सरकारको नीति तथा कार्यक्रमः ‘डिजिटल अर्थतन्त्र’देखि ‘हरित उद्योग’सम्म

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३-०८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत अर्थतन्त्रको संरचनात्मक सुधार, डिजिटल रूपान्तरण, हरित औद्योगिकीकरण, कृषि आधुनिकीकरण र लगानीमैत्री वातावरण निर्माणलाई मुख्य प्राथमिकतामा राखेको छ ।

‘पुराना प्रतिबद्धताको निरन्तरता, अर्थतन्त्र सुधारका महत्वाकांक्षी घोषणा

राष्ट्रपति रामचन्द्र पौडेलमार्फत संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमले आगामी दशकलाई रूपान्तरणकारी आर्थिक सुधारको दशकका रूपमा अघि बढाउने लक्ष्य लिएको छ ।

यसपटकको नीति तथा कार्यक्रममा विगतका वर्षभन्दा फरकरूपमा ‘सीमारहित अर्थतन्त्र’, ‘डिजिटल प्लेटफर्ममा आधारित कर प्रणाली‘, ‘हरित कर’, ‘ग्रीन हाइड्रोजन’, ‘क्लाउड सेवा’, ‘एआई कम्प्युटेसन’ र ‘टेक हब नेपाल’ जस्ता नयाँ अवधारणा समेटिएका छन् । यसपटकको नीति तथा कार्यक्रमलाई ‘डिजिटल अर्थतन्त्र र हरित उद्योगतर्फ केन्द्रित’ दस्तावेजका रूपमा व्याख्या गरिएको छ ।

सरकारले आगामी दशकमा औसत ७ प्रतिशत वास्तविक आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राख्दै नयाँ चरणको आर्थिक सुधार शृंखला लागू गर्ने घोषणा गरेको छ । उत्पादन लागत घटाउने, व्यवसायमैत्री वातावरण बनाउने, कानुनी तथा नीतिगत अवरोध हटाउने र विदेशी तथा प्रवासी लगानी आकर्षित गर्ने योजना प्रस्तुत गरिएको छ । यसका लागि उत्पादन लागत घटाउने, कानुनी अवरोध हटाउने, विदेशी र प्रवासी लगानी आकर्षित गर्ने तथा दीर्घकालीन नीतिगत स्थिरता कायम गर्ने प्रतिबद्धता जनाइएको छ ।

यसपटक सरकारले सम्पूर्ण आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगदरहित अर्थतन्त्र निर्माण गर्ने, कर फिर्ता प्रणाली स्वचालित बनाउने तथा ‘हरित कर’ प्रणाली लागू गर्ने घोषणा गरेको छ । यस्तो स्पष्ट डिजिटल कर प्रशासनको अवधारणा अघिल्लो वर्ष थिएन ।

‘नयाँ भाषा’मा पुरानै एजेन्डा
पुराना दलको शैलीको आलोचना गर्दै उदाएको नयाँ सत्ता नेतृत्वले प्रस्तुत गरेको कार्यक्रम हेर्दा भाषागत शैली र प्रस्तुतीकरण फरक भए पनि अधिकांश कार्यक्रम अघिल्ला सरकारकै निरन्तरता देखिएको छ ।

विशेषगरी कृषि, ऊर्जा, सहकारी, पूर्वाधार, डिजिटल कारोबार, पर्यटन र लगानी प्रवद्र्धनका क्षेत्रमा उल्लेख गरिएका धेरै योजना यसअघि कांग्रेस, एमाले र माओवादी नेतृत्वका सरकारले पनि नीति तथा कार्यक्रममा राख्दै आएका कुरा दोहोरिएका छन् । यसपटक ती कार्यक्रमलाई ‘डिजिटल‘, ‘हरित‘, ‘रूपान्तरण‘ र ‘सेवा–आधारित अर्थतन्त्र‘ जस्ता नयाँ फ्रेमिङमा पुनः प्रस्तुत गरिएको छ ।

‘डिजिटल’ शब्दले सजिएको पुरानै अर्थतन्त्र
सरकारले सम्पूर्ण आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगदरहित अर्थतन्त्र निर्माण गर्ने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे, डिजिटल कर प्रणाली, पेपरलेस सेवा, क्लाउड सेवा र एआई कम्प्युटेसनलाई प्राथमिकतामा राखिएको छ ।

