कक्षाकोठाबाट खेतसम्म : विद्यार्थीलाई कृषिसँग जोड्दै हिमालय इङलिस स्कुल

सुन्दरहरैंचा (मोरङ) । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङलिस स्कुलले सोमबार विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय जनप्रतिनिधिको सहभागितामा धान रोपाइँ गर्दै राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन मनाएको छ।

सुन्दरहरैंचा–१० को गैरीगाउँमा आयोजित कार्यक्रममा विद्यालय परिवारले खेतमै पुगेर सामूहिक रूपमा धान रोपाइँ गरेका थिए। नेपाली समाजको कृषि परम्परा, धानको महत्व तथा कृषिप्रतिको सम्मान भाव विद्यार्थीमा विकास गर्ने उद्देश्यले विद्यालयले प्रत्येक वर्षजस्तै यस वर्ष पनि रोपाइँ कार्यक्रम आयोजना गरेको जनाएको छ।

कार्यक्रम विद्यालयकी अध्यक्ष सुजना खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका–१२ का वडा अध्यक्ष रोशनप्रसाद ढकाल रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सुजना खनालले कृषि नेपाली अर्थतन्त्रको प्रमुख आधार भएको उल्लेख गर्दै आधुनिक पुस्तालाई कृषि र गाउँको मौलिक संस्कृतिसँग जोड्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताइन्। उनले भनिन्, “किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान पनि उत्तिकै आवश्यक छ। विद्यार्थीहरूले खेतमा पुगेर धान रोप्दा कृषि, श्रम र उत्पादनको महत्व प्रत्यक्ष रूपमा बुझ्ने अवसर पाउँछन्। यसले हाम्रो संस्कृति संरक्षणमा समेत टेवा पुग्छ।”

त्यसैगरी प्रमुख अतिथि वडा अध्यक्ष रोशनप्रसाद ढकालले कृषि नेपालीहरूको जीवनशैलीसँग जोडिएको विषय भएको बताउँदै विद्यालयले आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको बताए। उनले भने, “आजका बालबालिकालाई कृषि र माटोसँग जोड्नु समयको आवश्यकता हो। विद्यालयले पाठ्यक्रमभन्दा बाहिर गएर विद्यार्थीलाई श्रम, अनुशासन र संस्कृतिको महत्व बुझाउने काम गरेको छ, जुन उदाहरणीय छ।”

विद्यालयका संस्थापक प्रिन्सिपल कमल खनालका अनुसार विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयले विभिन्न रचनात्मक तथा संस्कृतिमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। उनले भने, “कृषि हाम्रो पहिचान र जीवनको आधार हो।

विद्यार्थीहरूलाई सानैदेखि कृषि, श्रम र सामाजिक उत्तरदायित्व’bout सचेत बनाउन धान दिवसको अवसरमा रोपाइँ कार्यक्रम आयोजना गरिएको हो। यस्ता गतिविधिले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्छ।”

कार्यक्रममा विद्यार्थीहरूले खेतमा धान रोप्नुका साथै दही–चिउरा खाएर राष्ट्रिय धान दिवसको उत्सव मनाएका थिए। रोपाइँ कार्यक्रममा सहभागी विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए भने अभिभावक तथा स्थानीयवासीले विद्यालयको पहलको प्रशंसा गरेका थिए।

विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा श्रमप्रतिको सम्मान, कृषि संस्कृतिप्रतिको अपनत्व तथा सामूहिक कार्य गर्ने भावनाको विकास हुने विश्वास व्यक्त गरेको छ। नेपाली समाजको मौलिक संस्कृति र कृषिको महत्वलाई पुस्तान्तरण गर्ने उद्देश्यका साथ आयोजित यो कार्यक्रम सुन्दरहरैंचामा उदाहरणीय बनेको सहभागीहरूको भनाइ रहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

पराग्वेसँग पराजित जर्मनीको विश्वकप यात्रा समाप्त