बाम दलः मनमा एकता, तनमा दम्भ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सहितका वामपन्थी दलबिच पुनः पार्टी एकताको चर्चा सुरु भएको छ । विगतमा एकीकृत भएर पनि आफ्नै दम्भ र अहंकारका कारण विभाजित यी कम्युनिस्ट दलका शीर्ष नेता नेतृत्व पुस्तान्तरण र हस्तान्तरणमा अझै तयार छैनन् ।

संकटमा एक हुने, सहज हुँदा छुट्टिने एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र(हालको नेकपा)को एकता भने चुनावदेखि चुनावसम्मको गठबन्धन जस्तै भएको टिप्पणी राजनीतिक विश्लेषकको छ ।

पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतका शीर्ष नेतृत्व पार्टी एकताका लागि दौडधुपमा छन् ।

नीति र दीर्घकालीन योजना विना नै वामपन्थी दलहरूले फेरि ‘वाम एकता’को खोजी सुरु गरेपछि राजनीतिक वृत्तमा यसको औचित्यमाथि गम्भीर प्रश्न उठेको छ । एमाले, नेकपासहितका विभिन्न कम्युनिस्ट घटकबीचको एकता आवश्यकता भन्दा पनि चुनावी धक्का र सत्ता संकटबाट जोगिने रक्षात्मक रणनीतिका रूपमा छ ।

जवाफविहीन बामदलः मिल्ने न फुट्ने
राजनीतिक विश्लेषकका अनुसार वामपन्थी दलहरू किन र केका लागि मिल्नुपर्ने भन्ने मूल प्रश्नको ठोस जवाफ नेतृत्वसँग छैन । जनताले वैचारिक नाराभन्दा रोजगारी र सुशासन खोजिरहेको बदलिँदो परिवेशमा दलहरू भने सत्ताको अंकगणित मिलाउन र आफ्नो आकार ठुलो पार्ने पुरानै शैलीमा केन्द्रित देखिएका छन् ।

पार्टीहरूभित्र अर्को मुख्य संकट नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको बनेको छ । ओली, प्रचण्ड, माधव, झलनाथसहितका शीर्ष नेताहरू दशकौँदेखि सत्ता र संगठनको केन्द्रमा छन् । दोस्रो र तेस्रो पुस्ताका युवा नेताहरूले नेतृत्व दाबी गरिरहे पनि पुराना नेताहरू सम्मानजनक विश्राम लिन वा शक्ति हस्तान्तरण गर्न तयार देखिएका छैनन् ।

नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको चर्को बहस एमाले, नेकपामा चलिरहेकै बेला त्यसलाई छल्नका लागि पनि पार्टी एकताको कार्ड खेलिएको बताइन्छ । यसले गर्दा दलहरूभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको र नयाँ पुस्तामा व्यापक निराशा फैलिएको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनमा ‘संकटमा एक ठाउँ र सहज हुँदा छिन्नभिन्न’ हुने प्रवृत्ति पुरानै सरुवा रोग जस्तै बनेको छ । २०७४ सालको निर्वाचनमा झन्डै दुई तिहाइ जनमत पाएको तत्कालीन नेकपा पदीय भागबन्डा र अहंकारकै कारण तीन टुक्रा भएको इतिहास छ । सत्ता बाहिर रहँदा वा अस्तित्वको संकट पर्दा एकजुट हुने र शक्ति हातमा आउनासाथ फुट्ने अवसरवादी चरित्रले कम्युनिस्ट आन्दोलनप्रतिको जनविश्वास लगातार घट्दो छ ।

वाम सहकार्य ‘चुनावदेखि चुनावसम्म’
पछिल्लो समय वाम सहकार्य ‘चुनावदेखि चुनावसम्मको गठबन्धन’ मा मात्र सीमित भएको छ । निर्वाचन जित्न र सत्ताको सिँढी चढ्न वैचारिक रूपमा विपरीत ध्रुवमा रहेका शक्तिहरूसँग समेत अपवित्र गठबन्धन गर्ने र स्वार्थ मिल्दासम्म मात्र सँगै रहने प्रवृत्तिले राजनीतिक अस्थिरतालाई प्रश्रय दिएको छ । नीति र देश विकासको ठोस योजना विनाको यो एकताको बहस फेरि पनि सत्ताको नयाँ दाउपेच मात्र बन्ने निश्चित प्रायः देखिन्छ ।

अर्को वर्ष हुने भनिएको प्रदेशसभा र पालिकाको निर्वाचन अघि नै सहकार्य गर्दै पार्टी एकता गर्न हतार गरेका नेताहरू निर्वाचनपछि पनि एकता कायमै राख्न सक्ने कुनै योजना भने छैन ।

नीति, नेतृत्व र विश्वास संकट
एमाले, नेकपा सहितका कम्युनिस्ट पार्टीका बीचमा सहकार्य र पार्टी एकताको चर्चा चलेपछि राजनीतिक विश्लेषकहरूले त्यसलाई वामपन्थी राजनीतिक धारमा ‘नीति, नेतृत्व र विश्वास’को संकट भएको बताउँछन् । पुराना नेताहरूले वैचारिक रूपान्तरण र इमानदारिताका साथ युवा पुस्तालाई नेतृत्व हस्तान्तरण नगर्दासम्म गरिने कृत्रिम एकताले देशमा राजनीतिक स्थिरता र सुशासन दिन नसक्ने बताउँछन् ।

पार्टीहरू भित्रको आन्तरिक लोकतन्त्र र युवा पुस्ताको विद्रोहलाई नजिकबाट नियालिरहेको बताउने विश्लेषक मुमाराम खनाल विचारभन्दा नेताहरूको दम्भ र अहंकारले पार्टी विभाजित हुने गरेको दाबी गर्छन् ।

‘मुख्य समस्या विचारको भन्दा पनि पुराना नेताहरूको दम्भ र अहंकारको हो । केपी शर्मा ओली, प्रचण्ड वा माधव नेपाल कोही पनि दोस्रो पुस्तालाई नेतृत्व सुम्पन तयार छैनन् । पुराना अनुहारहरूले नै पार्टी ओगटिरहने र युवाहरूलाई केवल भोट बैंकका रूपमा प्रयोग गर्ने हो भने जतिसुकै ठुलो पार्टी बनाए पनि त्यसले जनतामा उत्साह भर्न सक्दैन । युवा पुस्ताले अब यस्तो परम्परागत राजनीतिक सिन्डिकेट स्विकार्दैन,’ उनले भने ।

लेखक तथा विश्लेषक श्याम श्रेष्ठले नेपालका कम्युनिस्टहरूको प्रवृत्तिगत कमजोरी औँल्याउँदै विगतमा संकट पर्दा मिल्ने तर शक्ति र सत्तामा पुग्दा विभाजन हुने भएकाले अहिले संकट पर्दा एकीकृत हुने बताए ।

‘नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास हेर्दा नेताहरू संकटमा पर्दा लचिलो भएर एक ठाउँमा आउँछन्, तर शक्ति र सत्ता हातमा आउनासाथ उनीहरूमा सिङ र जुरो पलाउँछ । २०७४ सालमा झन्डै दुई तिहाइ बहुमत ल्याउँदा पार्टी जोगाउन नसक्ने नेताहरूले फेरि एकताको कुरा गर्नु जनतालाई ठग्नु जस्तै हो । यो केवल चुनावदेखि चुनावसम्मको अल्पकालीन स्वार्थ मात्र हो,’ उनले भने ।

राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बरालले परम्परागत वाम दलहरू नयाँ राजनीतिक शक्तिहरूको उदयबाट त्रसित भएको बताए । ‘बदलिँदो जनमत र नयाँ शक्तिहरूको उदयले पुराना दलहरूलाई ठुलो दबाब सिर्जना गरेको छ । युवा मतदाताहरू पुराना नारा र सिद्धान्तबाट थाकिसकेका छन् । त्यसैले पुराना वाम दलहरू एक्ला–एक्लै चुनाव लड्न डराइरहेका छन् र अस्तित्व जोगाउनकै लागि भए पनि फेरि भावनात्मक एकताको कार्ड खेलिरहेका छन् । तर, जनताले अब भाषण होइन, परिणाम खोजेका छन्,’ उनले भने ।

सभागृहको सन्देशः सहकार्यबाट एकतामा पुग्ने
जनताको बहुदलीय जनवाद (जबज)का प्रणेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा शीर्ष नेताहरू एउटै मञ्चमा देखिएका छन् । आइतबार काठमाडौंमा भएको सो कार्यक्रममा एक ठाउँमा उभिएका नेताहरूले सहकार्य, एकता, कम्युनिस्ट आन्दोलन लगायतका विषयमा चर्चा गरेका छन् ।

लामो समयदेखि एउटै मञ्चमा नदेखिएका पूर्वराष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारी सहित पूर्वप्रधानमन्त्रीहरु ओली, प्रचण्ड, माधव, झलनाथसहितका शीर्ष नेताहरू एउटै मञ्चमा देखिए । हालै एमालेको संगठित सदस्यता नवीकरण गराउन पाउने निर्णय भएपछि कार्यक्रममा एमाले पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीहरूको संघारमा उभिएको बताएकी छन् ।

‘निर्वाचनले कम्युनिस्ट दलहरूलाई गम्भीर रूपमा वैचारिक बहस गर्न अपरिहार्य बनाएको छ । एक निर्वाचनको मतपरिणामबाट कम्युनिस्ट आन्दोलन’bout निष्कर्ष निकाल्न हतारो गर्नु हुँदैन,’ उनले भनिन् ।

उनले बदलिँदो जनआकांक्षा र राष्ट्रिय आवश्यकता अनुरूप नीति, नेतृत्व, संगठन र कार्यशैलीमा अपेक्षित सृजनशीलता र रूपान्तरण ल्याउन नसक्दा जनविश्वासमा कमी आएको यथार्थलाई गम्भीरताका साथ आत्मसात् गर्न आवश्यक रहेको बताइन् ।

एमाले अध्यक्ष ओलीले अहिलेको मुख्य आवश्यकता प्रतिगमनलाई परास्त गर्नु रहेको बताएका छन् । ‘कहाँबाट समाजवाद निर्माण गर्नु, हैरान छ प्रतिगमन गरेर । यति बेला प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो,’ उनले भने । सबै लोकतान्त्रिक वामपन्थी मिलेर कार्यगत एकताको माध्यमबाट प्रतिगमनलाई पराजित गर्नुपर्ने ओलीले बताए ।

जनता असन्तुष्ट हुनुपर्ने गरी आफूहरूले कुनै नराम्रो काम नगरेको दाबी गरेका छन् । ‘हामीहरूमाथि अनेक प्रकारका आरोपहरू गढिए । जनता असन्तुष्ट हुनुपर्ने गरी हामीले कुनै बदमासी, कुनै नराम्रो काम गरेकै छैनौँ । हाम्रा कमीहरू रहे, कतिपय कमीहरू रहे, कमजोरीहरू रहे, हामी आत्मसमीक्षा गरौँला, तर हामीले देश बर्बाद पा¥यौँ भन्ने भाष्य गलत हो । बर्बाद पारेनौँ, अगाडि बढायौँ,’ उनले भने ।

नेकपाका संयोजक प्रचण्डले वामपन्थीबीच तत्काल सहकार्य गर्नुपर्ने बताए । उनले पार्टी एकता बिस्तारै गरे पनि सहकार्यमा ढिलाइ गरेको खण्डमा देशमा भयानक दुर्घटना हुने चेतावनी समेत दिए ।

नेपालमा कम्युनिस्ट आन्दोलनलाई के गरी सिद्ध्याउने भन्ने प्रयास भइरहेको बताउँदै उनले भने, ‘भारतमा कम्युनिस्ट सिद्ध्याइयो भनेर घोषणा गरेको सुनेका छौँ । नेपालमा पनि के गरी सिद्ध्याउन सकिन्छ भनेर प्रतिक्रियावादी लागिरहेका छन् । यही षडयन्त्रको परिणतिका रूपमा भदौ २४ भयो, चुनाव भयो, अहिले जे भइरहेको छ हामीले देखेका छौ । त्यसैले यसलाई रोक्न राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंशुकताका विरुद्ध, फासिज्मका विरुद्ध, वैदेशिक दबाबका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ । ढिला गर्नुहुँदैन, नत्र भयानक दुर्घटना हुन्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

मेस्सीको जादु कायमै, इंग्ल्यान्डको बढ्दो आत्मविश्वास