तर नेपालमा डिजिटल पेमेन्ट, क्युआर कारोबार, मोबाइल बैंकिङ र अनलाइन सेवा विस्तारको प्रक्रिया विगत केही वर्षदेखि तीव्र गतिमा अगाडि बढिरहेको छ । क्रसबोर्डर डिजिटल कारोबार र डिजिटल भुक्तानीसम्बन्धी धेरै काम कार्यान्वयनकै चरणमा छन् ।

यसकारण यसपटक सरकारले डिजिटल अर्थतन्त्रलाई नयाँ भाषामा ‘ब्रान्डिङ’ गरेको देखिए पनि आधारभूत संरचना र नीति भने पुरानै निरन्तरतामा आधारित रहेको विश्लेषण भइरहेको छ ।

सूचना प्रविधिलाई ‘रणनीतिक उद्योग’ घोषणा गर्नु र नेपाललाई ‘टेक हब’ बनाउने घोषणा भने तुलनात्मक रूपमा नयाँ र महत्वाकांक्षी पक्ष मानिएको छ । तर त्यसका लागि आवश्यक विद्युत्, डेटा सुरक्षा, उच्च गतिको इन्टरनेट, कानुनी संरचना र दक्ष जनशक्ति विकासको स्पष्ट रोडम्याप कार्यक्रममा उल्लेख गरिएको छैन ।

लगानी एक्सप्रेस : घोषणा नयाँ, समस्या पुरानै
सरकारले ‘लगानी एक्सप्रेस’ नीति ल्याउँदै व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्मका प्रक्रिया ३० दिनभित्र सम्पन्न गर्ने घोषणा गरेको छ । ‘लगानी भिसा’ र स्वचालित स्वीकृति प्रणाली पनि कार्यक्रममा समेटिएको छ ।

तर लगानी सहजीकरण, एकद्वार सेवा र स्वचालित स्वीकृतिको विषय विगत एक दशकदेखि प्रत्येक नीति तथा कार्यक्रममा दोहोरिँदै आएको एजेन्डा हो ।

नेपालमा लगानीकर्ताको मुख्य समस्या नीति घोषणा नभई कार्यान्वयन, प्रशासनिक झन्झट, अदालतमा अड्किने परियोजना, जग्गा प्राप्ति र नीतिगत अस्थिरता हो । यस’bout नीति तथा कार्यक्रममा ठोस संरचनागत सुधारको स्पष्ट खाका भने प्रस्तुत गरिएको छैन ।

कृषिमा पुरानै कार्यक्रमको पुनरावृत्ति
कृषि क्षेत्रसँग सम्बन्धित अधिकांश कार्यक्रम पुरानै ढाँचामा दोहोरिएका छन् । किसान परिचयपत्र, कृषि बीमा, न्यूनतम समर्थन मूल्य, भूमि बैंक, करार खेती, कृषि यान्त्रीकरण, सहुलियत ऋण र बाँझो जमिन उपयोगजस्ता विषय अघिल्ला कार्यक्रममै थिए ।

यसपटक सरकारले ‘डिजिटल कृषि’, ‘एग्रिटेक’ र ‘किसानलाई सिधै खातामा भुक्तानी’ जस्ता नयाँ शब्द थपेको छ । तर कृषि उत्पादन लागत घटाउने, बजार संरचना सुधार गर्ने, मल अभाव हटाउने र आयात प्रतिस्थापन गर्ने ठोस उपाय स्पष्ट रूपमा देखिँदैन ।

हरेक वर्ष कृषि आत्मनिर्भरताको नारा दोहोरिने भए पनि खाद्यान्न आयात निरन्तर बढिरहेको अवस्थामा नीति तथा कार्यक्रमले वास्तविक कृषि सुधारको नयाँ दृष्टिकोण दिन नसकेको टिप्पणी भइरहेको छ ।

सहकारी संकटमा व्यवस्थापन, समाधान होइन
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’ बनाउने घोषणा गरिएको छ । सहकारी नियमन र कर्जा सूचना प्रणालीलाई पनि सुदृढ बनाइने भनिएको छ ।

तर सहकारी संकटको मूल कारण राजनीतिक संरक्षण, कमजोर नियमन र संगठित वित्तीय दुरुपयोग हो । नीति तथा कार्यक्रममा यी संरचनागत समस्यालाई सम्बोधन गर्नेभन्दा संकट व्यवस्थापनकै शैली दोहोरिएको देखिएको छ ।

