चौधौँ वर्षमा वाग्मती सफाइ महाअभियान

काठमाडौं ।  ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान आजदेखि १३ औँ वर्ष पूरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ ।

 विसं २०७० जेठ ५ गते राजधानी काठमाडौंको सभ्यताको स्रोत वाग्मतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाइ महाअभियान सुरु भएको थियो । पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो । पचासौँ हप्ताको कार्यक्रममा तत्कालीन राष्ट्रपति डा रामवरण यादवलगायत विशिष्ट व्यक्तित्वले गौरीघाटमा मुख धोएका थिए  ।
 
सफाइ महाअभियानको नेतृत्व तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले गरे  । हालसम्म पनि उनको नेतृत्व जारी छ । त्यसबेलादेखि प्रत्येक हप्ता शनिबार बिहान गर्मीमा ७ः०० बजेदेखि ९ः०० बजेसम्म र जाडोमा ७ः३० बजेदेखि ९ः३० बजेसम्म वाग्मती नदीका विभिन्न स्थानको किनारमा सफाइ हुने गरेको छ । महाअभियान आगामी शनिबारदेखि ६८० औँ हप्तामा प्रवेश गर्दैछ ।

 वाग्मतीबाट हालसम्म २२ हजार मेट्रिक टनभन्दा बढी फोहर व्यवस्थापन भएको छ । महाअभियानमा १५ लाखभन्दा बढीले नदीमै गएर फोहर उठाएका छन् । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी एवं सामुदायिक संस्थाले पनि योगदान गरेका छन् । धेरै मानिसले महाअभियानलाई सहयोग गरे पनि उद्देश्य अनुसार उपलब्धि हुन नसकेको गुनासो सुनिने गरेको छ । 

महाअभियान १४ औँ वर्ष प्रवेश गरेकै बेला देशभरका ७५३ स्थानीय तहमा दोस्रो निर्वाचन सकिएको पनि दुई वर्ष पूरा भएको छ । महाअभियानका अभियानकर्मी डा माला खरेल फोहर व्यवस्थापनमा स्थानीय सरकारको साथ अत्यावश्यक पर्ने बताउँछन् । 

महाअभियानबाट प्रभावित भएर काठमाडौं उपत्यकामा वाग्मतीका सहायक नदी, वाग्मतीकै पनि विभिन्न स्थानमा सफाइ अभियान चलिरहेको छ । काठमाडौं उपत्यकाका हाल गुह्येश्वरीमाथिको वाग्मती, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, मैतीदेवी, रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, चक्रपथका उत्तरी र पश्चिमी भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्तेलगायत सांस्कृतिक सम्पदा गरी २५ स्थानभन्दा बढी ठाउँमा सफाइ भइरहेको छ । 

काठमाडौं उपत्यका बाहिरका प्रमुख सहर, नदी र सांस्कृतिक सम्पदामा पनि सफाइ अभियान चलेको छ । काठमाडौं उपत्यका बाहिर करिब १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ । महाअभियानले देशव्यापी रुपमा सफाइ जागरण फैल्याउन सफल भएको छ । 

अभियानको सफलताका लागि स्थानीय सरकारले साथ दिनुपर्ने अभियानकर्मीको माग छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर देशभर चलिरहेको सफाइ अभियानले स्थानीय सरकारकै काममा सहयोग गरिरहेको भए पनि स्थानीय सरकारको ध्यान नजाँदा हुनुपर्ने जति प्रभावकारी नभएको टिप्पणी हुने गरेको छ ।

महाअभियानले १४ औँ वर्ष प्रवेशको कार्यक्रम विशेषरुपमा गरेको छ । यसअघिका कार्यक्रम अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँगको सहकार्यमा गर्ने गरिएकामा यसपटक भने अभियानकर्मीकै समूहले बानेश्वरमा गरेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए  । 

सो अवसरमा बानेश्वर क्याम्पसअघिको वाग्मती नदी किनारमा सफाइ गरी त्यहाँ बिरुवा पनि रोपिएको उनले बताए  । आज रोपिएका बिरुवा पाँच फिटभन्दा अग्ला मात्र छन् ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्‍याउन आग्रह