‘अबको युद्ध दुर्व्यसनविरुद्ध’ : कोशी प्रहरीको महाअभियानमा १ हजार ७०५ पक्राउ

सुन्दरहरैंचा (मोरङ) । कोशी प्रदेश प्रहरी कार्यालयले “लागूऔषध विरुद्धको महाअभियान, लागूऔषधमुक्त समाज निर्माण” उद्देश्यका साथ “अबको युद्ध दुर्व्यसनविरुद्ध” भन्ने नारासहित सञ्चालन गरिरहेको अभियान प्रभावकारी बन्दै गएको जनाएको छ। अभियानअन्तर्गत चालु आर्थिक वर्षको जेठ मसान्तसम्म लागूऔषधको बिक्री–वितरण, ओसारपसार तथा कारोबारमा संलग्न १ हजार ७०५ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता योगेन्द्र सिंह थापाका अनुसार लागूऔषध नियन्त्रणका लागि विशेष रणनीतिसहित सञ्चालन गरिएको अभियानले सकारात्मक परिणाम दिन थालेको छ। उनले लागूऔषधको कारोबारमा संलग्न व्यक्तिमाथि कडा निगरानी राखी सूचनाका आधारमा नियमित अपरेशन सञ्चालन गरिएकाले ठूलो सङ्ख्यामा पक्राउ गर्न सफल भएको बताए।

प्रहरीका अनुसार जेठ मसान्तसम्मको अवधिमा २६ हजार किलोग्रामभन्दा बढी गाँजा, ९ किलोग्रामभन्दा बढी ब्राउन सुगर तथा ६ लाख ८३ हजारभन्दा बढी विभिन्न प्रकारका मनोदिपक (साइकोट्रोपिक) औषधि बरामद गरिएको छ। बरामद गरिएका लागूऔषध नेपाल–भारत सीमा क्षेत्र, राजमार्ग तथा विभिन्न जिल्लामा गरिएको निगरानी, चेकजाँच र विशेष अपरेशनका क्रममा फेला परेको प्रहरीले जनाएको छ।

प्रवक्ता थापाले लागूऔषध नियन्त्रणका लागि पक्राउ र कारबाहीसँगै जनचेतना अभिवृद्धिलाई पनि उत्तिकै महत्त्व दिइएको बताए। उनका अनुसार पछिल्लो समय कोशी प्रदेशका विभिन्न विद्यालय, क्याम्पस तथा समुदायमा पुगेर विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयलाई लक्षित गर्दै लागूऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ।

“लागूऔषध नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी होइन, यो सम्पूर्ण समाजको साझा दायित्व हो,” प्रवक्ता थापाले भने। “हामीले विद्यालयहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ, किनकि युवापुस्तालाई समयमै सचेत बनाउन सकियो भने लागूऔषधको लतमा फस्ने जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ। परिवार, विद्यालय, स्थानीय तह, सामाजिक संघसंस्था र आम नागरिकको सहकार्य बिना लागूऔषधमुक्त समाज निर्माण सम्भव हुँदैन।”

उनले लागूऔषधको कारोबार, ओसारपसार वा सेवनसम्बन्धी कुनै पनि सूचना भए नजिकको प्रहरी कार्यालय वा प्रहरीको हटलाइनमार्फत जानकारी गराउन सबै नागरिकसँग आग्रह गरे। “प्रहरीले प्राप्त हुने प्रत्येक सूचनालाई गोप्य राखेर अनुसन्धान गर्छ। समाजमा फैलिँदै गएको दुर्व्यसन नियन्त्रणका लागि नागरिकको सहयोग अत्यन्त आवश्यक छ,” उनले भने।

प्रहरीले सीमा नाका, राजमार्ग तथा लागूऔषध ओसारपसार हुने सम्भावित स्थानहरूमा निगरानी अझ कडा पारिएको जनाएको छ। विशेष प्रहरी टोली परिचालन, नियमित सवारी जाँच, सूचनामा आधारित अपरेशन तथा अन्तरजिल्ला समन्वयलाई थप प्रभावकारी बनाइएको प्रवक्ता थापाले जानकारी दिए।

उनका अनुसार आगामी दिनमा पनि लागूऔषधविरुद्धको महाअभियानलाई अझ व्यापक बनाइनेछ। विद्यालय केन्द्रित सचेतना कार्यक्रम, समुदाय–प्रहरी साझेदारी, युवालाई लक्षित परामर्श कार्यक्रम तथा कानुनी कारबाहीलाई सँगसँगै अघि बढाउँदै “अबको युद्ध दुर्व्यसनविरुद्ध” भन्ने अभियानलाई प्रदेशभर प्रभावकारी रूपमा सञ्चालन गरिने उनले बताए।

कोशी प्रदेश प्रहरीले लागूऔषधमुक्त समाज निर्माणका लागि सबै सरोकारवाला निकाय, स्थानीय सरकार, शैक्षिक संस्था, अभिभावक तथा आम नागरिकलाई अभियानमा सक्रिय साथ र सहयोग गर्न पनि आग्रह गरेको छ। प्रहरीका अनुसार समाजमा लागूऔषधको जालो तोड्न सबै पक्षको साझा प्रतिबद्धता र सहभागिता अपरिहार्य छ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाले फेरि हेरफेर गर्‍यो निर्वाचन तालिका