काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिकाभित्रका सबै घरको सामूहिक बिमा गरिने भएको छ। पालिकाभित्र विसं २०७२ बैशाख १२ को विनाशकारी भूकम्पअघि बनेका पक्की घर तथा भूकम्पपछि पुनर्निर्माणको मापदण्ड पूरा गरेका सबै घरको बिमा गर्न लागिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए।
गाउँपालिकाले पालिकाका सबै नागरिकको निजी आवास तथा अन्य सरकारी एवं गैरसरकारी भवनको जोखिम न्यूनीकरणका लागि बिमा गर्ने कार्यक्रम सुरुआत गरिएको उनले बताए।
घरको सामूहिक बिमा गर्न गाउँपालिका र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ। ‘सम्झौतालगत्तै गाउँपालिकाको प्रशासकीय भवनको बीमा गरेर कार्यक्रमको औपचारिक सुरुआत भएको छ’, अध्यक्ष बन्जराले भने , ‘अब पालिकाभित्रका सबै घर र सरकारी तथा गैरसरकारी भवनको बिमा गरिनेछ।’
सामूहिक बिमा गरेका घरहरूमा कुनै पनि प्राकृतिक विपत्ति, आगलागी तथा अन्य जोखिमका कारण क्षति भएमा बिमामार्फत क्षतिपूर्ति रकम भुक्तानी हुनेछ। घर बिमाका लागि पालिकावासीले वडा कार्यालय मार्फत बिमा सेवा लिनसक्ने व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए।
पालिका र बिमा कम्पनीबीच भएको सम्झौतामा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर निर्माण गरिएका घर, भूकम्पपछि मापदण्डअनुसार पुनर्निर्माण गरिएका घरलाई बिमाको दायरामा समेटिने उनले बताए। तर बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रका घर तथा खोलानाला, सडक मापदण्डभित्र पर्ने संरचना र पूर्ण रूपमा काठ, टिन र माटोले बनेका घर भने बिमाको मापदण्डभित्र पर्ने उल्लेख छ।
गाउँपालिकाले प्रतिघर न्यूनतम वार्षिक २५० रुपैयाँ सम्पत्ति कर लिने र सोहीबाट बिमाका रकमको व्यवस्थापन गर्ने योजना बनाएको प्रसासकीय अधिकृत अधिकारीले बताए । ‘अहिलेसम्म करिब तीन हजार ५०० घरको बिमा हुन्छ भन्ने अनुमान गरिएको छ, बिमापछि प्राकृतिक विपत्तिबाट कुनै घरमा क्षति पुगे अधिकतम चार लाखसम्म क्षतिपूर्ति पाउनेछन्’, उनले भने।
उनका अनुसार बिमा कम्पनीले घरधनीका नाममा बिमा अभिलेख जारी गर्ने र क्षतिपूर्तिका लागि क्षति पुगेको ३० दिनभित्र बिमा कम्पनीलाई जानकारी गराउनुपर्ने सम्झौता उल्लेख गरिएको छ।












