दीर्घकालीन परिवर्तन आफैंबाट सुरु गरौं

हाम्रोवरिपरि भएका हरेक कुरा कसरी एकअर्कासँग जोडिएका छन् ? मानव गतिविधिले वातावरणमा कस्तो प्रभाव पारिरहेको छ ? र त्यसमा हाम्रो योगदान कति ठूलो छ ?’ भन्ने युवापुस्ता बिस्तारै बुझ्दै छन् । हालै निजी फोहोर व्यवस्थापन संस्थाको ‘फिल्ड भिजिट’क्रममा एक कामदारले भनेको एउटा वाक्यले निकै सोच्न बाध्य बनायो । उनी भन्दै थिए, ‘साधारण मानिसले होइन, विशेषज्ञले हामीलाई काम गर्न दिँदैनन् । अनि पढेलेखेका मानिसलाई भन्दा नपढेका मानिसलाई हाम्रो काम बुझाउन झन् सजिलो हुन्छ ।’

पहिलोपटक सुन्दा त्यो कुरा अनौठो लाग्यो । तर, जति त्यस’bout सोच्दै गएँ, त्यति नै त्यसको अर्थ महसुस भयो । कुरा साँचै गहिरो रहेछ । हामी आ–आफ्नो क्षेत्रमा विशेषज्ञ बन्दै जाँदा प्रायः एउटै दृष्टिकोणमा सीमित हुन पुग्छौं । हामी कुनै एउटा पक्षमा यति धेरै केन्द्रित हुन्छौं कि हरेक समस्या अन्य धेरै पक्षसँग जोडिएका छन् भन्ने नै बिर्सन्छौं । विशेषगरी, वातावरणजस्तो क्षेत्रलाई एउटै दृष्टिकोणबाट मात्र हेरेर सम्भव हुँदैन । दिगोपनका लागि सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक र मानवीय सबै पक्षबाट समस्या बुझ्न आवश्यक हुन्छ । तबमात्र वास्तविक परिवर्तन सम्भव छ ।

आज विकास र वातावरण संरक्षण विषयमा जताततै छलफल भइरहेका छन् । टक शो, ¥याली, प्यानल डिस्कसन, सेमिनारजस्ता कार्यक्रम निरन्तर भइरहेका छन् । यिनले केही हदसम्म चेतना पनि फैलाउँछन् । तर, कहिलेकाहीँ सोच्ने गर्छु, के यिनले साँच्चै व्यवहार परिवर्तनमा सहयोग गरिरहेका छन् त ? धेरैजसो छलफलमा ’यो गर्नुपर्छ’, ’त्यो नीति लागू गर्नुपर्छ’ भन्ने बहस बारम्बार सुनिन्छन् । केही हदसम्म यस्ता छलफलले नीति निर्माणकर्तालाई प्रभाव पनि पार्छन् र अन्ततः नीति पनि बन्छन् । तर, वास्तविक प्रश्न के हो भने ती नीति साँच्चै कार्यान्वयन भइरहेका छन् त ? र त्यो कार्यान्वयन अनुगमन कसले गरिरहेको छ ?

यदि फोहोर व्यवस्थापनकै उदाहरण लिने हो भने स्रोतमै फोहोर वर्गीकरण गर्नुपर्छ अनिमात्र प्रभावकारी व्यवस्थापन सम्भव हुन्छ भन्ने धेरै सुनिन्छ । स्थानीय तहले घरमै फोहोर वर्गीकरण गरेरमात्र फाल्नुपर्ने नियमसमेत बनाएका छन्, नत्र जरिमाना तिर्नुपर्ने व्यवस्था पनि छ । तर, वास्तविकतामा हेर्दा धेरै कमले मात्रै त्यसलाई पालना गरिरहेका छन् । हाम्रो सोच नै ‘को आएर जाँच गर्छ र ?’ भन्ने मानसिकतामा अडिएको छ । हामी नीति, नियम र सफा वातावरणको माग त गर्छौं, तर त्यही नियम आफैंले पालना गर्न भने हिच्किचाउँछौं । हामीलाई सफा र सुन्दर वातावरण चाहिन्छ, तर त्यसलाई जोगाउन आफ्नै तर्फबाट योगदान दिन भने धेरैजसो तयार हुँदैनौं । कतै न कतै हाम्रो व्यक्तिगत सहजता वातावरणीय जिम्मेवारीभन्दा ठूलो बन्न पुगेको छ ।

