पवित्र धार्मिक स्थल गन्याप शिखर पुग्ने पदमार्ग निर्माण हुँदै

डडेल्धुरा । महाभारत पर्वतको घना जंगलभित्र एउटा विशाल शिला छ । त्यही शिलाभित्र भगवान् लाटा गन्यापको बास रहेको किम्बदन्ती स्थानीयबाट सुन्न सकिन्छ । शताब्दीयौंदेखि हजारौं श्रद्धालुको आस्थाको केन्द्र बनेको यही पवित्र स्थलसम्म पुग्ने बाटो भने निकै कठिन थियो । साँघुरो, चिप्लो र भिरालो गोरेटो पार गरेर मात्र पुग्न सकिने गन्याप शिखरसम्म पुग्न अब सहज हुने भएको छ ।

गन्यापधुरा गाउँपालिका–४ मा रहेको धार्मिक तथा पर्यटकीय महत्वको गन्याप शिखर शिलासम्म पुग्न करिब साढे चार सय मिटर पक्की पदमार्ग निर्माण गर्ने काम अहिले धमाधम भइरहेको छ । झण्डै ७२ लाख रुपैयाँको लागतमा निमर्णाधीन पदमार्गले शिखर पुग्ने यात्रालाई सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ ।

पहिले आधा मिटरभन्दा पनि साँघुरो रहेको परम्परागत गोरेटो बाटोलाई अहिले झण्डै तीन मिटर फराकिलो गरी ढुंगा बिछ्याएर पक्की बनाइन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङले जानकारी दिए । बाटोको भिरतिर फलामको रेलिङ र पर्खालसमेत निर्माण गरिँदै छ । उनका अनुसार निर्माण सम्पन्न भएपछि भक्तजन र पर्यटकलाई शिखरसम्म पुग्न निकै सहज हुनेछ । तर निर्माण कार्य भने सजिलो छैन । सडक नपुगेको दुर्गम शिखर क्षेत्रमा निर्माण सामग्री खच्चरमार्फत् ढुवानी गरिँदै छ ।

सडक पुगेको स्थानबाट शिखरसम्म एक बोरा सिमेन्ट पु¥याउन मात्रै तीन सय रुपैयाँ खर्च भइरहेको गाउँपालिकाका प्राविधिक केशव साहुले जानकारी दिए । यही कारण बजेट ठूलो देखिए पनि वास्तविक कामको लागत अत्याधिक बढेको उनको भनाइ छ ।

गन्याप शिखरसँग जोडिएको किन्वदन्ती स्थानीय समाजमा आज पनि उत्तिकै जीवन्त छ । गन्यापधुरा–४ को रुमायल गाउँमा भगवान् गणेशको जन्म भएको थियो । पछि उहाँ सर्पको भेषमा महाभारत श्रृंखलाको शिखरतर्फ लाग्नुभयो र हालको गन्याप शिलामा पुगेर बिलिन हुनुभयो । विशाल शीलाको चारैतिर देखिने सर्पाकार आकृतिलाई स्थानीयहरूले यही घटनाको प्रमाणका रूपमा व्याख्या गरेको गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर कार्कीले बताए ।

अर्काे किन्वदन्ती अनुसार रेल गाउँका एक पार्की थरका स्थानीय निगालो काट्न जाँदा हसिया ढुंगामा रगटिएको थियो । त्यसपछि ढुंगाबाट लगातार रगत बग्न थालेपछि गाउँलेहरू भेला भएर पूजा गरेपछि मात्रै रगत बग्न रोकिएको र त्यहीँबाट लाटा गन्याप देवताको पूजा सुरु भएको जनविश्वास रहेको अध्यक्ष कार्कीले बताए ।

लाटा गन्यापलाई सुदूरपश्चिमकै शक्तिशाली देवतामध्ये एक मानिन्छ । विशेषगरी निःसन्तान दम्पतीले यहाँ पूजा गरे सन्तान प्राप्त हुने विश्वास पुस्तौँदेखि चल्दै आएको छ । हरेक वर्ष भाद्र शुक्ल पूर्णिमामा लाग्ने लाटा गन्यापधुरा मेलामा हजारौं श्रद्धालु सहभागी हुन्छन् । मेला भर्न आउनुभन्दा एक साताअघि नै भक्तजनले माछा, मासु, अण्डा, प्याज र लसुन त्यागेर शुद्ध भोजन ग्रहण गर्ने परम्परा रहेको अध्यक्ष कार्कीले बताए ।

गन्याप देवतालाई दुधधारी देवता मानिन्छ । यहाँ बली चढाउने चलन छैन् । दूध, फूल, अगरबत्ती र श्रद्धा नै मुख्य प्रसाद भएको उनले बताए ।

गन्याप शिखरको अर्काे विशेषता यस क्षेत्रका छवटा गाउँबाट संयुक्त रूपमा देउरो जाने परम्परा हो । गन्यापधुराका मालिगाउँ, रुमायल, जैसेरा, रेल तथा डोटीको शिखर नगरपालिकाका थप्सा र बान्डुग्रीसैनबाट पूजाआका बिशेष सामाग्रीसहित लोक बाजा दाइन दमाह, भोकर, शंक घण्टा बनाउँदै नेजा–ध्वजासहित देउरो (शोभायात्रा) शिखरतर्फ लैजाने गरिन्छ । दमाहा, शंख, घण्टा र भोकरको धुनसँगै उकालो चढ्ने यो धार्मिक यात्रा आफैंमा सांस्कृतिक सम्पदा भएको अध्यक्ष कार्कीको भनाइ छ ।

गन्यापका धामी जयराज भट्टका अनुसार दमाहा बजाउने अधिकारसमेत विशेष परम्पराअनुसार केही निश्चित परिवारमा मात्र सीमित छ ।

कान्छो खप्तडको सम्भावना
गन्याप शिखरमाथि समुद्री सतहबाट करिब २ हजार ७ सय मिटरको उच्च स्थानमा शिखर ताल रहेको छ । स्थानीयले यसलाई कान्छो खप्तड पनि भन्ने गर्दछन् । घना जंगल, विशाल शीला, धार्मिक आस्था र मनोरम प्राकृतिक दृश्यसँगै ताल क्षेत्रमा साना पाटन, वर्षायाममा फूल्ने बुट्यान फूल, अग्ला लौट सल्लाले यस क्षेत्रलाई धार्मिक पर्यटन र मनोरम भू–बनावटले महत्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना बोकेको अध्यक्ष कार्कीले बताए ।

गाउँपालिका अध्यक्ष कार्कीका अनुसार पदमार्ग निर्माणसँगै धार्मिक पर्यटन प्रवद्र्धन, स्थानीय संस्कृति संरक्षण र आन्तरिक अर्थतन्त्र चलायमान बनाउने लक्ष्य राखिएको छ । शताब्दीयौँ पुरानो किन्वदन्ती, हजारौं भक्तजनको विश्वास र आधुनिक पूर्वाधार विकासको संगम बनेको गन्याप शिखर आज पनि महाभारत पर्वतमाथि उभिएर सर्पको भेषमा शिखर पुगेका गणेशको आस्थाले जोडेको सिंगो भूगोल हो ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

epaper

ताजा समाचार

रिङ्कु कुमारीसिंह मृत्यु प्रकरणमा ३ जना पक्राउ