिक्षा क्षेत्रको वृद्धिदर १ दशमलव ५० प्रतिशत रहने अनुमान छ । सरकारी विद्यालयमा विद्यार्थी संख्या घट्नु, निजी क्षेत्रको सीमित विस्तार र सार्वजनिक लगानी न्यून रहनु यसको कारण हो । यसले मानव पुँजी विकासमा चुनौती थपिएको संकेत गर्छ ।

निर्यात बढ्यो, आयात अझै उच्च

चालु वर्ष वस्तु तथा सेवा निर्यात जीडीपीको ९ दशमलव ९७ प्रतिशत पुग्ने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा सुधार हो । विद्युत् निर्यात, पर्यटन आम्दानी र सेवा क्षेत्र विस्तारले निर्यातमा टेवा दिएको हो । तर आयात अझै उच्च छ । यस वर्ष आयात जीडीपीको ३४ दशमलव ५२ प्रतिशत पुग्ने अनुमान गरिएको छ । इन्धन, खाद्यान्न, निर्माण सामग्री, सवारी साधन र उपभोग्य वस्तुमा निर्भरता अझै कायम छ ।

रेमिट्यान्सले धानेको अर्थतन्त्र

वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण चालु वर्ष जीडीपीको तुलनामा ३३ प्रतिशत नजिक पुग्ने अनुमान गरिएको छ । अघिल्लो वर्ष यो अनुपात २७ दशमलव ८ प्रतिशत थियो ।
यसले नेपालका घरपरिवारको उपभोग, बैंकिङ तरलता, विदेशी मुद्रा सञ्चिति र राष्ट्रिय बचतमा ठूलो योगदान पु¥याइरहेको छ । कुल राष्ट्रिय बचत दर पनि ४४ दशमलव ७७ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

प्रतिव्यक्ति आयमा छैन खासै सुधार

चालु वर्ष प्रतिव्यक्ति जीडीपी १ हजार ५ सय १३ अमेरिकी डलर रहने अनुमान गरिएको छ । डलर विनिमय दरमा उतारचढाव र जनसंख्या अनुपातका कारण प्रतिव्यक्ति आयमा उल्लेख्य सुधार नदेखिएको हो ।
यसले समग्र अर्थतन्त्रको आकार बढे पनि आम नागरिकको आयस्तरमा ठोस परिवर्तन आउन अझै समय लाग्ने संकेत गर्छ ।

अबको बाटो : वृद्धि मात्रै होइन, गुणस्तरीय वृद्धि

राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी डा. कमलप्रसाद पोखरेलले तथ्यांक अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको र नीति निर्माणमा उपयोगी हुने बताएका छन् ।

समग्रमा ३ दशमलव ८५ प्रतिशतको वृद्धि अर्थतन्त्र सुधारको संकेत हो, तर रोजगारी सिर्जना, उत्पादन वृद्धि, आय विस्तार र संरचनागत रूपान्तरणका लागि पर्याप्त भने होइन । कृषि आधुनिकीकरण, उद्योग विस्तार, ऊर्जा उपयोग, पुँजीगत खर्च कार्यान्वयन, निजी लगानी आकर्षण र निर्यात प्रवद्र्धनमा केन्द्रित नीति अबको आवश्यकता देखिएको छ ।

नेपालको अर्थतन्त्र अहिले स्थिरता र सम्भावनाको मोडमा छ । यदि ऊर्जा, उद्योग र सेवा क्षेत्रको गति कायम राख्दै कृषि र निर्माण क्षेत्रलाई बलियो बनाउन सकियो भने आगामी वर्षमा उच्च आर्थिक वृद्धिदर हासिल गर्न सकिने आधार तयार हुँदै गएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालमा मात्रै हो सुकुम्वासी समस्या ?