अधिकांश ठाउँमा उचित व्यवस्थापन प्रणाली छैन, यो सत्य हो । तर त्योभन्दा ठूलो समस्या हाम्रो सोचाइ हो । ‘कसैले त सफा गरिहाल्छ’ भन्ने मानसिकताले नै वातावरण झन् बिगारिरहेको छ । मलाई सधैं ‘दूधपोखरी’को कथा याद आउँछ । सबैले दूध हाल्ने भनिएको पोखरीमा एकजनाले ‘मैले पानी हाल्दा के नै फरक पर्छ र ?’ भनेर पानी हाल्यो । पछि सबैले त्यही सोच्न थाले र दूधपोखरी बन्नुपर्ने ठाउँ पानीपोखरी बन्यो । यदि एक–दुई जनाले मात्रै दूध हालेका भए पनि त्यसको कुनै अर्थ रहने थिएन ।
आज हाम्रो वातावरणप्रतिको व्यवहार पनि ठीक त्यस्तै भइरहेको छ । एक–दुई जना जिम्मेवार भएरमात्र पुग्दैन । परिवर्तन तबमात्र सम्भव हुन्छ, जब समाजले सामूहिकरूपमा आफ्नो सोच र व्यवहार परिवर्तन गर्छ । यदि एक जनाले फोहोर नफाल्ने बानी बसाल्यो भने त्यसले अर्को व्यक्तिलाई पनि प्रभाव पार्न सक्छ । त्यसरी नै विस्तारै परिवर्तन फैलिन्छ । वास्तविक परिवर्तन नीति र भाषणले मात्र होइन, व्यक्तिगत व्यवहार र उदाहरणबाट सुरु हुन्छ ।

अर्को महत्वपूर्ण कुरा के हो भने धेरै मानिसले ‘वातावरण’ शब्दलाई निकै सीमित अर्थमा बुझ्ने गरेका छन् । कसैले ‘वातावरण विज्ञान पढ्छु’ भन्दा तुरुन्तै मानिसका दिमागमा रुख, हरियाली, प्रदूषण वा फोहोर सफाइ मात्र आउँछ । तर, वातावरण जंगल र हरियालीमै सीमित छैन । वातावरण मानिस, समाज, व्यवहार, जीवनशैली र हामीले निर्माण गरेका प्रणाली पनि हुन् । मानिसको सोच परिवर्तन नभएसम्म वातावरण संरक्षण सफल हुन सक्दैन । आजको समय व्यवहार परिवर्तन नै दिगोपनको सबैभन्दा महत्वपूर्ण पक्षमध्ये बनेको छ । जबसम्म हामी आफैंले आफ्ना व्यवहार समीक्षा गरेर परिवर्तनका लागि तयार हुँदैनौं, वातावरणीय विनाश जारी रहन्छ । पृथ्वी बचाउने जिम्मेवारी वातावरणविद् वा नीति निर्माणकर्ताको मात्र होइन, पृथ्वीमा बस्ने हरेक व्यक्तिको साझा जिम्मेवारी हो ।

