बैतडी । बैतडीका कोरोना संक्रमित २२ बर्षीय युवकले कोरोना जितेर आइसोलेसनबाट डिस्चार्ज भएका छन् । आइसोलेशनमा भर्ना भएको १३ औं दिनमा बुधबार जिल्लाको शिवनाथगाउँपालिका २ का ती युवकले कोरोना जितेका हुन् । यही जेठ ९ गते कोरोना पुष्टि भएपछि जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरी उनको उपचार सुरु गरिएको थियो ।
धनगढी प्रयोगशालामा लगातार गरिएको पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर बशन्तराज जोशीले जानकारी दिए । संक्रमण पुष्टि भएको कम्तीमा १० दिनमा पुनः लगातार २ पटक (२४ घण्टामा) पिसिआर गर्दा नेगेटिभ आए कोरोना निको भएको मानिन्छ । ती युवकको लगातार दुईपटक थ्रोट स्वाबको नमूना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।
कोरोना जित्ने युवक कारागार चलान
बुधवार कोरोना जितेर जिल्ला अस्पतालबाट डिस्चार्ज भएका शिवनाथ गाउँपालिका २ का २२ बर्षीय ती युवक डिस्चार्जभएसंगै कारागार चलान भएका छन् । कर्तव्य ज्यान मुद्धामा वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका बेला ती युवकलाई जेठ ९ गते पुष्टि भएको थियो । कर्तव्य ज्यान मुद्धाका ती युवकलाई जिल्ला अदालत बैतडीले यसअघि नै पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइसकेकोले ती युवकलाई कारागार पठाईएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।
गत वैशाख १३ गते शिवनाथकै १९ बर्षीया युवती हत्याको आरोपमा ती युवक वैशाख १५ देखि प्रहरी हिरासतमा रहेका थिए । ती युवक चैत ६ गते भारतको दिल्लीबाट फर्किएका थिए । यसअघि ती युवकमा कोरोना पुष्टि भएपछि हिरासतमै रहेकी बहिनी, सम्पर्कमा रहेका प्रहरी, अदालतका कर्मचारी, प्रशासनका कर्मचारी, स्वास्थ्यकर्मी, आफन्त लगायतको गरी ९९ जनाको पिसिआर परिक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आइसकेको छ ।