ऊर्जा क्षेत्रमा लक्ष्य ठूलो, तयारी सीमित
सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । निजी क्षेत्रलाई विद्युत् उत्पादन, प्रसारण र व्यापारमा थप खुला गरिने नीति पनि दोहोरिएको छ ।

तर प्रसारण लाइन विस्तार, आन्तरिक खपत वृद्धि, भण्डारण क्षमता र अन्तरदेशीय बजार विस्तारको चुनौती’bout स्पष्ट रणनीति छैन ।

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल गर्ने विषय पनि अघिल्ला सरकारकै कार्यक्रममा रहेको बुँदा हो । यसअघि पनि उच्चस्तरीय भ्रमणका क्रममा बारम्बार आश्वासन दिइए पनि व्यावसायिक उडान विस्तार हुन सकेको छैन ।

‘हरित’ र ‘रूपान्तरण’ शब्दको राजनीतिक प्रयोग
यसपटक नीति तथा कार्यक्रममा ‘हरित अर्थतन्त्र’, ‘कार्बन व्यापार’, ‘नेट जिरो’, ‘ग्रीन हाइड्रोजन’ र ‘हरित औद्योगिकीकरण’ जस्ता शब्दलाई प्रमुखताका साथ प्रयोग गरिएको छ ।

तर हरित बन्ड, कार्बन व्यापार र ऊर्जा–आधारित औद्योगिकीकरणको अवधारणा यसअघि पनि नीति दस्तावेजमा समावेश भइसकेका थिए । अहिले तिनै विषयलाई नयाँ राजनीतिक भाषामा पुनः प्याकेजिङ गरिएको छ ।

राजनीतिक भाषामा पनि परिवर्तन देखिएको छ । अघिल्ला कार्यक्रमहरूमा ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा’, ‘प्रतिगामी शक्ति’ जस्ता राजनीतिक वाक्यांश बढी प्रयोग हुने गरेका थिए । यसपटक भने ‘उत्तरदायी शासन’, ‘रूपान्तरणकारी सुधार’, ‘युवा पुस्ताको आकांक्षा’ र ‘डिजिटल सुशासन’ जस्ता शब्दावली प्राथमिकतामा छन् ।

यसले नयाँ सरकार आºनो राजनीतिक पहिचानलाई आधुनिक, प्राविधिक र प्रशासनिक सुधारमुखी देखाउन खोजिरहेको देखिएको छ ।

शिक्षा र रोजगारीमा महत्वाकांक्षी घोषणा
माध्यमिक तहसम्म निःशुल्क शिक्षा, १० हजार विद्यालयमा उच्च गतिको इन्टरनेट, एआई आधारित सिकाइ, रिमोट वर्कसम्बन्धी कानुन र ‘रोजगार प्रवर्धन दशक’ घोषणा कार्यक्रमका चर्चित बुँदा बनेका छन् ।

तर शिक्षामा गुणस्तर सुधार, शिक्षक व्यवस्थापन, विश्वविद्यालय सुधार र रोजगारी सिर्जनाका ठोस आर्थिक आधारबिना यस्ता घोषणा व्यवहारमा कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेका छन् ।

विशेषगरी ‘नेपालमै बसेर विदेशी कम्पनीमा काम’ गर्ने अवधारणा सकारात्मक भए पनि त्यसका लागि कर, श्रम कानुन, डिजिटल पूर्वाधार र अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली स्पष्ट हुन आवश्यक देखिएको छ ।

नगदरहित अर्थतन्त्र र डिजिटल कर प्रणाली
नीति तथा कार्यक्रममा सम्पूर्ण आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगदरहित, पारदर्शी र राजस्व चुहावटमुक्त अर्थतन्त्र निर्माण गर्ने घोषणा गरिएको छ । सरकारले कर संरचनाको पुनरावलोकन गरी उद्यमी र मध्यम वर्गमाथिको भार घटाउने उल्लेख गरेको छ ।

कर प्रशासनलाई प्रविधिमैत्री बनाउँदै मूल्य अभिवृद्धि करसहित सबै कर फिर्ता प्रणालीलाई स्वचालित र समयबद्ध बनाउने घोषणा गरिएको छ । साथै विभिन्न छरिएका शुल्कलाई एकीकृत गर्दै ‘हरित कर प्रणाली’ लागू गर्ने नीति पनि अघि सारिएको छ ।