हामी पृथ्वीमा जन्मिएसँगै एउटा ‘इकोसिस्टम’को हिस्सा बनिसकेका हुन्छौं । आज वातावरणीय विनाशको मुख्य कारण मानव गतिविधि नै हो, तर जिम्मेवार निर्णय र सचेत जीवनशैली अपनाएर त्यसलाई सुधार्ने क्षमता पनि मानवमै छ । यही सन्दर्भमा वातावरणीय समस्याको अर्को महत्वपूर्ण पक्ष’bout पनि सोच्न आवश्यक छ । हामी प्रायः वातावरणीय समस्या समाधान भनेको नयाँ प्रविधि, नयाँ योजना वा नयाँ नीति मात्र हो भन्ने ठान्छौं । नवीकरणीय ऊर्जा, विद्युतीय सवारीसाधन, आधुनिक फोहोर व्यवस्थापन प्रणाली वा कार्बन उत्सर्जन घटाउने प्रविधि निश्चय नै आवश्यक छन् । तर, वातावरणीय समस्या प्राविधिक समस्यामात्र होइन, यो गहिरोरूपमा व्यवहारिक र सामाजिक समस्या पनि हो ।
यदि प्रविधिले मात्र समस्या समाधान गर्ने हो भने संसारका सबैभन्दा विकसित देशहरू वातावरणीय संकटबाट मुक्त भइसक्नुपर्ने थियो । तर, पर्याप्त ज्ञान, स्रोत र प्रविधि हुँदाहुँदै पनि उनीहरू जलवायु परिवर्तन, अत्यधिक उपभोग र स्रोत दोहनजस्ता समस्यासँग संघर्ष गरिरहेका छन् । यसले देखाउँछ कि वातावरणीय समस्याको जड प्रविधि अभावमा होइन, हाम्रो सोच, जीवनशैली र प्राथमिकताहरूमा पनि छ । आजको समाजमा उपभोक्तावादी संस्कृतिले वातावरणमाथि थप दबाब दिएको अवस्था छ । सफलता मापन प्रायः हामीसँग भएका वस्तुबाट गरिन्छ । नयाँ फोन, नयाँ गाडी, नयाँ कपडा वा नयाँ घरलाई प्रगतिका प्रतीकका रूपमा हेरिन्छन् ।
सामाजिक सञ्जाल र विज्ञापनले पनि यही धारणा बलियो बनाइरहेका छन् । तर, हामीले प्रयोग गर्ने हरेक वस्तुको पछाडि प्राकृतिक स्रोतको ठूलो उपयोग जोडिएको हुन्छ । हामीले किनेको एउटा सामानको मूल्य पसलमा तिरेको रकममात्र होइन, त्यसमा प्रयोग भएको पानी, ऊर्जा, कच्चा पदार्थ र वातावरणीय प्रभाव पनि हो ।

समस्या वस्तु प्रयोग गर्नुमा होइन, अनावश्यक उपभोगमा छ । आवश्यकताभन्दा बढी उपभोग गर्ने, छिट्टै फाल्ने र फेरि नयाँ किन्ने संस्कृतिले प्राकृतिक स्रोतहरूमाथि असाध्यै ठूलो दबाब उत्पन्न गरिरहेको छ । दिगोपनको अर्थ विकास रोक्नु होइन, बरु आवश्यकताअनुसार जिम्मेवारीपूर्वक उपभोग गर्नु हो । यसैसँग वातावरणीय शिक्षाको भूमिका’bout पनि सोच्नुपर्छ । विद्यालय र विश्वविद्यालयमा वातावरणीय शिक्षा पढाइनु महत्वपूर्ण छ, तर वातावरणीय शिक्षा भनेको पाठ्यपुस्तकका परिभाषा सम्झिनु वा परीक्षा उत्तीर्ण गर्नुमात्र होइन । वास्तविक वातावरणीय शिक्षाले मानिसलाई आफ्नो जीवनशैली’bout प्रश्न गर्न सिकाउँछ । मैले प्रयोग गरिरहेको ‘वस्तु कहाँबाट आयो ? मैले फालेको फोहोर कहाँ पुग्छ ? मैले प्रयोग गर्ने पानी र ऊर्जा कसरी उत्पादन हुन्छ ? मेरो निर्णयले अरू मानिस र प्रकृतिमा कस्तो प्रभाव पार्छ ?’ जब शिक्षाले यस्ता प्रश्न जन्माउन थाल्छन्, तबमात्र त्यसले व्यवहार परिवर्तन गराउन सक्छ ।

