सुस्तायो ट्राफिक व्यवस्थापन कार्ययोजना

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि ल्याएको बृहत् कार्य योजना सुस्ताएको छ । सरकारले मन्त्रिपरिषद् बैठकबाट कार्ययोजना पारित गरेर कार्ययोजना तय गरे पनि कार्यान्वयनमा भने ढिलासुस्ती देखिएको छ । सरकारले गत १५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकबाट ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ पारित गरेको थियो । उक्त कार्ययोजना कार्यान्वयन गर्न सम्बन्धित निकायले आवश्यक चासो दिएको पाइएको छैन ।

कार्ययोजनामा तत्काल नै काठमाडौं उपत्यकाको खाल्टाखुल्टी पुर्ने र नियमित रूपमा सञ्चालन गर्ने उल्लेख छ । कार्ययोजना सार्वजनिक भएलगत्तै खाल्टाखुल्टी पुर्ने काम तीव्र गतिमा बढेको थियो । सरकारले असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य राखेर अघि सारेको कार्ययोजनामा माघ मसान्तभित्र काठमाडौं उपत्यकाका सबै सडकका खाल्टाखुल्टी पुर्न निर्देशन दिएको थियो । अहिले त्यो कार्य सेलाएको छ । कार्ययोजनामा पुस मसान्तसम्म काठमाडौंका ९ स्थानमा ट्राफिक लाइट सञ्चालन गर्ने र वैशाखसम्म अन्य स्थानमा पनि सञ्चालन गर्ने उल्लेख छ । पुस मसान्तसम्म तोकिएको स्थानका ट्राफिक बत्ती सञ्चालन भए पनि अन्य सञ्चालन गर्नका लागि सम्बन्धित निकायले कम चासो दिएको पाइएको छ ।

सरकारले अघि सारेको योजनाअन्तर्गत १८ वटा पेट्रोल पम्प सार्नेदेखि २९ स्थानमा ट्राफिक लाइट व्यवस्थापन गर्नेसम्मका विषय छन् । कार्ययोजनाअनुसार उपत्यकका १० ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत गरिनेछ भने १६ ठाउँमा नयाँ निर्माण गरिनेछ । कोटेश्वर–जडीबुटीचोकसम्म खाली ठाउँमा सर्भिस लेन निर्माण गरिनेछ भने उपत्यकाका ५१ ठाउँमा सवारीसाधनलाई दायाँ मोड्न निषेध तथा १ सय २४ स्थानमा सीसीटीभी तथा मोबाइल सीसीक्यामरा जडान गरिने उल्लेख छ । मन्त्रिपरिषद्बाट कार्ययोजना पारित भएपछि प्रधानमन्त्री कार्यालयले कार्ययोजना कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो । संघीयले पनि उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयन गर्न पत्राचार गरेको थियो । कार्ययोजनामा कुन काम कुन निकायले गर्ने र कति समयभित्र गरिसक्ने भन्ने तोकिएको छ ।

प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालय, सडक विभाग, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, अन्य नगरपालिका तथा महानगरीय ट्राफिक प्रहरीलगायत सरोकारवाला निकायलाई कार्ययोजना तोकिएको समयसीमाभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो ।

काठमाडौं उपत्यकामा घन्टौंसम्म ट्राफिक जाम हुने गरेको छ । सर्वसाधारणले ट्राफिक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना गर्दै आएको अवस्थामा सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन मन्त्रिपरिषद् बैठकबाट निर्णय नै गराएर कार्य योजना ल्याए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि अनुगमन गर्ने तथा निर्णय कार्यान्वयन गराउने काममा आवश्यक चासो दिएको छैन ।

कार्ययोजनामा ३७ विषयलाई उच्च प्राथमिकतामा राख्दै कुन निकायले कुन काम कहिलेसम्म गर्ने भनेर किटान गरिएको छ । कार्ययोजनामा पेट्रोलपम्प सार्ने, ट्राफिक बत्तीको मर्मत तथा नयाँ जडान गर्ने, पेडेस्ट्रिअन लाइट, खाल्टाखुल्टी पुर्ने, कोटेश्वरको जाम हटाउन विकल्प खोजिने, नदी कोरिडोर निर्माणलाई तीव्रता दिने, होर्डिङ बोर्ड र पोल हटाउने, सार्वजनिक सवारीसाधनमा पिक एन्ड ड्रप प्रणाली लागू गर्ने, युटर्न गर्न नदिने, वान वे बढाउने, फुटपाथ व्यवस्थापन गर्ने, रेलिङ निर्माण गर्ने, जेब्राक्रस मर्मत तथा नयाँ निर्माण गर्ने, सडक लेनको मार्किङ गर्ने, सीसीटीभी तथा मोबाइल सीसीक्यामरा जडान तथा मर्मत गर्ने, ओभर हेड ब्रिज निर्माण गर्नेलगायत विषयलाई समेटिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

स्याङ्जा क्षेत्र नं २ बाट धनराज गुरूङ विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९