पुँजी बजार सुधार र वैकल्पिक वित्त
सरकारले पुँजी बजारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने घोषणा गर्दै नेप्से, क्लियरिङ प्रणाली र धितोपत्र नियमन संरचनाको पुनःसंरचना गर्ने बताएको छ । संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फन्ड र गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने नीति लिइएको छ ।

ऋणपत्र, पूर्वाधार बन्ड र जोखिम व्यवस्थापन उपकरण विकास गरी दीर्घकालीन पुँजी निर्माण गरिने उल्लेख गरिएको छ । वैकल्पिक विकास वित्त, डायस्पोरा पुँजी र निजी लगानी परिचालन गरी पूर्वाधार वित्तपोषणको नयाँ मोडेल लागू गर्ने घोषणा पनि गरिएको छ ।

यसपटकको कार्यक्रममा पुँजी बजार सुधार, लगानी वातावरण र वैकल्पिक वित्तलाई प्रमुख प्राथमिकताका रूपमा चित्रण गरेका छन् ।

‘लगानी एक्सप्रेस’ नीति
लगानी वातावरण सुधार गर्न सरकारले ‘लगानी एक्सप्रेस‘ नीति लागू गर्ने घोषणा गरेको छ । व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्मका प्रक्रिया तीन दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

विदेशी लगानीसम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तार गरिने र तोकिएको रकमभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई ‘नेपाल लगानी भिसा’ उपलब्ध गराइने उल्लेख छ ।

विशेष आर्थिक क्षेत्र विस्तार, औद्योगिक ग्राम स्थापना, ग्रीन गार्मेन्ट उद्योग, सूचना प्रविधि पार्क र कृषि उत्पादन केन्द्र विकास गर्ने कार्यक्रम पनि समेटिएको छ ।

हरित अर्थतन्त्र र कार्बन व्यापार
सरकारले वन, वातावरण र ऊर्जालाई प्रत्यक्ष अर्थतन्त्रसँग जोड्ने गरी हरित अर्थतन्त्रको अवधारणा अघि सारेको छ । ‘नेपाल कार्बन प्राधिकरण‘ गठन गरी रेड–प्लस कार्यक्रम विस्तार गरिने र सामुदायिक वन समूहलाई कार्बन क्रेडिटबाट प्रत्यक्ष लाभ सुनिश्चित गरिने घोषणा गरिएको छ ।

वन डढेलो नियन्त्रणका लागि ड्रोन, स्याटेलाइट र रियल–टाइम निगरानी प्रणाली प्रयोग गरिने नीति पनि समेटिएको छ । काठमाडौं उपत्यकाको वायु गुणस्तर सुधारका लागि विशेष कार्ययोजना लागू गरिने बताइएको छ ।

ऊर्जा क्षेत्रमा ३० हजार मेगावाट लक्ष्य
सरकारले आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ । ऊर्जा, वन, भूमि र वातावरणसम्बन्धी कानुन परिमार्जन गरी जलविद्युत् आयोजनाका लागि एकद्वार प्रणाली लागू गरिने उल्लेख छ ।

ऊर्जामा आधारित उद्योग प्रवद्र्धन गर्दै ग्रीन हाइड्रोजन, हरित अमोनिया र रासायनिक मल उद्योगलाई कर तथा भन्सार छुट, सहुलियतपूर्ण विद्युत् दर र लगानी प्रोत्साहन दिइने घोषणा गरिएको छ ।

सार्वजनिक संस्थान पुनःसंरचना
सार्वजनिक खर्चलाई परिणाममुखी बनाउँदै सार्वजनिक संस्थानको वर्गीकरण गरी गाभ्ने, निजी क्षेत्रसँग सहकार्य गर्ने वा विनिवेश गर्ने स्पष्ट नीति सरकारले अघि सारेको छ ।

डिजिटल शासन, फेसलेस सेवा र प्रशासनिक सुधारलाई पनि प्राथमिकता दिइएको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम राख्ने र शासकीय सुधारका एक सय कार्यसूचीलाई कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारले दोहो-याएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप लिग-२ टस हारेर नेपाल बलिङ गर्दै