वातावरणीय शिक्षाको अन्तिम उद्देश्य वातावरणविद् उत्पादन गर्नुमात्र होइन, जिम्मेवार नागरिक उत्पादन गर्नु पनि हो । वातावरण संरक्षणको अर्को महत्वपूर्ण पक्ष स्थानीय ज्ञानको सम्मान हो । धेरै समुदायले पुस्तौंदेखि प्रकृतिसँग सहअस्तित्वमा आधारित जीवनशैली अपनाएका छन् । नेपालका विभिन्न ग्रामीण क्षेत्रमा पानीका स्रोत संरक्षण, सामुदायिक वन व्यवस्थापन, जैविक खेती, बिउ संरक्षण र स्रोतको साझा उपयोगजस्ता अभ्यास लामो समयदेखि चलिआएका छन् । यस्ता अभ्यास परम्परासँगै दिगोपनका व्यवहारिक उदाहरण पनि हुन् । यसको अर्थ आधुनिक विज्ञान आवश्यक छैन भन्ने होइन । बरु, आधुनिक वैज्ञानिक ज्ञान र स्थानीय अनुभवबीचको सहकार्यले नै धेरै अवस्थामा दिगो समाधान दिन सक्छ । विकासका योजना बनाउँदा स्थानीय समुदायको अनुभव र आवश्यकता सुन्नु उत्तिकै आवश्यक छ ।
वातावरणीय विषयमा काम गर्दा मानिसले प्रायः एउटा प्रश्न सोध्छन्, ‘मैले एक्लैले के गर्न सक्छु र ?’ यो प्रश्न स्वाभाविक हो । विश्वव्यापी जलवायु परिवर्तन, प्लास्टिक प्रदूषण वा जैविक विविधताको ह्रासजस्ता विशाल समस्याका अगाडि एउटा व्यक्तिको योगदान सानो लाग्न सक्छ । तर, इतिहास हेर्दा धेरै सामाजिक परिवर्तन यस्तै साना व्यक्तिगत प्रयासबाट सुरु भएका छन् । यदि एउटा व्यक्तिले प्लास्टिक प्रयोग घटाउँछ भने त्यसले संसार परिवर्तन नगर्न सक्छ । तर त्यही बानी हजारौं मानिसले अपनाए भने त्यसको प्रभाव ठूलो हुनसक्छ । यदि एउटा व्यक्तिले फोहोर वर्गीकरण सुरु गर्छ भने त्यसले सम्पूर्ण प्रणाली परिवर्तन नगर्न सक्छ, तर त्यसले परिवार, साथीभाइ र समुदायमा सकारात्मक प्रभाव पार्न सक्छ । परिवर्तनको सुरुवात व्यक्तिगत तहबाट हुन्छ र विस्तारै सामूहिक रूप लिन्छ ।

आज वातावरणीय संकटका समाचारले कहिलेकाहीँ निराशा पनि पैदा गर्छन् । बढ्दो तापक्रम, वन विनाश, प्रदूषण, पानी अभाव र प्राकृतिक विपत्तिका घटनाले भविष्यप्रति चिन्ता बढाउँछन् । तर, वातावरणीय क्षेत्रमा काम गर्ने मानिसले आशा गुमाउनु हुँदैन । संसारभर धेरै नदी पुनर्जीवित भएका छन्, धेरै प्रदूषित क्षेत्र सुधारिएका छन् र धेरै लोपोन्मुख प्रजाति संरक्षण प्रयासका कारण पुनः वृद्धि भएका छन् । नेपालमा सामुदायिक वन व्यवस्थापन स्वयं एउटा प्रेरणादायी उदाहरण हो, जहाँ स्थानीय सहभागिताले उल्लेखनीय सफलता हासिल गरेको छ ।

त्यसैगरी, विकास र वातावरण संरक्षणबीच सधैं केही न केही सम्झौता र जटिल निर्णय रहनेछन् । अवश्य पनि विकास गर्दा केही न केही असर वातावरणमा पर्छ । एउटा समस्या समाधान गर्दा अर्को क्षेत्रमा प्रभाव पर्न सक्छ । तर, मुख्य कुरा त्यो असरको मात्रा कति छ र त्यसलाई कम गर्न वा क्षतिपूर्ति गर्न हामीले के गरिरहेका छौं ? भन्ने हो । दिगो विकास आर्थिक वृद्धि, सामाजिक समानता र वातावरण संरक्षण गरी तीन मुख्य आधारमा टिकेको हुन्छ ।

केही परिस्थितिमा सामाजिक वा आर्थिक आवश्यकता ठूलो भएकाले विकासलाई प्राथमिकता दिनुपर्ने अवस्था आउन सक्छ । तर, विकासलाई प्राथमिकता दिनु भनेको वातावरणीय असरलाई बेवास्ता गर्नु होइन । सबैभन्दा महत्वपूर्ण कुरा ती असरलाई हामीले ‘कति जिम्मेवारीपूर्वक व्यवस्थापन गर्छौं ?’ भन्ने हो । वातावरणीय क्षति उल्ट्याउन नसकिने हुनु हुँदैन । यदि क्षति हुन्छ भने त्यसको न्यूनीकरण, पुनस्र्थापना र क्षतिपूर्तिका लागि गम्भीर प्रयास हुनुपर्छ । कुनै निर्माण कार्यका लागि एउटा रुख काट्नुप¥यो भने त्यसको सट्टामा वृक्षारोपण, पारिस्थितिक पुनस्र्थापना वा अन्य क्षतिपूरक उपाय आवश्यक हुन्छन् । जिम्मेवारीविहीन विकासले वातावरणीय संकटलाई झन् गहिरो बनाउँछ ।

वातावरण संरक्षण आधुनिक विकासलाई अस्वीकार गर्नु वा ढुंगे युगमा फर्किनुमात्रै होइन । यसको अर्थ जिम्मेवारीपूर्वक अघि बढ्न सिक्नु, मानव आवश्यकता र वातावरणीय दिगोपनबीच सन्तुलन कायम गर्नु तथा विकास तथा संरक्षण एकअर्काका प्रतिस्पर्धी होइनन्, बरु सँगै रहनुपर्ने बुझ्न जरुरी छ । वातावरण संरक्षण कुनै एउटा परियोजना, संस्था वा सरकारी निकायको जिम्मेवारीमात्र पनि होइन । यो हाम्रो दैनिक जीवनसँग जोडिएको विषय हो । हामीले प्रयोग गर्ने पानी, खाने खाना, उत्पादन गर्ने फोहोर, प्रयोग गर्ने ऊर्जा र लिने निर्णय सबै वातावरणसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् । हामी प्रायः ठूला परिवर्तनको प्रतीक्षा गर्छौं । नयाँ नीति बनोस्, सरकार सक्रिय होस्, प्रविधि विकसित होस्, कसैले आएर समस्या समाधान गरिदियोस् भन्ने आशा राख्छौं । तर वास्तविकता के हो भने दीर्घकालीन परिवर्तन सधैं व्यक्तिको सोचबाट सुरु हुन्छ ।

वातावरण संरक्षणको यात्रा कुनै ठूलो नाराबाट सुरु हुँदैन । यो बाटोमा फोहोर नफाल्ने निर्णयबाट सुरु हुन सक्छ । पानी अनावश्यक रूपमा खेर नफाल्ने बानीबाट सुरु हुन सक्छ । आवश्यकभन्दा बढी उपभोग नगर्ने निर्णयबाट सुरु हुन सक्छ । वा अरूको दृष्टिकोण बुझ्ने र सहकार्य गर्ने संस्कृतिबाट सुरु हुन सक्छ । सायद वातावरण जोगाउने सबैभन्दा ठूलो चुनौती प्रविधि विकास गर्नु होइन, हाम्रो सोच परिवर्तन गर्नु हो । र, जब सोच परिवर्तन हुन्छ, व्यवहार परिवर्तन हुन्छ । व्यवहार परिवर्तन भएपछि समाज परिवर्तन हुन थाल्छ । अनि त्यही परिवर्तनले दिगो र स्वस्थ भविष्य निर्माण गर्ने आधार तयार गर्छ । हरेक व्यक्तिले वातावरण संरक्षणमा आफ्नो भूमिका बुझ्न आवश्यक छ, किनकि वातावरणीय क्षति सधैं उल्ट्याउन सकिने हुँदैन । जस्तै भनिन्छ नि, ‘उपचारभन्दा सावधानी नै उत्तम हुन्छ ।’
(लेखकको यो निजी विचार हो)

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौं महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण