प्रदान गरियो कलाकारलाई नातिकाजी राष्ट्रिय संगीत पुरस्कार

काठमाडौं । संगीत महर्षि नातिकाजीको १०१ औ जन्म जयन्तीको अवसर पारेर शुक्रवार राष्ट्रपति भवन शीतल निवासमा विभिन्न संगीतकर्मीहरुलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार २०८१’बाट सम्मानित गरियो ।

नातिकाजी स्मृति समाजले शीतल निवासमा आयोजना गरेको सो नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार २०८१’ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले संगीतकर्मीहरुलाई सो सम्मान एवम् पुरस्कार प्रदान गरेका हुन् ।

सम्मानित र पुरस्कृत सबैलाई जनही ११ हजार १११ रुपैयाँसहित ताम्र पत्रबाट सम्मानित गरिएको थियो । नेपाली गीत संगीत क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएका अग्रज संगीतकर्मीहरुलाई सम्मान र सक्रिय एवम् सफल कलाकारहरूलाई पुरस्कार प्रदान गरिएको आयोजक नातिकाजी स्मृति समाजका उपाध्यक्ष दीपक श्रेष्ठ ‘विहीन’ले जानकारी गराए ।

सो समारोहमा गायन, संगीत सृजना, गीत लेखन र वाद्यवादन क्षेत्रबाट ९ जनालाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०८१’बाट सम्मानित गरियो । विशिष्ट सम्मानबाट सम्मानित हुनेमा गायकहरू जुजुकाजी रञ्जित, शशी गुरुङ, गणेश पराजुली, गीतकार वीरेन्द्र पाठक, नारायणकुमार आचार्य, साबु गदाल, गीतकार, गायक तथा संगीतकार डा. भीमार्जुन आचार्य, संगीतकार निर्वाण सिंह गुरुङ र गीतकार एवम् संगीतकार अष्ट लामा रहेका थिए ।

त्यस्तै सोही समारोहमा ६ जना संगीतकर्मीहरुलाई ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०८१’ प्रदान गरियो । यो पुरस्कार गायक रोशन गुरुङ, संगीतकार ताराप्रकाश लिम्बु, गीतकार मनोज खड्का, गायिका सरिता शाही, संगीत संयोजक चाँद सिंह र रेकर्डिष्ट महेश्वर राजभण्डारीलाई प्रदान गरिएको थियो ।

यस्तै सम्मान एवम् पुरस्कार समारोहमा ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०८१’बाट गायिकाद्धय सहिमा श्रेष्ठ, बिपना तामाङ र गायक सुरेश लामालाई प्रदान गरियो । यसै गरी ‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार २०८१’बाट शास्त्रीय संगीतकार प्रमोद उपाध्यायलाई पुरस्कृत गरियो । समारोहमा ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०८१’बाट पत्रकारद्धय अनन्त वाग्ले र गीता अधिकारीलाई पुरस्कृत गरियो । कार्यक्रममा पुरस्कृत एवम् सम्मानित कलाकारहरूले सो समारोहमा नातिकाजीद्धारा संगीतबद्ध चार वटा गीतहरू प्रस्तुत गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कृत एवम् सम्मानित सबैलाई बधाई दिए । उनले नेपाली लोक भाका पछ्याउँदै आधुनिक गीतसंगीतको सिर्जनामा नातिकाजीले पु¥याएको योगदान अनुकरणीय रहेको बताए । कार्यक्रममा उनले भने, ‘नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उहाँलाई नेपाली गीतसंगीतप्रेमीहरूको माझ सदैव अमर बनाइराखेको छ । विशेषतः उहाँका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली संगीतको गौरवलाई बढाएको छ ।’

सो समारोहमा बोल्दै नातिकाजी स्मृति समाजका अध्यक्ष एवम् अग्रज संगीतकार शम्भुजीत बासकोटाले २०८२ साल फागुनमा प्रदान गरिनु पर्ने यो सम्मान एवम् पुरस्कार मुलुकको निर्वाचन एवम् अन्य परिस्थितिले यति बेला आयोजना गरिएको हो भने । नेपाली सुगम संगीतमा संगीत महर्षि नातिकाजीको योगदानको चर्चा गर्दै नेपाली गीत संगीतमा लागेका स्रष्टाहरूलाई प्रोत्साहन गर्न एक दशक भन्दा लामो समयदेखि समाजका तर्फबाट यो पुरस्कार एवम् सम्मान आयोजना गर्दै आएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

सामसङ नेपालद्वारा विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना