काठमाडौं । राष्ट्रियसभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधानमा दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिको आज बसेको बैठकमा सभापति जयन्तीदेवी राईले सीमा विवादको दीर्घकालीन समाधान गर्न स्थानीय जनता, प्रशासन र सम्बन्धित निकायबीच बृहत छलफल गरेर दीर्घकालीन समाधान निकाल्न निर्देशन दिएकी हुन्।
छलफलमा गृह सचिव राजकुमार श्रेष्ठले हुम्ला र बाजुराको सिमानामा पर्ने लाम्पाटा च्याचौर क्षेत्र (रानीसैन) मा चर्किएको सीमा विवाद अहिले सामान्य अवस्थामा आएको जानकारी दिए। साथै, बैठकमा उपस्थित प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समितिलाई त्यहाँको सुरक्षा अवस्था’bout जानकारी दिए।
महानिरिक्षक कार्कीले प्रहरीसँग प्रयाप्त स्रोतसाधानको अभाव भएकाले अस्थायी संयुक्त सुरक्षा वेस बनाउन गृहकार्य भइरहेको बताए।
उनले घटनामा संलग्न दोषीलाई कारबाही गर्ने प्रक्रिया तीव्र रुपमा अगाडि बढेको बताए। सशस्त्र प्रहरी बल महानिरिक्षक नारायणदत्त पौडेलले भौगोलिक रुपमा हुम्ला र बाजुराको सिमानामा पर्ने उक्त थलो निकै दुर्गम भएको बताए।
बैठकमा सांसद, नारायणदत्त मिश्र, रोशनी मेचे, श्रीकृष्णप्रसाद अधिकारी, सोनाम गेल्जेन शेर्पा, किरणबाबु श्रेष्ठ, धर्मेन्द्र पासवानले सीमा विवादका कारण उब्जिएको विवादलाई छिटो र दीर्घकालीन रुपमा समाधान गर्न सुझाव दिएका थिए।
जेठ ३ गते बाजुराको हिमाली गाँउपालिका–३ लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी बनाउने विषयलाई लिएर हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयबीच विवाद सुरु भएको थियो। विवादमा कुटपिट र झडप हुँदा स्थानीय घाइतेसमेत भएका थिए।
सम्बन्धित समाचार
विद्यालयमै महिनावारी आराम कक्ष
अन्धकारमै बझाङ !
राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
सुदूरपश्चिमको टीकापुरमा उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन हुँदै
हुम्लाको बौल्यानामा खानेपानी समस्या
धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह






